logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पुजारी धनी, देवता गरिब


    ५ असोज २०७३ , बुधबार

    पुजारी धनी, देवता गरिब

    22292770532_9f343f2dea_b
    पोखरा, असोज ५

    धन दौलत वा सुखसुविधाका लागि मान्छे देवीदेउता पुकार्छ । भक्ति आराधना गर्छ, र पूजापाठ पनि देवीदेउताकै गर्छ। पोखरा र सेरोफेराका बासिन्दाले मनोकांक्षा पूरा गर्न सबैभन्दा धेरै पुकार्ने र हृदयदेखि मान्ने देवी विन्ध्यवासिनी हुन् । तर यिनै देवी भने आफैलाई पूजाआज गर्ने पुजारीभन्दा धेरै गरिब भएकी छिन् । कारण सिधा छ—देवीका नाममा भक्तजनहरुले चढाउने सबै दक्षिणा पुजारीले लिनु।
    ३ सय वर्ष हाराहारी पुरानो र पुरातात्विक महत्वको विन्ध्यबासिनी मन्दिरको भेटी अहिलेसम्म पनि पुजारीकै पोल्टामा जाँदै आएको छ । पुजारीकै भनाइअनुसार १८४४ सालमा कास्कीका राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर दिइ पुजारीको जिम्मेवारी पुम्पेका थिए । त्यही लालमोहरका आधारमा पाध्याका सन्तानले मन्दिरको पूजाआजा गर्दै दक्षिणा पनि आफैं लिने गरेका छन् ।

    मन्दिरमा कम्तीमा पनि महिनाको ४ लाख रुपैयाँ भेटी संकलन हुन्छ । यो विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अनुमान मात्रै हो ।

    ‘विन्ध्यवासिनी आएका भक्तजनमध्ये यही परिसरकै राधाकृष्ण मन्दिरमा १० प्रतिशत भक्तजन जान्छन्’, समिति अध्यक्ष गणेशबहादुर श्रेष्ठ भन्छन्, ‘त्यहाँ त महिनाको ३० हजार जति भेटी संकलन हुन्छ र अर्काे शिव मन्दिरमा कहिले लाख कहिले डेढ लाख जम्मा हुन्छ भने विन्ध्यवासिनीमा ४ लाख रुपैयाँ जति हुनुपर्छ भन्ने अनुमान हो ।’

    त्यसो त मन्दिरको दैलाछेउमा राखिएको दानपेटिकामा मात्रै पनि महिनाको १ लाख रुपैयाँ जति जम्मा हँुदै आएको उनी बताउँछन् । ‘जब कि दानपेटिकामा कमैले पैसा खसाल्छन्, धेरै त देवीकै चरणमा राख्छन्,’ अध्यक्ष गणेशले भने, ‘कतिपय भारतीय भक्तजनले त झन् सुनचाँदी जस्ता बहुमूल्य धातुसमेत मन्दिरमा भेटी चढाउँछन् ।’

    तर, विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मर्मतसम्भार, पुनर्निमाण वा नयाँ निर्माणको कामका लागि धार्मिक क्षेत्र विकास समितिले दान चन्दाको भर पर्नुपरेको सचिव तीर्थ श्रेष्ठ सुनाउँछन् । भन्छन्, ‘देवी गरिब, पुजारी धनी भएपछि यस्तै हो ।’

    राजाको छोरा स्वतहः राजा हुने व्यवस्था खारेज भइसक्दा पनि पुजारीका सन्तान पुजारी हुने चलन विन्ध्यवासिनीमा अझै हटेको छैन । राजगद्दीमा राजाका छोराको स्वतहः हक लागे जस्तो मन्दिर र यसको भेटीघाटीमा पुजारीका पुस्तापुस्ताले हकभोग गर्दै आएका छन् । हुनेवाला राजालाई राजपाठको शिक्षा लिनुपर्ने अनौपचारिकै नियम हुन्थ्यो । तर यहाँ पूजाआजका विधिविधानसम्म नसिकी पुजारीका सन्तानहरु पुाजी बनिरहेको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ बताउँछन् ।

    विन्ध्यवासिनीको मन्दिरका मूल पुजारी रुद्रनाथ पौडेल हुन् । उनले ६ महिना पूजाआज गर्छन् । उनकै बाबुका दाजुभाइका छोराहरुबीच अर्काे ६ महिनाको अंशबन्डा छ पूजाका लागि । अर्काे ६ महिना श्रीराम, बाबुराम, माधव, कालिका, कृष्णप्रसाद पौडेलले पुजारीको काम गर्छन् ।

    सचिव तीर्थका अनुसार सरकारले पशुपति विकास कोषको छुट्टै ऐन ल्याएजस्तो अरु मन्दिरका लागि पनि कानुन बनाएर भेटीघाटी नियमन गर्नुपर्ने सुझाउँछन् । भन्छन्, ‘हामी संघसंस्था ऐन अन्तर्गत दर्ता भएर चलेका छौं, सरकारबाट नियुक्त होइनौं, भेटी खोस्ने र कानुनी लडाइँमा जाने हक हामीसँग छैन ।’ मूल पुजारी रुद्र पौडेल पनि सरकारले कानुनी व्यवस्था गरे भेटी बुझाउन र आफूहरुलाई व्यवस्था हुनेअनुसार को तलबमा काम गर्न मञ्जुर रहेको सुनाउँछन् ।आजको अन्नपूर्णमा केशवशरण लामिछानेले खबर लेखेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.