लुम्बिनीखबर
भैरहवा,०६ मंसिर रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा आगो लगाएर वातावरण प्रदूषण गर्नुका साथै सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको आरोपमा पाँच जना प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार शनिबार नगरपालिकाको विभिन्न वडा क्षेत्रमा आगो लगाई धुवाँ उत्सर्जन गरेर वातावरण प्रदूषित गर्ने तथा आगजनीमार्फत गम्भीर जोखिम बढाउने कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा पर्नेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियाका ३५ वर्षीय इमताज अहमद, वडा नम्बर ६ पर्साका २५ वर्षीय मोहम्मद इर्फान फकिर, वडा नम्बर ७, एकलाका ५० वर्षीय राधेश्याम यादव, वडा नम्बर ६ तकियातालका ४३ वर्षीय राजेश गुप्ता र वडा नम्बर ३, पडरियाका ३४ वर्षीय रमेश चमार छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रचलित कानुनबमोजिम वातावरण प्रदूषित गरी धनजनको क्षति हुने दण्डनीय कार्य नगर्न सर्वसाधारणलाई प्रहरीले सचेत गराएको छ । पछिल्लो समय रुपन्देहीमा धान भित्र्याएपछि खेतमा रहेको परालमा आगो लगाउने चलन व्यापक छ । यसले वातावरण प्रदूषण गर्नुका साथै मानव स्वास्थ्यमा जोखिम बढाउने र आगलागीको जोखिम समेत बढाएको छ ।