“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ”
अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ को अवसरमा मानव अधिकारका लागि एकल महिला समूह रुपन्देहीको आयोजना र लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा २ दिने महिला सशक्तिकरण तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिमको समापनमा बोल्दै कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारले नीतिगत तथा कार्यक्रमिक रूपमा थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमले महिलाहरूको आत्मविश्वास र अधिकारप्रति सचेतना बढाउन ठूलो भूमिका खेलेको बताउनुभयो ।
समूहकी अध्यक्ष रीता सेन ओलीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै लुम्बिनी सांस्कृतिक नगरपालिकाका सबै वडामा एकल महिला तथा हिंसामा परेका महिलाहरूलाई लक्षित गरी थप तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
तालिममा सहभागीहरूलाई घर–परिवार, समाज र राज्य स्तरमा हुने विभिन्न प्रकारका लैङ्गिक हिंसाबारे विस्तृत जानकारी गराइएको थियो । प्रशिक्षकहरूले सन् २०२५ मा नेपालमा सबैभन्दा बढी यौन हिंसा कोशी र मधेश प्रदेशमा देखिएको तथा घरेलु हिंसा देशव्यापी रूपमा बढ्दै गएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
लिंग, समुदाय, भौगोलिक क्षेत्र, जाति–जनजाति, धर्म, पेशा, भाषा, वर्ग र सामाजिक विभेदका आधारमा हुने असमानता तथा हिंसाका स्वरूप, कानुनी उपचार, प्रविधिको दुरुपयोग रोक्ने उपाय र डिजिटल सुरक्षालगायत विषयमा गहन छलफल तथा अभ्यास गराइएको आयोजकले जनाएको छ ।
“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” मूल नारासहित आयोजित तालिममा एकल महिला, महिला जनप्रतिनिधि र नगरपालिकाका महिला कर्मचारी गरी कुल ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष रीता सेन ओलीले गर्नुभएको थियो भने प्रमुख अतिथि लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजन रहनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली तथा अतिथिहरूमा समूहकी सचिव कला केसी, सदस्यहरू माया दर्नाल र पुष्पा चौधरी, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव, महिला तथा बालबालिका शाखा प्रमुख विनिता शाहलगायत रहनुभएको थियो ।
तालिमको पहिलो दिन प्रशिक्षक तुलसा ज्ञवाली र दोस्रो दिन प्रशिक्षक अमृता अनमोलले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समूहकी सचिव कला केसीले गर्नुभएको थियो ।