लुम्बिनीखबर
काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ। माओवादीले जेनजी आन्दोलनका क्रममा सरकारको गोली प्रहारलाई नरसंहारको संज्ञा दिँदै कडा आपत्ति जनाएको छ।
‘जनतासँग माओवादीस् मध्यपहाडी पुष्पलाल लोकमार्ग–जनजागरण अभियान’ अन्तर्गत गोरखामा रहेका शीर्ष नेताहरूको अनौपचारिक बैठकले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, विभिन्न उपाध्यक्षहरू र महासचिव सहभागी थिए।
माओवादीका अनुसार, जेनजी आन्दोलनका क्रममा सरकारको व्यवहार अनुचित र दमनकारी रहेको छ। प्रदर्शनका क्रममा हालसम्म १५ जनाको मृत्यु भएको घटनालाई माओवादीले नरसंहारको रूपमा व्याख्या गरेको छ। “सरकारले ताकी(ताकी गोली हानेको छ। यो हत्या मात्र होइन, नरसंहार नै हो। सुरुमा हेलचेक्र्याइँ गरियो, पछि गोली चलायो,” माओवादी नेता एवं सांसद माधव सापकोटाले भने।
जेनजी आन्दोलनमा भएको हिंसात्मक दमनपछि माओवादीले आफ्नो अभियान स्थगित गरी नेताहरू काठमाडौं फर्कने निर्णय गरेका छन्। सापकोटाले सरकारले वातावरण सहज बनाउन प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने नेताहरूको ठहर रहेको बताए।
माओवादीले सरकारको यो कदमविरुद्ध थप कदम चाल्ने संकेत गरेको छ, तर तत्कालका लागि काठमाडौं फर्केर परिस्थितिको मूल्यांकन गर्ने योजना रहेको बताइएको छ।