बुटवल, चैत १० । नेकपा (एकिकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिले सहि दिशा लिन नसक्दा पुनःउत्थानवादी शक्तिहरूको प्रभाव बढिरहेको बताएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियता र त्यसको समर्थनमा भएका प्रदर्शनलाई लक्षित गर्दै महासचिव भुसालले भने कि अब त्यस्ता शक्तिहरूलाई निस्तेज पार्न राजनीतिक हस्तक्षेपको आवश्यकता रहेको छ।
शनिबार बुटवलमा आयोजित नेकपा एकिकृत समाजवादी रुपन्देहीको १०औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव भुसालले नेपालमा राजतन्त्रको अन्त्य भइसकेको र अब त्यसलाई पुनः पुनर्जीवित गर्नु सम्भव नहुने बताए। उनले गणतन्त्रको रक्षा गर्न र सुधारका लागि मुख्य दलहरू बीच सहकार्यको आवश्यकता रहेको स्पष्ट पारे। “गणतान्त्रिक शक्तिहरूमा सुधारको खाँचो छ।’’ उनले भने, “कुशासन र बेरोजगारीका कारण पुनःउत्थानवादी शक्तिहरूको आवाज बढेको हो, जसका लागि सरकार र मुख्य राजनीतिक दलहरू जिम्मेवार हुनुपर्छ।’’
भुसालले नेपालमा गणतन्त्रको रक्षा गर्न राजनीतिक हस्तक्षेप नगरेमा देशको दुरदर्शामा गम्भीर संकट आउने चेतावनी दिए। “प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस विषयमा सचेत रहन आग्रह गर्छु।’’ उनले थपे।
नेकपा एकिकृत समाजवादीले मुलुकमा भएका अस्तव्यस्त अवस्थाबाट बाहिर ल्याउन र गणतन्त्रको रक्षाका लागि चैत १ गते आन्दोलन गर्ने घोषणा गरेको भन्दै भुसालले राष्ट्रिय ऐजेन्डामा आवद्ध हुने र भ्रष्टाचार विरुद्धको आन्दोलनलाई मजबुत बनाउने वचन दिएका छन्। “हामी एकल वा पार्टीगत कार्यको लागि होइन, समग्र राष्ट्रको कल्याणका लागि सडकमा हुनेछौं।’’ उनले स्पष्ट पारे।
त्यसैगरी, नेकपा एकिकृत समाजवादीका उपमहासचिव मेटमणी चौधरी र सचिव सोमप्रसाद पाण्डेले संविधानको रक्षा र समाजवादको पथमा पार्टीको प्रतिबद्धता व्यक्त गरे। चौधरीले भने, “हामीले एमालेबाट विद्रोह गरेर संविधानको रक्षा गरेका हौं।’’ पाण्डेले नेपाली विशेषताको समाजवाद र कम्युनिष्ट एकताबद्धता खडा गर्न आफ्नो पार्टीको प्राथमिकता रहेको बताए।
अधिवेशनमा नेकपा एकिकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरू नन्दलाल बन्जाडे, रमा घर्ती, अब्दुल खाँन, केन्द्रीय सदस्य लक्ष्मी भुसाल, मोहम्मद अब्दुललगायतले पार्टीका ऐजेन्डाको महत्त्व र एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा नेकपा मालेका स्थायी कमिटि सदस्य गोपालमणि भट्टराई, पूर्व सांसद रामचन्द्र भट्टराई, नेकपा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, नेकपा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसी लगायतका नेताहरूले अधिवेशनको सफलताका लागि शुभकामना दिएका थिए।
अधिवेशनको उद्घाटन सत्र शनिबार सम्पन्न भएको हो भने, आइतबार बन्दसत्रमा सांगठिक प्रतिवेदन र नेतृत्व चयनका विषयमा छलफल गरिने जानकारी कार्यवाहक अध्यक्ष श्रीराम यादवले दिएका छन्।