logo
  • १८ असोज २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीमैत्री शैक्षिक वातावरणमा जोड


    १८ असोज २०८३ , आइतबार

    भैरहवा बहुमुखी क्याम्पसमा विद्यार्थीमैत्री शैक्षिक वातावरणमा जोड

    लुम्बिनीखबर
    भैरहवा, १८ असोज । भैरहवा बहुमुखी क्याम्पसमा नवप्रवेशी विद्यार्थीलाई अध्ययनका लागि सहज र विद्यार्थीमैत्री वातावरण निर्माण गर्ने विषयमा जोड दिइएको छ। शैक्षिक वर्ष २०८३ का लागि व्यवस्थापन सङ्कायमा भर्ना भएका प्रथम वर्षका विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रममा क्याम्पसको शैक्षिक अवस्था, विद्यार्थीलाई उपलब्ध गराइने सेवा तथा अध्ययनका क्रममा अपनाउनुपर्ने विषयमा जानकारी गराइएको हो। कार्यक्रममा क्याम्पस प्रमुख लक्कीप्रसाद जोशीले विद्यार्थीको अध्ययनलाई सहज बनाउन आवश्यक शैक्षिक सामग्री तथा सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो। क्याम्पसको शैक्षिक वातावरणमा सुधार गर्न विद्यार्थीका सुझाव र गुनासोलाई समेत प्राथमिकतामा राखिने उहाँले बताउनुभयो। कुनै समस्या वा कमजोरी देखिएमा प्रशासनलाई जानकारी गराउन आग्रह गर्दै उहाँले क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    विसं २०२४ मा स्थापना भएको क्याम्पसले लामो समयदेखि उच्च शिक्षाको क्षेत्रमा योगदान पु¥याउँदै आएको उल्लेख गर्दै जोशीले यहाँबाट अध्ययन पूरा गरेका विद्यार्थी विभिन्न पेशा, व्यवसाय तथा जिम्मेवार पदमा रहेर राष्ट्रको विकासमा योगदान गरिरहेको बताउनुभयो। अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई रोजगारीका अवसरसँग जोड्नसमेत क्याम्पसले पहल गर्दै आएको उहाँले जानकारी दिनुभयो। एमबीएका निर्देशक डा। सहदेव भट्टले क्याम्पसको शैक्षिक वातावरणमा पछिल्लो समय सकारात्मक परिवर्तन आएको बताउनुभयो। उहाँले विद्यार्थीलाई नियमित अध्ययनसँगै व्यावहारिक ज्ञान, सीप र अनुशासनमा ध्यान दिन आग्रह गर्नुभयो।

    विद्यार्थी कल्याण प्रमुख अरुणा भुसाल तिवारीले विद्यार्थीका शैक्षिक तथा अन्य समस्याको समाधानका लागि क्याम्पस प्रशासन सहयोगी भूमिकामा रहने बताउनुभयो। उहाँले विद्यार्थीको अध्ययनलाई प्रोत्साहन गर्न क्याम्पसले विभिन्न प्रकारका छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। क्याम्पसमा व्यवस्थापन सङ्कायअन्तर्गत विगत ४५ वर्षदेखि बीबीएस कार्यक्रम सञ्चालन हुँदै आएको छ। चारवर्षे बीबीएस अध्ययन पूरा गरेपछि विद्यार्थीले क्याम्पसमै स्नातकोत्तर तहका विभिन्न कार्यक्रम अध्ययन गर्ने अवसर पाउने जनाइएको छ। हाल क्याम्पसमा एमबीएस, एमबीएम र एमबीएलगायतका कार्यक्रम सञ्चालनमा छन्। कार्यक्रम संयोजक तथा सहायक क्याम्पस प्रमुख दिवाकर पाण्डे, विभागीय प्रमुख उपप्राध्यापक रामराज शर्मा, एमबीएका निर्देशक प्रकाश भट्टराई, बीबीएका निर्देशक उज्ज्वल अधिकारी र सहायक क्याम्पस प्रमुख गणेश पाण्डेलगायतले विद्यार्थीलाई उच्च शिक्षा सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रममा विद्यार्थीले विभिन्न सांस्कृतिक तथा नृत्य प्रस्तुति प्रस्तुत गरेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.