logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    बाढीपीडितका लागि सिद्धार्थनगर नगरपालिकाद्वारा रु ३५ लाख सहयोग


    १६ भाद्र २०८३ , मंगलबार

    बाढीपीडितका लागि सिद्धार्थनगर नगरपालिकाद्वारा रु ३५ लाख सहयोग

    लुम्बिनीखबर
    भैरहवा, १६ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःनिर्माणका लागि रु ३५ लाख बराबरको आर्थिक सहयोग गर्ने भएको छ।नगरपालिकाको कार्यपालिका बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो।

    निर्णयअनुसार नगरपालिकाले रु २५ लाख सहयोग गर्नेछ। नगरप्रमुख खाँ र उपप्रमुख उमा अधिकारीले एक–एक महिनाको सेवा सुविधाबापतको रकम, वडाध्यक्षहरुले पाँच दिन, कार्यपालिका सदस्यहरुले तीन दिन तथा वडा सदस्यहरुले दुई दिन बराबरको सेवा सुविधाबापतको रकम कोषमा जम्मा गर्नेछन्।

    त्यसैगरी अधिकृतस्तरका कर्मचारीबाट सात दिन, सहायकस्तरका कर्मचारीबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीबाट दुई दिन बराबरको तलब सहयोगस्वरुप कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ। जनप्रतिनिधि तथा कर्मचारीबाट प्राप्त हुने रकमसमेत जोड्दा करिब रु ३५ लाख बराबरको सहयोग हुने प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बताउनुभयो।

    विपद्को अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले यस वर्ष नगरपालिका तथा मातहतका वडा कार्यालयबाट आयोजना गरिने हरितालिका तीजलगायतका कार्यक्रमसमेत रद्द गर्ने निर्णय गरेको छ। ती कार्यक्रमका लागि विनियोजन गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख खाँले बताउनुभयो।उहाँले विपद्को यस घडीमा तीजलगायतका कार्यक्रम नगरी उद्धार तथा राहत कार्यमा सहयोग गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ।बाढी प्रभावित क्षेत्रमा परी सम्पर्कविहीन भएका नगरवासीका परिवारलाई नगरपालिकामा सम्पर्क गर्नसमेत नगरप्रमुख खाँले अनुरोध गर्नुभएको छ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख खाँले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँले बाढीमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.