लुम्बिनीखबर
भैरहवा , ८ मंसिर । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीय उत्पादनका स्टल दर्शकको आकर्षण बनेका छन् । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको मेलामा नगरपालिकासँगको सहकार्यमा स्थानीय उत्पादनका २६ स्टल राखिएका छन् ।
स्थानीय उत्पादनको बजारीकरण र साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले राखिएका स्टलमा दर्शकको आकर्षण बढेको संघका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताउनुभयो । ती स्टलमा हस्तकला, खाद्यान्न, खेलौना, अचारलगायत स्थानीय उद्यमीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएको संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनीले जानकारी दिनुभयो ।

मेलामा सांगीतिक कार्यक्रम, दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र सिङ्गिङ आइडल सञ्चालन भइरहेका छन् । यसैगरी २१ विद्यालयका १९५ विद्यार्थी सहभागी अन्तरविद्यालय कराँते प्रतियोगितासमेत आयोजना गरिएको छ । मेलामा उद्योग, व्यापार, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी करिब ३२५ स्टल रहेका छन् । १४ दिनसम्म सञ्चालन हुने मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।