पशुपति यादव । लुम्बिनीखबर
रोहिणी, ७ असोज । रूपन्देहीको ओमसतिया गाउँपालिकामा बुधबार सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतको अधिवेशनबाट अखिलेश्वर कुमार पाण्डे सभापति पदमा सर्वसम्मतिबाट चयन भएका छन्।
हाल ओमसतिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्षसमेत रहेका पाण्डेलाई पार्टी कार्यकर्ताहरूले पूर्ण विश्वासका साथ नेतृत्व सुम्पेका हुन्। स्थानीय तहको निर्वाचित प्रतिनिधिको रूपमा सक्रिय रहँदै आएका उहाँले वडास्तरका विकास निर्माण, जनसेवा र पार्टी संगठन दुवै क्षेत्रमा अनुभव हासिल गर्दै आएका छन्। सर्वसम्मत चयनले उहाँप्रतिको कार्यकर्ताको अपार विश्वास र पार्टीभित्रको एकता झल्काएको छ।
पाण्डेको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति गठन भएको छ। अधिवेशनमा चयन भएका सभापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूले सपथ ग्रहण गरेका थिए। सपथपछि नवनिर्वाचित सभापति पाण्डेले पार्टीप्रति पूर्ण निष्ठा राख्दै संगठनलाई थप मजबुत, अनुशासित र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कार्यकर्ता एकता कायम राख्दै पार्टीका सिद्धान्त, विचार र संगठन विस्तारमा विशेष जोड दिने बताउनुभयो।
स्थानीयस्तरमा सक्रिय रहँदै आएका पाण्डेले वडा कार्यालयको सेवा प्रवाहदेखि पार्टीका गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उहाँको अनुभव र नेतृत्व क्षमतालाई मध्यनजर गर्दै अधिवेशनले सर्वसम्मतिबाट जिम्मेवारी सुम्पेको हो। अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने नयाँ नेतृत्वले पार्टीका आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा कार्यकर्ताहरूले गरेका छन्।