अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, १८ मंसिर । लुम्बिनी साँस्कृतिक नगरपालिकाको बहुप्रतीक्षित प्रशासनिक भवनको बिहीवार ( हिजो) भव्य समारोहबीच शिलान्यास गरिएको छ।
रु. २५ करोड ७० लाख ८६ हजार ६९८ लागतमा निर्माण हुने यो भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
वडा नं. ३ स्थित लंकापुर र ठूलो पडरियाको बीचमा रहेको कित्ता नं. ३६० (क्षेत्रफल ३–१०–११) मा बन्ने यो भवन नेपाल सरकार, एसियाली विकास बैंक र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त लगानी तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ। ठेक्का पाएको कन्ट्याक्ट–बाबुल, एनबी, जेभीले निर्माण जिम्मेवारी पाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले स्वर्गीय नगरप्रमुख सजरुद्धिन मुसलमानप्रति श्रद्धाञ्जली अर्पण गरिन्। उनले भनिन्, “हाम्रो आफ्नै प्रशासनिक भवन नहुँदा वर्षौंदेखि जनताले सास्ती खेप्दै आएका थिए। स्वर्गीय सजरुद्धिन मुसलमानले जग्गा व्यवस्थापनदेखि निरन्तर पहल गर्नुभएको थियो। आज उहाँको सपना साकार हुँदैछ।”
प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले सबैको सहकार्य र प्रयासले स्तरीय प्रशासनिक भवन बन्न लागेको बताउँदै बुद्धजन्मस्थलको गरिमा सुहाउँदो सुविधासम्पन्न भवन बन्ने र त्यसमा बुद्धको मुक्तिको प्रतिमा पनि राखिने जानकारी दिइन्।
शिलान्यास कार्यक्रममा उपसचिव हरिप्रसाद, तारा ज्ञवाली, पूर्वनगरप्रमुख तथा उपप्रमुखहरू, वडा १ देखि १३ सम्मका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पूर्वजनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, आमा समूह, विद्यालयका प्रधानाध्यापकहरूले संयुक्त रूपमा शिलान्यास गरेका थिए। कार्यक्रममा नगरप्रहरी, लुम्बिनी इलाका प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन शिक्षा शाखाकी प्रमिला पछाईले गरेकी थिइन् भने समन्वय शाखा प्रमुख तुलसी लामिछानेले शिलान्यासको जानकारी दिएका थिए।
आफ्नै भवन नहुँदा भाडाको घरबाट सञ्चालन हुँदै आएको नगरपालिकाले अब छिट्टै सुविधासम्पन्न भवनबाट जनतालाई सेवा प्रदान गर्नेछ। यो भवनले लुम्बिनी साँस्कृतिक नगरपालिकालाई थप व्यवस्थित र समृद्ध बनाउने अपेक्षा गरिएको छ।