लुम्बिनीखबर
भैरहवा, ७ जेठ । भारतवाट नेपाल प्रवेश गर्ने मालवाहक ढुवानी साधनलाई भन्सार कार्यालय परिशरमा नै भारमिलान गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनलाई उद्योग व्यवसायीले विरोध गरेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकोे आदेशमा मंगलवार देखि मालवाहक ढुवानी साधनलाई चेकजाच गरि भारमिलान गर्न प्रहरीलाई निर्देशन दिएपछि सोको कार्यान्वयन गर्न थालेपछि बिरोध शुरु भएको हो ।
भुकम्प र कोभिडको माहामारी पछि संकटमा परेका नेपालमा उद्योग कलकारखानालाई बन्द गराउने नियतका साथ प्रमुख जिल्ला अधिकारीवाट यो निर्देशन आएको उद्योग व्यवसायीहरुको भनाई रहेको छ ।
विगतमा पनि विभिन्न निकायहरुले मालवाहक ढुवानी साधनहरुलाई विभिन्न प्रकारका समस्याहरु भन्सार विन्दुमा पार्ने गरेपछि मिति २०७६ जेठ २ मा गृहमन्त्रीस्तरको निणर्यले औद्योगिक कच्चा पदार्थ बोकेका ढुवानी साधनलाई नरोक्ने निर्देशन जिल्ला प्रशासन कार्यालयहरुलाई गरेको थियो ।
त्यही निर्देशन अनुसार नियमित सञ्चालनमा रहेका मालवाहक ढुवानीका साधनहरु रोक्न जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजबाट रोक्न निर्देशन दिएपछि भैरहवा भन्सार कार्यालयमा समस्या श्रृजना भएको हो ।
गृहको परिपत्र अनुसार नजिकको बजार र औद्योगिक क्षेत्र सम्म पैठारी गरिने फलामे रड, बिलेट, जिप्सन, खनानी, वायर, कोइला जस्ता औद्योगिक कच्चा पर्दाथ ढुवानी गर्न दिने निणर्य भएपनि त्यसको वेवास्ता गर्दै प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका हुन ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले प्रमुख जिल्ला अधिकारीको एकतर्फी निणर्य अव्यवहारिक भएको भन्दै यसका विरुद्धमा उद्योग व्यावसायीहरुले आन्दोलन गर्ने बताए ।
सर्वपक्षिय सरसल्लाह र छलफलबाट यस्ता निणर्यहरु प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हो । अध्यक्ष आचार्यले भने, यो एकतर्फी निणर्य र निर्देशनले संकटमा परेका उद्योगहरु बन्द गराउने तर्फ केन्द्रित भएको देखिन्छ ।” यो निणर्य सच्चाउन उद्योग व्यवसायीहरुको माग रहेको छ ।
नेपाल आयल निगममा आउने ८० टन भन्दा माथीका ट्याङ्करहरुमा पेट्रोलियम पदार्थलाई प्रमुख जिल्ला अधिकारीको निर्देशनले कसरी भारमिलान हुन्छ भन्दै अध्यक्ष आचार्यले प्रतिप्रश्न गरे । उनले भने मार्वल उद्योगहरुमा आउने एउटै ढुङ्गा ८५ टन भन्दा माथी हुन्छ, तेस्रो मुलुकबाट आउने कच्चा पदार्थ स्वाविन तेल, सनफ्लावर तेल बोकेका ट्याङ्करहरुलाई समेत भारमिलान गर्न नसकिने सिद्धार्थ उद्योग वाणिज्य संघले जनाएको छ ।
भैरहवा भन्सार एजेन्ट संघ, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले प्रमुख जिल्ला अधिकारीको निर्देशन अव्यवहारिक भएको भन्दै विरोध जनाएका छन् ।
धेरै जसो कच्चा पदार्थहरु भारमिलान गर्न नमिल्ने प्रकारका हुने भन्दै अध्यक्ष पन्थीले जिल्ला प्रशासनका एकतर्फी निणर्यलाई भन्सारले मान्न बाध्य नहुने बताए ।
नेपालका अन्य भन्सार कार्यालयमा गृहको परिपत्र अनुसार नै ढुवानी भैरहेको तर भैरहवा भन्सारमा यो त्यो नाममा सधै वाधा विरोध हुदा भन्सार राजस्व असुलीमा समेत असर पार्ने गरेको भन्सार एजेन्ट संघले जनाएको छ ।
नेपाल भन्सार एजेन्ट महासंघका पूर्व सचिव तथा सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेले के अव भन्सारमा राजस्व फारम भर्न पनि ढुवानी व्यवसायीलाई सोध्न पर्ने हो रु भन्दै प्रमुख जिल्ला अधिकारीलाई प्रतिप्रश्न गरे ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले भन्सार विन्दुमा भारमिलानका लागि प्रमुख जिल्ला अधिकारीको निर्देशात्मक परिपत्र भन्सार ऐन २०६४को दफा ८८ को विपरित हुने बताए ।
भन्सार परिशर भित्र रहेको मालवस्तु भन्सार कार्यालयबाट जाचपास भै भन्सार क्षेत्रबाट नहटाए सम्म सो मालवस्तुका सम्बन्धमा कुनै अधिकारी वा निकायले कुनै प्रकारको हस्तक्षेत्र गर्न नमिल्ने कानुनी प्रावधान रहेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।