लुम्बिनीखबर
भैरहवा, ५ असोज । लुम्बिनीमा जारी ग्रेटर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा शनिवार पुरातात्त्विक सम्पदा संरक्षण, जोखिम नक्साङ्कन तथा भौतिक योजनाका विषयमा विज्ञहरूले धारणा राखेका छन्। ‘रिस्क म्यापिङ’ र ‘फिजिकल प्लानिङ’ विषयक प्यानल छलफलमा युनेस्कोको आर्कियोलोजिकल एथिक्स एन्ड प्राक्टिस विभागका प्रमुख प्राध्यापक रनिङ कनिङघम, आईसीओएमओएसको वैज्ञानिक समितिका महासचिव डा. काई वाइज तथा नेपाल पुरातत्व विभागअन्तर्गत विश्व सम्पदा शाखाका प्रमुख देवेन्द्र भट्टराई प्यानलिस्टका रूपमा सहभागी हुनुहुन्छ।
सो अवसरमा प्राध्यापक कनिङघमले ग्रेटर लुम्बिनी क्षेत्र परियोजना कार्यान्वयनमा युनेस्कोले विशेष सहयोग गर्ने बताउनुभयो।आईसीओएमओएसका महासचिव डा. काई वाइजले पुरातात्त्विक सम्पदा संरक्षणमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागीहरूले स्थानीय समुदायको सहभागिता, पुरातात्त्विक सम्पदाको संरक्षण, जोखिम व्यवस्थापन तथा लुम्बिनी क्षेत्रको दीर्घकालीन विकाससँग सम्बन्धित विषयमा विज्ञहरूसँग जिज्ञासा राखेका थिए।
प्यानल छलफलअघि सम्मेलनमा सहभागी विज्ञ तथा सरोकारवालाले लुम्बिनी र तिलौराकोट क्षेत्रको स्थलगत भ्रमण गरेका छन्। युनेस्कोको संयोजनमा शुक्रबारदेखि लुम्बिनीमा सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय सम्मेलनमा ग्रेटर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण, आध्यात्मिक पर्यटनको विकास तथा दीर्घकालीन विकासका विषयमा छलफल भइरहेको छ। सम्मेलनले बृहत्तर लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण र विकासलाई प्रभावकारी बनाउने विषयमा निष्कर्ष निकाल्ने जनाइएको छ।