logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    सुनौलीमा ठगहरुको बिगबिगी


    १६ असोज २०७३ , आइतबार

    सुनौलीमा ठगहरुको बिगबिगी
    img_5026

     घर फर्किने क्रममा भारतमा लुटिएका ज्ञानराज पराजुली  । तस्बिर ः लुम्बिनीखबर

    नरेश के.सी.
    भैरहवा, असोज १६। शुक्रबार भैरहवामा नेपाल भारत सीमा सुरक्षा बैठक सम्पन्न भयो । बैठकमा भारतीय पक्षले भारतमा नेपालीहरुको पुर्ण सुरक्षा हुने, नेपालीहरुमाथी कुनै दुव्र्यवहार नहुने, नेपालीहरु कुनैपनि बहानामा नठगिने प्रतिबद्धता जनाएको २४ घन्टा बित्न नपाउँदैं शनिबार बिहानै भारतमा लुटिएका नेपालीहरु रुदैं घर फर्किरहेका थिए ।

    शुक्रबारको बैठकमा महाराजगन्जका प्रमुख (डिएम) बिरेन्द्र कुमार सिंहले नेपाली प्रतिनिधि मण्डललाई विश्वस्त तुल्याउँदै भनेका थिए “तपाईहरु विश्वास गर्नस् अब भोलि देखी नै सीमा क्षेत्रमा कुनै पनि नेपालीले दुखः पाउने छैनन् । कोही पनि ठगिने छैनन नत लुटिने छन् त्यस्तो अपराध भएमा अपराधमा संलग्नलाई कडा कारबाही गर्छौँ । ”

    डिएम सिंहले प्रतिबद्धता गरेको केही घन्टामा नै कपिलवस्तु बाणगंगा बदारीका ३४ वर्षीय ज्ञानराज पराजुली रुदैं नेपाल प्रवेश गर्दै थिए । इलाका प्रहरी कार्यालय बेलहियामा भेटिएका उनी चिन्तित देखिन्थे ।
    उनी दशँै मनाउनका लागि मुम्बईको अंधेरीबाट आफ्नो घर फर्किने क्रममा बिच बाटोमा लुटिएका रहेछन् । लुटेराले उनलाई नशालु पदार्थ खुवाएर बिच बाटोमा १४ हजार भारतीय रुपैयाँ र ३ वटा मोबाइल लुटेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अभयविक्रम शाहले बताए । उनले आफु बसमा आउने क्रममा बिच बाटोमा एउटा अण्डा खाएको त्यसपछि सिमाना सुनौली सम्म आउँदा आफु होसमा रहेपनि बसबाट झरे लगत्तै आफुलाई चक्कर आएपछि लुटेराले आफ्नो मोबाइल र पैसा लुटेको बताए ।

    पराजुली जस्तै भारतको सिमलामा रुखबाट स्याउ टिप्ने काम गर्ने बाग्लुङ्ग हटिया १ का रणध्वज अधिकारी पनि दशैँ मनाउनका लागि घर फर्किने क्रममा बिच बाटोमा आफु लुटिएको बताए । उनले आफु घर आउने क्रममा बसको छेउ सिटमा बसेको एक अपरिचित व्यक्तिले खान दिएको बिस्कुट खाएपछि आफु बेहोस भएको र ३५ हजार भारतीय रुपैयाँ, राहदानी र नागरिकता लुटेर लगेको बताए ।

    उनले भने पहिला त्यो लुटेराले पटक पटक पानी खानुस, चिया खानुस भनेको थियो मैले नखाएपछि उक्त लुटेराले थोरै बिस्कुट खान जबरजस्ती आग्रह गरेपछि आफुले आधा बिस्कुट खाएपछि आफु बेहोस भएको बताए । यसरी चाडपर्व मनाउन स्वदेश फर्किरहेका नेपालीहरु माथि भारतीय शहरमा लुटेराहरुले योजनाबद्ध लुटपाट मच्चाउँदां भारतीय सुरक्षाकर्मी भने रमिते बन्ने गरेका छन् ।

    विगतका वर्षमा जस्तै यस वर्ष नेपालीहरु नलुटिऊन्, दुखः नपाऊन भनेर भारतीय पक्षलाई बोलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले सबै सरोकारवाला सहित काउन्टर पार्टको बैठक बसाली दुई पक्षिय प्रतिबद्धता जाहेर गरेका थिए । तर यो घटनाले त्यो प्रतिबद्धता चिया गफमै सीमित भयो की भन्ने आशंका सृजना भएको छ । बैठकमा भारतीय पक्षले सीमावर्ती भारतीय बजार सुनौली क्षेत्रमा मेडिकल खोली लागु औषध बेच्ने मेडिकल दोकानहरु बन्द गर्ने अनौपचारीक सहमति समेत गरेका थिए तर नसालु पदार्थ सुघाएर वा खुवाएर नेपालीहरु लुट्दा समेत भारतीय पक्ष भने मौन देखिन्छ । पराजुली र अधिकारी प्रतिनिधीमूलक घटना मात्रै हुन् ।

