लुम्बिनीखबर
भैरहवा, २५ पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनासम्म चहलपहल कायम भयो । विभिन्न पाँचवटा वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेपछि लामो समय सुनसान विमानस्थलमा रौनक छायो । स्थानीय सरोकारवालामा अशा पालायो । तर, त्यो आशाको त्यान्द्रो लामो समय टिकेन । छिट्टै आशाको त्यान्द्रो टुटेपछि अहिले रुपन्देहीमा फेरि निराशा छाउन थालेको छ । त्यसैले यहाँबाट उडान सञ्चालन गर्ने वायुसेवा कम्पनीले उडान तालिका नवीकरण गरेर विमानस्थलमा रौनक फर्काउने आशमा सरोकारवाला छन् ।
रुपन्देहीका सरोकारवाला लामो समयदेखि विमानस्थल दिगो रुपमा सञ्चालनको माग गर्दै आएका थिए । विमानस्थल सञ्चालनका लागि चरणबद्ध आन्दोलन गरेका थिए । उनीहरुको आन्दोलन गरिरहेका बेला भैरहवाबाट पाँचवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान थालेपछि उत्साह थपिएको थियो । यहाँबाट उडान भए पनि त्यसले निरन्तरता पाउनेमा शंका व्यक्त गर्दै उनीहरु दबाबका कार्यक्रम गरिरहेका थिए । विमानस्थल दीर्घकालीन रुपमा सञ्चालन हुनेमा ढुक्क हुन नसकेको जनाउँदै पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराएका थिए ।
यहाँका सरोकारवालाले शंका व्यक्त गरिरहेका बेला विमानस्थल अन्तर्राष्ट्रिय उडानबिहीन अवस्थामा पुगेको छ । विमानस्थलका अनुसार खराब मौसमलाई कारण देखाउँदै विमान कम्पनीले उडान स्थगित गरेको जनाएका छन् । गत डिसेम्बर ३ बाट भैरहवा हुँदै अन्तर्राष्ट्रिय विमान कम्पनीले सिधा र कनेक्टिङ उडान सुरुवात गरेका थिए । अन्तर्राष्ट्रिय उडान गरिरहेका विमान कम्पनीले नियमित उडान रोकेपछि विमानस्थल निरन्तर संचालनको विषयमा आफूहरुले गरिरहेको शंका सही सावित भएको उद्योगी, व्यवसायी र नागरिकले बताएका छन् ।
नोभेम्बर महिनामा नियमित संचालन भएका विमान कम्पनीले गत डिसेम्बर १२ तारिखसम्म उडान–अवतरण गरेका थिए । त्यसपछि ‘लो भिजिबिलीटी’ ले समस्या हुने जनाउँदै उडान रोकेको विमानस्थलले जनाएको छ । गौतमबुद्ध विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यका अनुसार हरेक एयरलाइन्सले सिमित अवधिका लागि उडान तालिक तय गरेका थिए ।
भैरहवाबाट उडान अवघि सकिएपछि उनीहरुले सेवा स्थगित गरेका हुन् । यहाँबाट उडान तालिका नविकरण गरेर फेरि संचालन गर्ने तयारीमा विमान कम्पनी रहेको उनले दाबी गरे । सातामा २ दिन उडान भर्ने गरेको थाई एयर एसियाले पछिल्लो समय १ दिन मात्र उडान गरिरहेको थियो । डिसेम्बर २६ तारिखमा एकपटक उडान गरेको थियो । त्यसपछि जनवरी २ तारिखका लागि उडान गर्ने जनाएको छ । त्यसपश्चात कहिलेबाट नियमित उडान भर्ने हो भन्ने विषय टुंगो लागि नसकेको बज्राचार्यले जनाए ।
उनका अनुसार जनवरी १ तारिखबाट थाइल्याण्डले अनलाइन भिसा सुरु गर्न लागेको छ । त्यसैले विमान आउने विषय भिसा व्यवस्थाले तय गर्ने उनले बताए । बज्राचार्यले कतार एयरवेजले आफ्नो परिक्षण अवधी सकेकाले उसले नयां तालिका सार्वजनिक नगरेको जनाए । बतारले १५ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म परीक्षण उडान गरेको थियो । जजिरा एयरवेजले फेब्रुअरी १ बाट पुनः उडान गर्ने तालिका बनाएको छ ।
विमानस्थलको सूचना लगत्तै जजिराले उडान रोकेको उसले खराब मौसम हुञ्जेल उडान नभर्ने भएको छ । बज्राचार्यले सबै उडान दिउँसोमै हुने गरेकाले मौसमको प्रभाव भन्दापनि नविकरण गर्नका लागि एयरलाइन्स कम्पनीले उडान रोकेको जनाए । ‘हामीले उहाँहरुको डिमान्डबाहेकको समयमा उडाउनुस् भनेर भन्न पाइएन,’ उनले भने, ‘नविकरण गरेपछि उहाँहरुले उडाउने निश्चित छ, शितलहर भनेको २–३ दिन होला, त्यस अवधी बाहेक मौसमले समस्या हुँदैन ।’
फ्लाई दुबईले जनवरी १३ तारिखबाट पुनः नियमित उडान गर्ने तय छ । नेपाल एयरलाइन्सले उडान नियमित गरिरहेको छ । काठमाडौंबाठ प्यासेन्जर भरेर ल्याउने उसले भैरहवामा न ढोका खोल्छ, न त प्यासेन्जर टिकट काटेर उड्न पाउँछन् । पर्यटन व्यवसायी संजय बजिमयले उडान नियमित हुने आशमा म्यानपावरसँगै धरौटी समेत एयरलाइन्सलाई बुझाएर लगानी बढाएको बताए । ‘हामी व्यवसायीले लगानी थपेर काम गर्न खोज्दा समेत प्राधिकरणले साथ दिँदैन,’ उनले भने, ‘ऋणको ब्याज तिर्न नसके हामी कसरी बाँच्ने ।’ आफूहरुले आग्रह गर्दा गर्दै विमानस्थल नियमित नहुँदा आन्दोलन, नाकाबन्दी र जुलुसबाटै काम बन्ला भन्ने लागिरहेको उनले बताए । अन्य उपाय नलागेपछि विकल्पका रुपमा सोही कदममा आफूहरु जाने उनको भनाई छ ।