भैरहवा, फागुन १४ । ओमसतिया गाउँपालिका–४, बालापुर, रूपन्देहीमा अवस्थित दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूमले आयोजना गर्ने वार्षिक एक दिवसीय महान धार्मिक सम्मेलन (पैगामे हक कान्फ्रेन्स) तथा जश्ने रिदाए फजीलत (दस्तरबन्दी समारोह) भोली, फागुन १५ गते बिहीबार साँझ ६ बजेदेखि राति १ बजेसम्म युनिक बैंक्वेट, डाँडागाउँ, भैरहवामा हुने भएको छ।
उक्त कार्यक्रममा विशेष वक्ताकोरूपमा भारत बिहारका प्रख्यात इस्लामी विद्वान् मुफ्ती डा. शहरेयार राजा कादरी साहब किब्लाको प्रमुख उपस्थितिसँगै इस्लामी कवि सरफराज नुरी तथा अन्य प्रतिष्ठित धार्मिक विद्वान्हरूको सहभागिता रहनेछ। कार्यक्रमको मुख्य उद्देश्य धार्मिक ज्ञानको प्रचारप्रसार गर्दै युवाहरूलाई सही मार्गनिर्देशन दिनु रहेको छ। साथै, धार्मिक शिक्षामा योगदान पु¥याएका विद्वान्हरूलाई सम्मान गर्ने परम्पराअनुसार जश्ने रिदाए फजीलत (दस्तरबन्दी समारोह) समेत आयोजना गरिँदैछ।
दारुल उलूम कादरिया अहले सुन्नत शमसुल उलूममा हाल नेपाल तथा भारतका विभिन्न क्षेत्रबाट करिब ३५० विद्यार्थीहरू अध्ययनरत छन्। नेपाल सरकारले हाललाई कक्षा ८ सम्मको मात्र स्वीकृति दिए पनि यस मदरसामा कक्षा १ देखि १२ सम्मको अध्ययन व्यवस्था छ।
कार्यक्रमको एक भागस्वरूप दिउँसो छात्राहरूको दिक्षान्त समारोह समेत गरिनेछ। उक्त समारोहको अध्यक्षता सना फिरदोस अम्जदीले गर्नेछिन्। आयोजकका अनुसार कार्यक्रममा करिब ३ हजारभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ। कार्यक्रममा सबै इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई धार्मिक पुण्य (सवाबे दारैन) प्राप्त गर्न आग्रह गरिएको छ।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी मदरसा कादरिया अहले सुन्नत शमसुल उलूमका अध्यक्ष मुक्तार अहमद असर्फीले लिएका छन् भने उद्घोषणको जिम्मेवारी लेयाकत हुसेन कार्कीले सम्हाल्नेछन्। अध्यक्ष असर्फीले कार्यक्रममा सहभागी हुने सबैलाई स्वागत गर्दै यस प्रकारका धार्मिक गतिविधिले शिक्षादेखि लिएर सामाजिक जीवनसम्म सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो।