अन्जना चौहन । लुम्बिनीखबर
लुम्बिनी, फागुन । रुपन्देही जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा (एमाले) का उम्मेदवार तथा लोकप्रिय नेता खिमलाल भट्टराईको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र रूपमा अगाडि बढिरहेको छ । चुनावी माहोल तात्दै गएसँगै भट्टराई नेतृत्वको टोली गाउँ–टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै जनसमर्थन जुटाइरहेका छन् ।
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाहरूले विकास निर्माण, सडक स्तरोन्नति, खानेपानी, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, महिला समानता जस्ता विषयमा आफ्ना गुनासा तथा अपेक्षा राखेका छन्। उम्मेदवार भट्टराईले विगतका अनुभव, पार्टीको नीति तथा आफ्नो योजनालाई जोड दिँदै क्षेत्रको समग्र विकासका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताका समस्या सुन्ने र सम्बन्धित निकायसम्म पु¥याएर समाधानका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
एमालेका स्थानीय नेताहरूका अनुसार, क्षेत्र नम्बर ५ मा पार्टीप्रति जनविश्वास क्रमशः बढ्दै गएको छ। घरदैलो अभियानमार्फत मतदातासँग नजिकिँदै संगठनलाई थप सुदृढ बनाउने तथा चुनावी तयारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ । भट्टराईले पार्टी सुदृढीकरणसँगै जनतासँगको प्रत्यक्ष सम्बन्धलाई अझ मजबुत बनाउने बताएका छन् ।
उम्मेदवार भट्टराईले जनसमुदायबाट प्राप्त अपेक्षाभन्दा बढी माया र समर्थनले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उनको प्रचार–प्रसार अभियानलाई अझ प्रभावकारी बनाइने नेकपा (एमाले) ले जनाएको छ ।