नवलपरासी, माघ १५ । हिमालयन बैंकले कर्जा सम्बन्धित नभएको गाडी तान्न खोजेको घटनाले बैंकिङ्ग प्रणालीमा नै विश्वासको संकट उत्पन्न गराएको छ। बैंकले रूपन्देहीको देवदहमा सडकमा गुडिरहेको गाडी रोक्न अपरिचित व्यक्तिहरूलाई प्रयोग गर्दै गुण्डागर्दी शैलीमा गाडी कब्जा गर्न खोजेको घटनाले तहल्का मच्चाएको छ। पीडित लोक गायक भरत बहादुर पौडेल क्षेत्रीले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो।
क्षेत्री पश्चिम नवलपरासीको सुनवाल नगरपालिका वडा नम्बर १२ निवासी हुन्। उनको बाग्मती प्रदेश ०१–०२६ च २१४६ नम्बरको गाडी रूपन्देहीको खैरेनीमा यात्रामै रहेको बेला दुईजनाले गाडी रोक्दै चाबी खोसेका थिए। श्रीमान् श्रीमती यात्रामा रहेका बेला अपरिचित व्यक्तिहरूले गाडी रोकेर चाबी थुतेपछि क्षेत्रीले अपहरण प्रयास भएको आशंका गरेका थिए। ती व्यक्तिहरूले गाडी हिमालयन बैंकले कब्जा गरेको भन्दै लिएर जान खोजे।
क्षेत्रीको गाडी प्रभु बैंकबाट हायर पर्चेज कर्जा लिएर लिएको थियो। हिमालयन बैंकसँग कुनै सरोकार नभएको गाडीलाई कब्जा गर्ने प्रयास भएपछि क्षेत्रीले तिनलाई बैंकको परिचयपत्र देखाउन आग्रह गरे। तर ती व्यक्तिहरूसँग कुनै परिचयपत्र थिएन। स्थिति अस्वभाविक बनेपछि क्षेत्रीले प्रहरीलाई खबर गरे। प्रहरी घटनास्थलमा आएर ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।
प्रहरी अनुसन्धानमा ती व्यक्तिहरूले बैंकसँग गरिएको कन्ट्रयाक्ट पेपर बोकेको पुष्टि भएको छ। गाडी तान्नुपर्ने गाडीको नम्बर सूचिसहित उनीहरू उपस्थित भएका थिए। घटनाको थप अनुसन्धान गर्दा गाडी दुई वर्ष अगाडि हिमालयन बैंकबाट प्रभु बैंकमा स्थानान्तरण भइसकेको देखियो। प्रहरीका अनुसार युवाहरूले अराजक शैली देखाएर गाडी तान्न खोजेका थिए।
हिमालयन बैंकको केन्द्रिय कार्यालयका सूचना अधिकारी सुनिल गोर्खालीले बैंकका कर्मचारीहरूलाई फिल्डमा खटाएर गाडी नियन्त्रणमा लिन नसकिने स्थिति रहेकाले ट्राफिक प्रहरीसँग सहयोग मागेको बताए। तर, ट्राफिक प्रहरीबाट सहयोग नपाएपछि बाह्य व्यक्तिहरूसँग कन्ट्रयाक्ट गर्नुपर्ने अवस्था आएको उनको भनाई छ।
भरतपुर शाखाले पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नभएका ऋण असुलीका लागि रामेछापका सन्दीप लामासँग कन्ट्रयाक्ट गरिएको थियो। लामाले नै क्षेत्रीको गाडीको चाबी थुतेका थिए। तर, गाडी नम्बर टिप्ने क्रममा गल्ती भएको गोर्खालीले बताए। एक बैंकमा लोन रहेको गाडीलाई अर्को बैंकले कब्जा गर्न खोज्नुले हिमालयन बैंकको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ। नागरिकहरूले यस्तो प्रकारको घटनाले बैंकिङ्ग प्रणालीमाथिको विश्वास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। कर्जा असुलीका लागि गुण्डागर्दी शैली अपनाउनु बैंकिङ्ग आचारसंहिताविपरीत भएकोले घटनाले ठूलो जनचासो उत्पन्न गरेको छ।