logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    ‘पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पछाडी’


    १८ चैत्र २०८१ , सोमबार

    ‘पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पछाडी’

    लुम्बिनीखबर
    भैरहवा,१८ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरु अझै पनि सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रुपमा पछाडी परेको बताएकी छन् । शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेश स्तरीय महिला जनप्रतिनिधिहरुको अन्तरसम्वाद कार्यक्रममा बोल्दै उनले भनिन्, ‘बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिलाविरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान देखिन्छ । समाजमा सिर्जना गरिएका विभेद हटाइ न्यायपूर्ण एवं समतामूलक निर्माणका लागि महिला र पुरुष दुवैको समान सहभागिता आवश्यक छ ।’
    महिला सशक्तिकरण र लैंगिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धी विश्वकै लागि प्रेरणादायी भएको उनले बताइन् । अहिलेको संविधानले महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै त्यसको कार्यान्वयन जरुरी रहेको जनाइन् । उनले गत निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच भएको गठबन्धनका कारण कतिपय अवस्थामा महिला सहभागिताको अनुपात घटेको बताइन् । उनले संवैधानिक प्रावधानविपरीत महिला सहभागीताको अनुपात घटेको देखिएको जनाइन् ।
    ‘अब आगामी निर्वाचनमा राजनीतिक दलहरुले यस विषयमा विशेष ध्यान जरुरी छ,’ उनले भनिन्, ‘प्राप्त उपलब्धीको रक्षा गर्दै संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्यवन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनुपर्छ ।’ संविधानले विद्यालय क्षेत्रलाई स्थानीय तहमा अधिकार दिएकोले समग्र विकासको चाहना राख्नेहरुले शिक्षा क्षेत्रको विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेकोमा उनले जोड दिइन् । उनले सामूदायिक विद्यालयमा दीवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिइन् ।
    लुम्बिनी प्रदेशको समग्र विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् । महिला सांसदप्रति विभेद हुनु दुःखद भएको भन्दै यसबारे गहन छलफल हुन आवश्यक रहेको उनको भनाइ छ । तर, महिला सांसदहरुप्रति कहाँ विभेद भयो भन्नेबारे उनले केही खुलाइनन् । ‘विभेदलाई हटाउन र अधिकालाई सुनिश्चित गर्न महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ,’ उनले भनिन् ।
    कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, प्रदेश सभा सदस्य जमुना ढकाल, हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी लगायतले बोल्दै महिला सहभागिता र नेतृत्व विकासमा जोड दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.