भैरहवा, भदौं २६ । यातायात क्षेत्रमा हुने सिन्डीकेटले पर्यटन क्षेत्रमा नकरात्मक असर परेको सिद्धार्थ एशोसियसन अफ ट्राभल एण्ड टुर एजेन्ट (साट्टा) रुपन्देहीको आठौं अधिवेशन तथा १७ औं साधरण सभामा बोल्ने वक्ताहरुले बताएका छन् ।
विश्व पर्यटनको केन्द्र लुम्बिनीको प्रवेशद्वार भैरहवामा आयोजित सभामा शुभकामना मन्तब्य राख्दै पर्यटन कार्यालय भैरहवाका प्रमुख ख्याम बहादुर थापाले पर्यटन कार्यलयले पर्यटक बसकोलागी सहजै सिफारिश गरिरहेको बताए ।

लुम्बिनी पर्यटन क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका निर्देशक समेत रहेका थापाले केही यातयात समितीले पर्यटक बसमा सिन्डीकेट कायम राख्न खोजेको जानकारी पाएता पनि आफुले त्यसलाई निस्तेज पार्न भूमिका खेल्ने पनि जनाए ।
थापाले लुम्बिनी क्षेत्र धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक दृष्टिले पूर्ण भएता पनि सही ढंगले व्यवस्थापन गर्न नसक्दा उल्लेख्य प्रगति गर्न नसकेको पनि स्वीकारे ।
साट्टाका अध्यक्ष कृष्ण प्रसाद अधिकारी (सागर)ले पर्यटक बोक्ने हरियो नम्बर प्लेटको सन्चालनमा बारम्बार अवरोध आउने गरेको तीतो यथार्त सुनाउदैं अब मन्त्रालय स्तरबाटै पहल भएकोले सो समस्या हटेर जाने विश्वास व्यक्त गरे ।
अध्यक्ष सागरले आफु नेतृत्वको साट्टा र नाटाको पहलमा हरियो नम्बर प्लेटको सवारी साधन सन्चालनमा सहजता आएको पनि दाबी गरे । उनले सार्क देश स्तरीय सवारी साधको रुट खोल्न पनि आवश्यक भएको जनाए ।
साट्टाका संस्थापक अध्यक्ष विष्ण्ुा प्रसाद शर्माले नाका क्षेत्रमा भारतीय गाइडले सिन्डीकेट लगाउँदा एकातिर समस्या सृजना भएको छ भने अर्कोतिर पर्यटकहरु स्वतन्त्रपूर्वक सवारी साधनको प्रयोग गर्नबाट यातयात व्यवसायीले बन्चित गराएकोमा आक्रोस व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका शर्माले पर्यटकले रोजाइको सवारी साधनमा आवतजावत गर्ने सहज बातवरण गराउनुपर्नेमा जोड दिए ।
सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले ट्राभल्स व्यवसायीहरु होटल व्यवसायीहरुको मुटु भएको जनाउदैं होटलको भविष्य ट्राभल्सको हातमा रहेको बताउदैं बाह्य र आन्तरिक पर्यटकको व्यवस्थापनमा जुनसुकै बखत पनि ट्राभल व्यवसायीलाई सहयोग गर्न तयार रहेको जनाए ।
संस्थाका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाको सन्चालन एवं संस्थापक महासचिव सन्जय बजिमयको स्वागतमा सम्पन्न उक्त सभामा गौतम बुद्ध विमानस्थलका प्रमुख निर्देशक शिशिल चित्रकार, उद्योग व्यापार संगठनका महासचिव अनिल ज्ञवाली लगायतले बोल्दै मुलुकको समृद्धिको आधार पर्यटन क्षेत्र भएकोले सबै पर्यटन व्यवसायी एक भएर योजना बनाउनुपर्ने पनि जनाए ।
उक्त अवसरमा संस्थाका महासचिव दिनेश मल्लले वार्षिक प्रगतिप्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष मनोरन्जन शर्मा, नेपाल भारत मैत्री समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सिद्धार्थ अग्रवाल, संस्थाका निवर्तमान अध्यक्ष श्रीचन्द गुप्ता, सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य रवि श्रेष्ठ, कानुनी सल्लाहकार धर्म खड्का लगायतको आतिथ्यता रहेको थियो ।