बिशन गुरुङ्ग
भैरहवा, चैत्र १७ । श्री माछापुच्छ्रे क्लबको आयोजनामा शुरु भएको ३०औं माछापुच्छ्रे फुटबल प्रतियोगिता २०८१ को पहिलो दिनको खेलमा न्यू स्टार फुटबल क्लब र खुकुरी क्लब बीच कडा प्रतिस्पर्धा भएको छ।
पक्लिहवा कृषि क्याम्पस खेल मैदानमा भएको यस खेलको पहिलो हाफमा दुवै टोलीले १–१ गोल बराबरी गर्दै खेल सुरु गरे। दोस्रो हाफमा पनि दुवै टोलीले गोल थप्दा खेल २–२ बराबरीमा पुग्यो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटमा गरिएको थियो, जहाँ न्यू स्टार फुटबल क्लब ३–१ को जितसँगै विजयी भएको छ।
प्रतियोगिताका आयोजक क्लब अध्यक्ष युवराज थापाका अनुसार, भोली दिउँसो ३ बजे सिर्जना एफ.सी., करौजिया र पक्लिहवा कृषि क्याम्पस बीच दोस्रो खेल हुने बताइएको छ।
प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान उपस्थित थिए। साथै, अन्य उपस्थितिहरूमा सिद्धार्थनगर नगरपालिका वडा नं. २ का अध्यक्ष छेदीलाल श्रीवास्तव, वडा नं. १३ का वडाध्यक्ष सोमबहादुर गुरुङ्ग, बहिरा बाल म.वि.का प्रधानाध्यापक भीमबहादुर थापा, झण्डीबजार आमा समूहकी अध्यक्ष गैगा घले, मेउडिहवा आमा समूहकी अध्यक्ष इन्दिरादेवी श्रेष्ठ, नयाँ गाउँ समाज समूहकी अध्यक्ष हरिमाया गुरुङ्ग, दुर्गा मन्दिर समितिका अध्यक्ष र राष्ट्रपति पदकबाट सम्मानित खेली श्याम गुरुङ्ग लगायतका व्यक्तिहरू उपस्थित थिए।
१२ क्लब सहभागी भएकाे खेल प्रतियोगितामा महिला तथा १० कक्षासम्मका विद्यार्थीहरूलाई निःशुल्क प्रवेश दिने व्यवस्था गरिएको छ भने सर्वसाधारणलाई प्रवेशका लागि रु. ५० का टिकट उपलब्ध छन्। सेमिफाइनल र फाइनलको लागि रु. १०० का टिकट लाग्ने आयोजक क्लब जनाएकाे छ ।
माछापुच्छ्रे क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ र यो प्रतियोगिता यस क्लबको ३०औं संस्करण हो। यसलाई एक ऐतिहासिक माइलस्टोनकारूपमा मानिएको छ, जसले क्लबको फुटबल क्षेत्रमा महत्वपूर्ण योगदानको परिचय दिएको छ।