logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    राष्ट्रिय कर दिवसमा शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न


    १ मंसिर २०८२ , सोमबार

    राष्ट्रिय कर दिवसमा शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न

    लुम्बिनीखबर

    भैरहवा, १ मंसिर । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रम आयोजना गरेको छ । सोमबार भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले आन्तरिक राजस्व कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गरेर उत्कृष्ट कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले समाजको रुपान्तरणमा राज्यका निकायसँग स्थानीय उद्योगी–व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै राज्य र जनताको सहकार्यबाट देशको विकास र समृद्धि हुने उल्लेख गर्नुभयो । सबैले सकारात्मक सोच निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ थियो ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोख्रेलले सम्पूर्ण उद्योग–व्यवसायीसँग राष्ट्रिय कर दिवस २०८२ को शुभकामना व्यक्त गर्दै कर प्रशासन राज्यको महत्वपूर्ण अंग भएको बताउनुभयो । उहाँले करदाताहरूको सकारात्मक सहकार्यबाट सफलता प्राप्त भएको उल्लेख गर्दै कुनै पनि करदातालाई घरपकड वा दुःख दिने कार्य नगरेको स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षमा सरकारले दिएको लक्ष्यभन्दा बढी कर असुल गर्न सफल भएको बताउँदै करदाताहरूको कमजोरीलाई सुधार गर्न सहयोग गर्ने र सधैं सहकार्यका लागि तयार रहेको उहाँले जनाउनुभयो । ठूला व्यवसायीहरूको पहुँच हुने तर साना व्यवसायीहरूको नहुने भएकाले उनीहरूलाई सहजीकरण गर्ने गरेको जानकारी दिँदै उहाँले केही महिनामा कर बुझाउने प्रणालीमा क्यूआर कोड प्रयोग गर्न सकिने बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले राज्यले कर असुली गर्ने तर उद्योगी–व्यवसायीलाई आवश्यक सुविधा नदिने बताउनुभयो । उहाँले कर प्रणाली व्यवसायीहरूको स्वेच्छिक हुनुपर्ने र राज्यले लिने करलाई स्वास्थ्य, शिक्षा तथा रोजगार क्षेत्रमा लगानी गर्ने प्रावधान हुनुपर्ने सुझाव दिनुभयो ।

    उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्काले कर तिर्न सरकारले व्यवसायीहरूलाई उपयुक्त वातावरण तयार गर्नुपर्ने बताउनुभयो । करदातालाई उत्साहित गर्न राज्यले भूमिका खेल्नुपर्ने उल्लेख गर्दै राज्य र उद्योगी–व्यवसायीहरूको सहकार्य सधैं आवश्यक रहेको उहाँको भनाइ थियो ।

    सिद्धार्थ सञ्चालकहरूका अध्यक्ष अनिलकुमार ज्ञवालीले नेपालको कर प्रणालीमा अझै सुधार आवश्यक भएको बताउँदै कर प्रणालीलाई क्यूआर प्रणाली वा पेपरलेस बनाउनुपर्ने सुझाव दिनुभयो ।

    तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले कानुन र नियमहरू धेरै भएकाले उद्योगी–व्यवसायीहरू समस्यामा परेको बताउनुभयो । देशले कर असुलीमा आधुनिकता अपनाउँदा उद्योगी–व्यवसायीलाई पनि राज्यको योजनामा समावेश गर्नुपर्ने उल्लेख गर्दै खरिदमा मात्र नभई खर्चमा पनि करको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

    सम्पूर्ण लेखापरीक्षकहरूको तर्फबाट बोल्दै वरिष्ठ लेखापरीक्षक शिवहरी शर्माले करलाई पारदर्शी बनाउन र राजस्व प्रशासनमा कर छली तथा भन्सार छली रोक्नुपर्ने बताउनुभयो । शून्यबाटै राजस्व छली रोक्ने प्रयास आवश्यक भएको उल्लेख गर्दै विचमा पुगेर व्यापारीलाई दुःख दिने कार्य रोक्नुपर्ने र सबै कुरा सिस्टममा आधारित हुनुपर्ने उहाँको भनाइ थियो ।

    अडान रुपन्देहीका पूर्वअध्यक्ष डिआर शर्माले विगतमा कर असुली अनुमानका आधारमा हुने गरेको तर पछिल्लो समयमा व्यापारी र सरकारबीच करमैत्री माध्यमबाट असुली हुने गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

    आर्थिक वर्ष २०८०/०८१ मा आयकरतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवाको कार्यक्षेत्रअन्तर्गत पर्ने विजार्ड फ्रेग्रेन्स इन्डस्ट्रीज मायादेवी–८ लाई उत्कृष्ट करदाताको रूपमा छनोट गरी सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

    राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरूबीच भएको ब्याडमिन्टन प्रतियोगितामा प्रथम हुने कर अधिकृत सन्तोष सुवेदी र नासु खुमबहादुर रावतलाई प्रमाणपत्रबाट सम्मान गरिएको छ । द्वितीय स्थान प्राप्त गर्ने नासु जसराज ओली र नवराज पौडेललाई पनि प्रमाणपत्रबाट सम्मान गरिएको छ ।

    कार्यक्रममा कर अधिकृत नरेश पन्थीको स्वागत मन्तव्य र कर अधिकृत सरोज मरासिनीको सञ्चालन रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.