logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ओमसतियाको आर्थिक वर्ष २०८१/०८२ का योजनाहरू परिवर्तनसहित हिउँदे अधिवेशन सम्पन्न


    २६ फाल्गुन २०८१ , सोमबार

    ओमसतियाको आर्थिक वर्ष २०८१/०८२ का योजनाहरू परिवर्तनसहित हिउँदे अधिवेशन सम्पन्न

    पशुपति यादव/लुम्बिनीखबर


    रोहिणी, २६ फागुन । ओमसतिया गाउँपालिकाको १६औँ हिउँदे अधिवेशन आइतवार एक औपचारिक कार्यक्रमका बीच आफ्नै सभाहलमा सम्पन्न भएको सूचना शाखाले जनाएको छ। पालिकाको सचिवालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ का योजना तथा कार्यक्रमहरूमा आवश्यक परिमार्जन गर्दै अधिवेशन सम्पन्न गरिएको हो। अधिवेशनमा पालिकाको चालु तथा पूँजीगत खर्च, आयस्रोतको अवस्था र आगामी योजनाका विषयमा समग्र समीक्षा गरिएको थियो।

    गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिकी संयोजक सुनिता चौधरीले चालु आर्थिक वर्षमा पालिकाको चालु खर्च शीर्षकमा ३२ करोड ४२ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएकोमा २०८१ माघ मसान्तसम्म १४ करोड १ लाख ९५ हजार रुपैयाँ अर्थात् ४३.२३ प्रतिशत खर्च भइसकेको जानकारी दिनुभयो। यस्तै, पुँजीगत खर्चतर्फ १७ करोड ३३ हजार रुपैयाँ विनियोजन गरिएकोमा हालसम्म ४ करोड ६४ लाख ८७ हजार रुपैयाँ अर्थात २७.३४ प्रतिशत खर्च भएको बताइयो। यस अनुसार पालिकाको कुल खर्च १८ करोड ६६ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जुन कुल विनियोजनको ३७.७६ प्रतिशत हो।

    राजस्वका पक्षमा समेत अधिवेशनमा विस्तृत जानकारी प्रस्तुत गरियो। उपाध्यक्ष चौधरीका अनुसार प्रदेश सरकारअन्तर्गत वित्तीय समानीकरण अनुदानतर्फ ८३ लाख ३५ हजार रुपैयाँ अनुमान गरिएकोमा हालसम्म ४१ लाख ६७ हजार ५ सय रुपैयाँ मात्र प्राप्त भएको छ। सशर्त अनुदानतर्फ ९० लाख रुपैयाँको अनुमान गरिए पनि २९ लाख ७० हजार रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिइन्। त्यसैगरी, सम्पूरक अनुदानका लागि ७० लाख रुपैयाँ अनुमान गरिएकोमा २३ लाख १० हजार रुपैयाँ मात्र प्राप्त भएको बताइन्।

    संघीय सरकारबाट प्राप्त हुने अनुमानित रकम ९ करोड ९ लाख रुपैयाँ रहे पनि हालसम्म ४ करोड २९ लाख ८१ हजार रुपैयाँ मात्र प्राप्त भएको छ। यस्तै, प्रदेश सरकारबाट ३५ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिए पनि २६ लाख ३६ हजार रुपैयाँ मात्र प्राप्त भएको जानकारी दिइयो। मालपोत बाँडफाँडबाट १ करोड ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिए पनि हालसम्म १ करोड १९ लाख ६५ हजार रुपैयाँ मात्र प्राप्त भएको छ।

    उपाध्यक्ष चौधरीले अनुमानभन्दा कम रकम प्राप्त भएकाले हिउँदे अधिवेशनमार्फत केही योजना परिमार्जन गरिएको जानकारी दिँदै, सबै गाउँसभा सदस्यहरूले सर्वसम्मतरूपमै परिमार्जित योजनाहरू पारित गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो।
    उक्त अधिवेशन ओमसतिया गाउँपालिकाका अध्यक्ष तथा स्थानीय सरकार प्रमुख मन्जितकुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. ५ का अध्यक्ष तथा पालिका प्रवक्ता मदन प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी र रुपा थापा राउतले गर्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.