अन्जना चौहान ।
लुम्बिनी, चैत्र १४ । रूपन्देही जिल्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नं. ६, लोखडिया चौराहामा स्थित हुलाकी (पूर्व–पश्चिम) राजमार्गमा एक दुखद् दुर्घटना घटेको छ। नेपालगञ्जबाट सामान बोकी सिराहा तर्फ जाँदै गरेको ट्रक (प्र. १–०२– ००१ ख ८४७२) लाई ठक्कर दिएको मोटरसाइकल (लु. ३३ प ८२३२) को चालक र पछाडि सवार महिला घाइते भएका छन्।
घटना अनुसार, मोटरसाइकल चालक कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–२, नौडिहवा निवासी ४० वर्षीय हफिजुल्लाह फकीरको टाउँकोमा गम्भीर चोट लागेको छ। पछाडि सवार महिला, ३५ वर्षीया किस्मति चौधरी, जसको घर कपिलवस्तु शुद्धोधन गाउँपालिका–२, भुसुडीमा रहेको छ, उनको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ।
घटनास्थलमा इलाका प्रहरी निरिक्षक दीपक मगराठीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो। उद्धार पश्चात् दुबै घाइतेलाई उपचारको लागि सिटी अस्पताल, भैरहवा पठाइएको छ। ट्रक चालक मोरङ जिल्ला पथरीसंसारी नगरपालिका–८ निवासी ४७ वर्षीय सुकनारायण चौधरीलाई इलाका प्रहरी लुम्बिनीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा ट्रक चालकको सवारी चालक अनुमति पत्र वैध रहेको र दुर्घटना सडकको कुनै अवरोधको कारण नभएको खुलाएको छ।
इलाका प्रहरी निरिक्षक दीपक मगराठीका अनुसार, थप अनुसन्धान जारी छ।