मेरो शङ्का डीएसपी विश्वमणी पोखरेलमाथि छ .छोरी प्रवीन अग्रवाल
भदौ २३ . मनोज भुजेल
इटहरी – आठ वर्षअघिको इटहरीको एउटा बहुचर्चित अग्रवाल दम्पती हत्या प्रकरण । जहाँ आफ्नै पसलमा निर्मम तवरले इटहरीका चर्चित हार्डवेयर व्यवसायी कैलाश अग्रवाल र उनको श्रीमती कान्तादेवीको हत्या भएको थियो ।
खुकुरी र बेल्चाको मद्दतले दुवैलाई बाँधेर हत्या गरिएको थियो । मुखमा पट्टी अनि हात डोरीले बाँधिएको अवस्थामा उनीहरुको शव कैलाश हार्डवेयरमा फेला परेको थियो । इटहरीबाट पूर्वका विभिन्न स्थानमा अग्रवालले आरती स्टिप्सका आधिकारिक बिक्रेता रहेर जस्ताको व्यापार गर्दथे ।
हत्या भयो तर यतिका वर्षसम्म पनि हत्यामा संलग्न दोषी भने पक्राउ पर्न सकेनन् । आँठ वर्षमा ५ जना प्रहरी निरीक्षक र दुई डीएसपी परिवर्तन भए तर घटनाको वास्तविकता न बाहिर आयो न दोषी नै पक्राउ परयो ।

२०६४ साल चैत ५ गते व्यवसायी अग्रवाल दम्पतीको हत्या भएको थियो । त्यस बेला इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखको रुपमा थिए प्रहरी निरीक्षक विश्वमणि पोखरेल । पोखरेल अहिले डीएसपी भइसकेका छन् ।
उनको समयमा भएको अग्रवाल दम्पती हत्या प्रकरणको विषयमा घटनाको अनुसन्धान त भयो तर दोषी कारण र वास्तविकता भने सार्वजनिक गर्न सकेनन् । घटनामा संलग्न केही शङ्कस्पद व्यक्ति पक्राउ गर्नुबाहेक उनले केही गरेनन् ।
घटनाको विषयमा उघोग वाणिज्य सङ्घ सुनसरी, उघोग वाणिज्य सङ्घ इटहरीले तथा नागरिक समाज इटहरीले महिना दिनसम्म अग्रवाल दम्पती हत्या काण्डको विषयमा आवाज उठाएका थियो । महिनौँ बित्दासमेत प्रहरीले घटनाको दोषी तथा घटनाको सही तथ्य बाहिर नल्याएको भन्दै उनीहरुले प्रहरीलाई नै शङ्का गरेका थिए ।
व्यवसायी तथा इटहरीवासीले घटनाको वास्तविकता लुकाउन खोजेको भन्दै प्रहरी निरीक्षक विश्वराज पोखरेल, तत्कालीन सुनसरीका एसपी यादवराज खनाल र त्यस समयका पूर्वक्षेत्रका डीआईजी रवीन्द्रप्रताप शाहको संलग्नता भएको आरोपसमेत लगाएका थिए ।
पछि व्यवसायीको आग्रहमा नेपाल प्रहरीको हेडक्वाटरबाट तत्कालीन एसएसपी भक्तिनाथ माझीको टोलीले पनि हत्याको अनुसन्धान गरेको थियो । तर हेडक्वाटरको छानविन टोलीले पनि घटनाको रिपोर्ट बाहिर ल्याएन । अञ्चल प्रहरी कार्यालय कोशीले पनि घटनाको अनुसन्धान गरयो तर रिपोर्ट सार्वजनिक भएन ।
घटना भएको वर्ष दिन बित्दासमेत प्रहरी सङ्गठनले तथ्य कुरा बाहिर नल्याएपछि व्यवसायीहरुको टोलीले त्यस समयका प्रधानमन्त्री स्व. गिरीराजप्रसाद कोइराला तथा गृह मन्त्रालयसम्म पुगेर घटनाको विषयमा ध्यानकर्षण गराएका थिए ।
पछि गृह मन्त्रालय र नेपाल प्रहरीले घटनाको विषयमा बुझेर पनि चुप लागेपछि अग्रवाल हत्याकाण्ड निकै ठूलो रहस्यमय बन्यो । घटनालाई प्रहरीले अहिलेसम्म ढाकछोप गर्ने प्रयास गरिहेको छ ।
