साउन ५
काठमाडौं–दक्षिण सुडानमा एक्कासि हिंसा मच्चिँदा त्यहाँ कार्यरत नेपाली सुरक्षाकर्मी जोखिममा परेका छन् । झडपमा सशस्त्र प्रहरीका तीन कर्मचारी घाइते भइसकेका छन् ।

सुडानमा करिब दुई हजार नेपाली छन् । एक हजार नौ सय नेपाली सुरक्षाकर्मी राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनाका लागि खटिएका छन् । सुरक्षाकर्मीबाहेक अरू करिब एक सय नेपाली दक्षिण सुडानमा कार्यरत छन् ।
सुडानमा नेपाली सेनाका एक हजार पााच सय ९०, सशस्त्रका करिब तीन सय र नेपाल प्रहरीका करिब २० प्रहरी अधिकृत कार्यरत छन् । राष्ट्रसंघअन्तर्गत विभिन्न निकायमा सिभिलियन पनि कार्यरत छन् । हिंसा मच्चिएपछि शान्ति सेनामा खटिएका सुरक्षा अधिकारी क्याम्पबाहिर निस्किएका छैनन् । केही दिनसम्म उनीहरू बंकरभित्र बसेका थिए ।
गत साताको एक झडपमा सशस्त्र प्रहरी बलका तीनजना घाइते भएका थिए । राजधानी जुवामा भएको दुई पक्षको गोली हानाहानमा उनीहरू घाइते भएका हुन् । सशस्त्र बसेको एफपियू क्याम्पनजिकै झडप हुँदा तीनजना घाइते भएको सशस्त्र प्रहरीका एआइजी शैलेन्द्र खनालले बताए ।
उनीहरूलाई गोलीका छर्रा लागेको छ । झडपमा शान्ति स्थापनाका लागि खटिएका दुई चिनियाँ शान्ति सैनिकको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए ।