बिशन गुरुङ्ग\लुम्बिीखबर
भैरहवा, २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ, नगर समन्वय परिषद् सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस आइतबार सिद्धार्थनगर–१२, डाँडागाउँस्थित युनिक बैंक्वेटमा विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले आदिवासी जनजातिका हक, अधिकार र पहिचान संरक्षणका लागि राज्यका विभिन्न तहमा आफ्ना समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको बताउनुभयो । संविधानले सुनिश्चित गरेका अधिकार प्राप्त गर्न अधिकारबारे जानकार र सक्षम व्यक्तिहरू सम्बन्धित स्थानमा पुग्नुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख खानले आदिवासी जनजाति समुदायका छोराछोरीलाई शिक्षामा विशेष जोड दिँदै उच्च तहसम्म पु¥याउनुपर्ने बताउनुभयो । आफ्नो हक, अधिकार र समुदायका मुद्दाबारे लेख्न तथा आवाज उठाउन सक्ने जनशक्ति निर्माण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष चन्द्रबहादुर राना मगरले आदिवासी जनजातिका हक, अधिकार प्राप्तिका लागि लामो संघर्ष गर्नुपरेको स्मरण गर्नुभयो । भाषा, लिपि, संस्कृति र पहिचान संरक्षणका लागि विगतमा सीमित बजेटका बाबजुद पनि कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । २०७८ सालमा नगरपालिकाबाट ३० जनाका लागि विनियोजित बजेटबाट ५२ जनालाई तालिम प्रदान गरिएको उल्लेख गर्दै उहाँले यस वर्ष ५ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा नगर प्रमुखसहित नगरपालिकालाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा, भेषभूषा तथा पहिचान संरक्षणका लागि आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए । राज्यका नीति तथा निर्णय प्रक्रियामा समुदायको प्रतिनिधित्व बढाउनुपर्ने उनीहरूको भनाइ थियो ।
दिवसको अवसरमा विभिन्न जातजातिका मौलिक भेषभूषासहित सांस्कृतिक नृत्य तथा प्रस्तुति समेत गरिएको थियो। सहभागीहरूले आफ्नो मौलिक संस्कृति र पहिचान झल्काउने भेषभूषा प्रदर्शन गरेका थिए ।

कार्यक्रमको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले दीप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा महासंघका अध्यक्ष प्रेमबहादुर गुरुङ्गको अध्यक्षता रहेको थियो भने वरिष्ठ उपाध्यक्ष सुकमाया गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य सुम्निमा राई, नेपाल सरकारका पूर्व सहसचिव अनिल गुरुङ्ग, नेपाल सरकारका पूर्व विभागीय अधिकारी तथा पूर्व स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ विभागीय प्रमुख÷युसिएमएस भैरहवाकी मेट्रोन प्रमुख विष्णु गुरुङ्ग, सूचना अधिकृत सुशील गुरुङ, वरिष्ठ सल्लाहकार विजय गोविन्द श्रेष्ठ, उमेश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन महासंघका सचिव रुपेश पुलामी मगरले गर्नुभएको थियो । कार्यक्रममा आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति, पहिचान र संरक्षणका विषयमा विभिन्न धारणा व्यक्त गरिएको थियो ।