रमा पन्थी/लुम्बिनीखबर
भैरहवा, पुस ११। सञ्चारिका समूह रुपन्देहीको वार्षिक साधारण सभा र पाँचौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले मिना ढकाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा मिना पाण्डे (अस्मिना), महासचिवमा छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, र कार्यक्रम संयोजकमा कल्पना डुम्रे चयन भएका छन्।
कार्यसमिति सदस्यहरूमा सुमित्रा चापागाईं, शुशिला पोख्रेल, शारदा शाही, सृष्टि अधिकारी, एलिना आचार्य, प्रेरणा केसी, अनिता चौधरी र सुनिता चुदाली निर्वाचित भएका छन्। आमन्त्रित सदस्यमा कल्पना घिमिरे चयन भएकी छन्।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले महिला पत्रकारहरूले अब पुरुष पत्रकारसँग प्रतिस्पर्धा गर्दै आफ्नो उपस्थितिलाई सशक्त बनाउनु पर्ने बताइन्। उनले भनिन्, “महिला पत्रकारहरूलाई कहिल्यै मान्यता नदिने समयलाई चिर्दै, आजको यो अवस्थासम्म आइपुग्न उनीहरूले गरेका संघर्ष प्रेरणादायक छ।’’ अर्यालले सञ्चारिका समूहको योगदानले स्थानीय तहका हरेक गतिविधिलाई उजागर गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
कार्यक्रमका क्रममा सञ्चारिका सम्मान २०८१ बाट संस्थाका सल्लाहकार रेखा भुसाललाई सम्मान गरिएको थियो। आफ्नो प्रारम्भिक पत्रकारिता यात्रामा महिला पत्रकारहरूको न्यून सहभागिताको समय सम्झँदै सल्लाहकार दुर्गा पौडेलले भनिन्, “महिला पत्रकारिताको विकास अहिले प्रशंसनीय छ, तर अझै पनि चुनौतीपूर्ण समाचारहरू बाहिर ल्याउन शाहस आवश्यक छ।’’
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य र महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकारितामा प्रतिस्पर्धा चुनावको सीमामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे।
महासचिव अस्मिना पाण्डे र कोषाध्यक्ष कल्पना डुम्रेद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत पारित भए। अधिवेशनले संस्थालाई अझ प्रभावकारी बनाउन थप योजनाहरू अघि सार्ने प्रतिबद्धता जनाएको छ। सञ्चारिका समूहको यो अधिवेशन महिला पत्रकारिताको नयाँ युगतर्फको सशक्त कदम साबित भएको छ।