लुम्बिनीखबर
रोहिणी, २६ भदौ । इलाका प्रहरी कार्यालय धकधइले टोल–टोलमा प्रहरी अभियान अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम श्री राम नरेश यादव आदर्श मावि को सभा हलमा आयोजना गरिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य इलाका प्रहरी कार्यालय अन्तर्गत भएका प्रहरी गतिविधिबारे जानकारी गराउनु, भविष्यमा नागरिक र प्रहरीबीच मुस्कानसहितको सेवा तथा सुमधुर सम्बन्ध विकास गर्नु रहेको इलाका प्रहरी कार्यालय धकधइले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि रुपन्देही जिल्ला प्रहरी प्रमुख जनक शाहीले नागरिकबाट आएका गुनासा र सुझाव सुन्ने, लागूऔषध तथा कुलतबाट युवालाई जोगाउने र साइबर अपराधबारे जनचेतना फैलाउने विषयमा जानकारी गराउनुभयो। उहाँले चाडपर्वको समयमा समुदाय र प्रहरीबीच समन्वय कायम गर्दै अपराधजन्य गतिविधि रोकथाममा प्रहरी र नागरिक दुवैको उत्तिकै दायित्व रहेको बताउनुभयो।
इलाका प्रहरी कार्यालय धकधइका प्रहरी निरिक्षक रामभक्त भट्टराईले स्वागत मन्तव्यका क्रममा प्रहरीको काम–कर्तव्यका विषयमा आएका रचनात्मक सल्लाह–सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम रोहिणी वडा नं. ३ का वडाध्यक्ष एवं रोहिणी गाउँपालिका प्रवक्ता वीरबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रहरी सहायक निरिक्षक सुमन नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा निजामुद्दिन पठान, नरसिंह चौधरी, वीरेन्द्र कुमार, कुर्बान अलि, सरोज कुमार पाण्डे, वडा अध्यक्ष इन्द्रमान चौधरी, तारानाथ यादव, घनश्याम सिंह क्षेत्री, कृष्ण चन्द्र मिश्र, भौतिक पूर्वाधार मन्त्रालयका स्वकीय सचिव जितेन्द्र यादव लगायतका व्यक्तिहरूले नागरिक सुनुवाईमा आफ्ना गुनासा र सुझाव राखेका थिए।