पशुपति यादव/लुम्बिनीखबर
रोहिणी, २७ असोज । “पर्यटन, उद्योग, कृषि र व्यापार राष्ट्रिय समृद्धिको आधार” भन्ने मूल नाराका साथ दशौं लुम्बिनी राष्ट्रिय महोत्सव मेला भैरहवामा सञ्चालन हुने भएको छ।
सिद्धार्थनगर उद्योग वाणिज्य संघको आयोजनामा यो मेला मंसिर १७ गतेदेखि २८ गते (सोमबार) सम्म चल्नेछ। संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले पत्रकार सम्मेलनमा यसको जानकारी गराउँदै मेलाको उद्देश्य स्वदेशी गुणस्तरीय वस्तु तथा सेवाको उपभोगप्रति उपभोक्तालाई जागरुक बनाउनुका साथै सीमावर्ती बजारमा पाइने समान वस्तुको तुलनात्मक मूल्यबारे जानकारी दिनु रहेको बताए।
उनले उद्योगी–व्यवसायीको पेशागत हकहितको संरक्षण गर्दै उद्योग–व्यापारको विकास, विस्तार र आर्थिक गतिविधि बढाउने लक्ष्य पनि मेलामा रहेको स्पष्ट पारे।
मेलामा स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी र व्यापारिक प्रतिष्ठानहरूबाट गरी करिब ३०० स्टल रहनेछन्। आउने दर्शकहरूलाई शान्तिका अग्रदूत महामानव गौतम बुद्धसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्रामका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणको व्यवस्था मिलाइने अध्यक्ष आचार्यले बताए।
महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्धनसँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने विश्वास आयोजक पक्षले लिएको छ। साथै यस क्षेत्रका विभिन्न जातजाति, भाषाभाषीहरूको कला–संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा पनि जोड दिइएको छ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मी र सल्लाहकारहरूले सुझाव दिएका थिए।