logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    दाउन्नेको जामले यात्रुलाई सास्ती


    ३१ असार २०८२ , मंगलबार

    दाउन्नेको जामले यात्रुलाई सास्ती

    लुम्बिनीखबर

    भैरहवा, असार  । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हाल निर्माणको क्रममा रहेको बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रको पूर्वी भागमा घण्टौं जाम हुने गरेको छ । केही क्षण पानी पर्दा सडक चिप्लिने समस्या छ । सडकखण्डको दाउन्ने बाहेकको क्षेत्रमा धेरै ठाउँमा कालोपत्रे भएको छ । तर, दाउन्ने खण्डले यो वर्खा पनि सधाझै उस्तै हैरानी दिइरहेको छ । हिलोमा गाडी फस्ने, पट्टा भाँचिने समस्या छ भने व्यापारीको ढुवानी खर्च बढीरहेको छ ।

    सडक निर्माण योजनाको अहिलेसम्म भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लागेको र म्याद थपको तयारी भइरहेको सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए । निर्माण सुरु भएको लामो समय बित्दा पनि निर्माण कार्य पूरा नहुँदा नागरिकले सास्ती खेप्नुपरेको छ । राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु कष्टकर यात्रा गर्न बाध्य छन् भने राजमार्गको छेउछाउमा व्यवसाय गर्नेहरू बर्खामा हिलो र हिउँदमा धुलो–धुवाँले प्रभावित छन् । त्यति मात्रै नभई राजमार्गका होटलहरूमा चहलपहल ह्वात्तै घटेको छ । सडककै कारण पहिलेको तुलनामा आधाभन्दा बढी व्यापार सुकेको व्यापारीहरू बताउँछन् । त्यसमा पनि दाउन्ने खण्डमा हुने जामले त हैरानी नै खेप्नु परेको छ ।

    सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रो पटक म्याद थपिएको थियो । त्यस अवधिमा समेत काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको हो । यस अवधिमा पनि काम नसकिने पक्का छ ।

    कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम भइरहेको छ । निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले ५७६ दिन थप म्याद माग गरेको छ । एक वर्षका लागि मात्र म्याद थप्ने तयारी गरिएको आयोजनाले जनाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अगाडि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रहेको छ ।

    ११३ किलोमिटरमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुने र दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको रहनेछ । राजमार्ग विस्तारको यो महत्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती खेप्नुपरेको छ । अहिले कामले केही गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको भए पनि दाउन्ने खण्डमा समस्या यथावत् छ । सामान्य वर्षा हुँदासमेत उक्त क्षेत्रमा सडक चिप्लो भएर घण्टौंसम्म जाममा पर्नुपर्ने बाध्यता कायम छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.