अहिले इटहरीमा अग्रवाल दम्पती हत्याकाण्ड काल्पनिक कथाजस्तै बनेको छ । रातोपाटीले यस घटनालाई फेरि पनि छानविनको दायरामा ल्याउनु पर्छ भन्ने उद्देश्यका साथ तथ्य बाहिर ल्याउने प्रयास गरेको छ ।
सम्भवत नेपाल प्रहरीको इतिहासमा पछिल्लो निकायबाट केश बन्द गर्न लगाइएको पहिलो घटना हो ।
हत्यामा संलग्न दोषी को हो ? किन हत्या गरियो ? भनी प्रहरी अधिकृतलाई प्रश्न गर्दा बोल्नसमेत चाहँदैनन् ।
२०६४ सालका इटहरीका प्रहरी निरीक्षक (हाल डीएसपी) विश्वराज पोखरेल खुलेर बोल्न चाहँदैनन् । जमनाको कुरा हो, मैले त बिर्सिसकेँ । पोखरेलले भने प्लिज मलाई यो विषयमा नसोध्नु होला ।
घटना भएको हो, मैले एक जनालाई पक्राउ गरेर जेल पनि हालेको हुँ । पोखरेलले भने यो माथिल्लो लेभलको कुरा हो, मलाई थाहा छैन । त्यस समयका सुनसरीका प्रहरी उपरीक्षक यादवराज खनाल (हाल एसएसपी) ले पनि घटनाको विषयमा केही बोल्न चाहेनन् ।
मृतक कैलाश अग्रवाल उघोग वाणिज्य सङ्घ इटहरीका आजीवन सदस्य थिए । २०६४ सालमा उवासङ्घ इटहरीका अध्यक्ष टङ्कप्रसाद दुलाल थिए । अहिले दुलाल पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष छन् ।
यो हत्याकाण्ड अनुसन्धान तुहाउन खोजियो । सबैले बिर्सिए पनि हामीले यो विषयमा फेरि छानविन गर्नुपर्छ भन्ने सोचमा छौँ, उवासङ्घ पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष दुलाले भने । प्रहरीले नै घटना लुकाउन खोज्यो, हामी व्यवसायीले सबैले दबाब दियौँ तर केही गर्न सकिएन ।
हाम्रो शङ्का प्रहरीमाथि छ, नत्र खै त घटनाका दोषी र कारण ? उनले प्रश्न गरे । समय बिते पनि घटनाको सही तथ्य बाहिर आउनु पर्छ र दोषीलाई कारबाही गर्नुपर्छ दुलालले भने हामी यो विषयमा फेरि छानविन गर्नुपर्छ ।
यता हत्या गरिएका कैलाश अग्रवालका छोरी प्रवीन अग्रवालले बुबा ममीको हत्याका दोषीलाई प्रहरीले आर्थिक प्रलोभनमा परेर पक्राउ गर्न नसकेको आरोप लगाए । घटनाको अनुसन्धानको क्रममा त्यस समयका इन्सपेक्टर विश्वमणि पोखरेल स्वयंले प्रमाण नष्ट गर्ने कार्यमा संलग्न भएको उनले बताए ।
मेरो शङ्का विश्वमणी पोखरेलमाथि छ, उनले भने घटनास्थलको प्रमाण नष्ट उनले नै गरेका हुन् । पछि अनुसन्धानका लागि ल्याइएको प्रहरीको कुकुर पनि पोखरेलमाथि झम्टिएको उनले बताए ।
प्रहरीलाई सबै थाहा छ घटनाको दोषी को हो र किन भयो भनेर तर यहाँ आर्थिक प्रलोभनमा पेरर छानविन रिपोर्ट गायब बनाइयो । प्रवीन भन्छन्, प्रहरी पैसामा बिकेर घटना अहिलेसम्म रहस्यमय बनाइयो । फेरि पनि छानविन भए विश्वराज पोखरेलबाट पहिलो छानविन सुरु गर्नुपर्ने उनको माग छ ।
यो देशमा कानुन छ भने कृपया मेरो बुबाआमाको हत्यारा पक्राउ गरियोस्, प्रवीनले भने । यहाँ धेरै ठूला मान्छेहरु पैसामा बिकेका छन् .
रातोपाटी वाट