logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी सम्मान तथा भिडियो प्रतियोगिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न


    १२ मंसिर २०८२ , शुक्रबार

    राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी सम्मान तथा भिडियो प्रतियोगिता पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    लुम्बिनीखबर

    मणिग्राम, १२ मंसीर । रूपन्देही जिल्लाको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा दुईवटा महत्वपूर्ण कार्यक्रमहरू सम्पन्न भएका छन् । क्याम्पसको स्नातक तह अन्तर्गत बी.ए. र बी.एड. चौथो वर्षमा उत्तीर्ण हुने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम तथा क्याम्पसबारे उत्कृष्ट भिडियो सामग्री प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गर्ने कार्यक्रम आयोजित भएका हुन् । यी कार्यक्रमहरूले क्याम्पसको शैक्षिक उत्कृष्टता र विद्यार्थीहरूको रचनात्मकतालाई प्रोत्साहन गरेको छ ।
    सम्मान कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुली र पूर्व क्याम्पस प्रमुख मोहनराज शर्माले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले राममणि क्याम्पसलाई स्तरीय शैक्षिक संस्थाको रूपमा स्थापित गरेकोमा गर्व व्यक्त गर्दै कैयौं विद्यार्थीहरूले विशिष्ट श्रेणी र प्रथम श्रेणीमा उत्तीर्ण भएकोमा खुशी व्यक्त गर्नुभयो । हाम्रा विद्यार्थीहरूको सफलताले क्याम्पसको पहिचानलाई थप मजबुत बनाएको  क्याम्पस प्रमुख पराजुलीले भन्नुभयो ।
    कार्यक्रम क्याम्पसको शिक्षा तथा मानविकी संकायका प्रमुख लक्ष्मण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । सम्मानित विद्यार्थीहरू मध्ये सम्झना ढकाल र विशाल बमरेलले आफ्नो अनुभव साट्नुभयो । उहाँहरूले क्याम्पसले अपेक्षाभन्दा बढी प्रेरणा दिएको बताउँदै आभार व्यक्त गर्नुभयो । क्याम्पसको सहयोग र मार्गदर्शनले हामीले यो सफलता हासिल गरेका छौं, ढकालले भन्नुभयो ।
    कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैरे गर्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेले क्याम्पसको इतिहासबारे जानकारी दिनुभयो । उहाँले २० वर्षदेखि सञ्चालित एम.ए.समाजशास्त्र र १४ वर्षदेखि सञ्चालित एम.बी.एस. कार्यक्रमहरूमा पनि उत्कृष्ट नतिजा आएको बताउनुभयो । ूयी कार्यक्रमहरूले क्याम्पसलाई बहुमुखी र गुणस्तरीय बनाएका छन्, पाण्डेले भन्नुभयो ।
    यसैबीच, क्याम्पसबारे उत्कृष्ट भिडियो सामग्री प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूलाई पुरस्कृत गर्ने दोस्रो कार्यक्रम पनि सम्पन्न भएको छ । क्याम्पस सञ्चालक समितिका सदस्य तारानाथ कंडेल र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उत्कृष्ट ९ जना विद्यार्थीहरूलाई नगद रकमसहित पुरस्कार वितरण गर्नुभयो । यो प्रतियोगिताले विद्यार्थीहरूको रचनात्मक क्षमता र क्याम्पसप्रतिको लगावलाई बढावा दिएको छ ।
    पुरस्कार वितरण कार्यक्रम क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिका संयोजक जीवनकुमार पौडेलको अध्यक्षतामा आयोजित थियो । कार्यक्रममा सहभागीहरूले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
    यी दुवै कार्यक्रमहरूमा क्याम्पसका प्राध्यापकहरू, कर्मचारीहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । राममणि बहुमुखी क्याम्पसले आगामी दिनहरूमा पनि यस्ता प्रोत्साहनमूलक क्रियाकलापहरू जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.