    यसरी चाडपर्व मनाउन स्वदेश फर्किनेहरु सीमामा आएर लुटिने क्रम एकातिर छ भने अर्कोतिर सस्तो समान किन्ने होडमा भारतीय बजारमा नेपालीहरुको भीड देखिन्छ । दैनिक उपभोग्य सामग्रीको दरभाऊ नै नबुझी भारतीय बजारमा किनमेल गर्न जाँदा नेपालीहरु दिन प्रतिदिन ठगीरहेका छन् । चिनी, चियापत्ती सस्तो पाएकै भरमा भारतमा समान किन्न जाँदा दैनिक सयौं नेपाली ठगिईरहेको उद्योग व्यापार संगठन रुपन्देहीका महासचिव अनिल ज्ञवालीले जनाए ।

    संगठनले उपभोक्तालाई सचेत गराउँदैं शनिबारदेखी भैरहवामा सस्तो दोकान पनि सन्चालन गरिरहेको जानकारी दिए । उनको अनुसार सुनौलीमा भन्दा नेपालमा धेरै वस्तु सस्तो पाइने भएता पनि उपभोक्ताले दरभाऊ र गुणस्तर नुबझी जाँदा ठगिने गरेको दाबी गरे ।
    रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको  संयोजनमा सम्पन्न बैठकमा सीमावर्ति क्षेत्रका भारतीय सुरक्षा अधिकारीहरुले लागु औषध, मानव तस्करी, सीमा सुरक्षा तथा सीमा स्तम्भ, सवारी आवगमन र दुइ देशिय नागरीकको ओहरदोहर जस्ता महत्वपुर्ण विषयमा गम्भिर छलफल भएको थियो ।

    बैठकमा नेपाली पक्षको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी ढकालले नेपालीहरुको महान चाड दसै तिहार र छठ जस्तो पर्वलाई लक्षित गरी भारतको विभिन्न शहरमा रोजगारी गरि फर्कने नेपालीहरुमाथि विगतका वर्षमा बारम्बार सीमा क्षेत्रमा भारतीय प्रहरी तथा अन्य व्यक्तिबाट दुव्र्यवहार, लुटपाट लगायत अन्य अपराधजन्य कार्य हुने गरेको भन्दै यसपटक त्यस्तो कार्य नियन्त्रण गर्न भारतीय पक्षसंग जोडदार माग गरेका थिए ।

    बैठकमा भारतीय पक्षको नेतृत्व गरेका महाराजगन्ज जिल्लाका प्रमुख अधिकारी (डिएम) सिंहले नेपालीहरुको महान चाडको शुभकामना दिदैं पर्व मनाउन घर फर्किने नेपाली हुन् वा भारतीय बजारमा किनमेल गर्न जाने जो सुकै भएता पनि उनीहरु माथि हुने दुव्र्यवहार र हर्कत रोक्न भारतीय पक्षले सबै सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाएका थिए । डिएम सिंहले भारतीय पक्षले नौतनवामा ४७ हेक्टर क्षेत्रफलमा चेकपोस्ट बनाउन लागेको जनाउँदैं सो पोस्ट सन्चालनसंगै लामो समयसम्म गाडी रोकिने समस्या स्वतः टरेर जाने पनि बताए ।

    उनले लागूऔषध मुख्य चुनौती भएको बताउँदैं सुनौलीमा रहेका लागूऔषध कारोबारीलाई तत्काल नियन्त्रणमा लिने दाबी गर्दै भने “सुनौली नौतनवामा मेडिकल दोकान खोलेर लागूऔषध बेच्ने स्टोर तत्काल बन्द गर्छाँै । ” सीमावर्ती बजार सुनौलीमा किसान मेडिकल स्टोर, समीर मेडिकल, हिन्दूस्थान मेडिकल लगायतले ठूलो परिणाममा लागूऔषध बेच्ने गरेको स्रोतको दाबी छ । मेडिकलका अतिरिक्त ठूलो गिरोह मार्फत पनि कारोबार हुने गरेको लागूऔषध सहित यसअघि नेपाल प्रहरीद्वारा पक्राउ परेका व्यक्तिहरुको भनाईले पुष्टि गरेको छ ।

    सो अवसरमा महाराजगन्जका प्रहरी प्रमुख भरत सिंह यादवले नेपालमा अपराध गरेर कोही पनि व्यक्ति भारत जान्छ भने आफुहरुले तत्काल त्यसलाई पक्रेर नेपाली सुरक्षाकर्मीलाई बुझाउन तयार भएको जानकारी गराउदैं नेपाली सुरक्षाकर्मीले पनि भारतमा अपराध गरेर नेपाल आउनेलाई तत्काल गिरफ्तार गरिदिन आग्रह गरेका थिए ।

    बैठकमा सुनौली व्यापार मण्डलका अध्यक्ष विजय रौनियार, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा लगायतले व्यवसायिक सम्बन्धको बारेमा भनाई राखेका थिए । यसरी सीमावर्ती क्षेत्रका उच्च अधिकारीहरुको बैठक बसी लुटपाट ठगी र अन्य अपराध नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको केही घन्टामा नै नेपालीहरु लुटीनु ठगीनु दुखःद भएको नेपाल भारत मैत्री समाजका अध्यक्ष डा. शान्त कुमार शर्माले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.