logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    टेलिभिजन बहसमा ’क्लिन्टन विजयी’


    २५ असोज २०७३ , मंगलबार

    टेलिभिजन बहसमा ’क्लिन्टन विजयी’

    बीबीसी। अमेरिकामा राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनले टेलिभिजनमा प्रसारित बहसको दोस्रो संस्करणमा प्रतिद्वन्द्वी डोनल्ड ट्रम्पलाई पराजीत गरेको ठानिएको पछिल्ला मत सर्वेक्षणहरुले देखाएका छन्।
    तर मिजोरी राज्यको सेंट लुई शहरमा भएको उक्त तीतो बहसमा क्लिन्टनले ट्रम्पलाई पराजीत नगरेको बरु ट्रम्पले आफ्नो चुनावी अभियान ध्वस्त हुनबाट बचाएको धेरै पर्यवेक्षकहरुले बताएका छन्।
    टेलिभिजनमा प्रसारित उक्त बहसमा महिलाका बारेमा अश्लील टिप्पणी गरेको विषयमा सार्वजनिक आलोचना खेपिरहेका ट्रम्पले हिलरी क्लिन्टन र उनका पति विरुद्ध तीखो आक्रमण गरेका थिए।
    उक्त बहसमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार ट्रम्पले महिलालाई यौन दुर्व्यवहार गरेको अस्वीकार गरे र भूतपूर्व राष्ट्रपति बिल क्लिन्टन माथि खनिए।
    तीखो आक्रमण
    राजनीतिको इतिहासमै महिलाप्रति त्यस्तो दुर्व्यवहार गर्ने मानिस अर्को नभएको उनले टिप्पणी गरे।
    पतिका बारेमा ट्रम्पले गरेका टिप्पणीलाई हिलरी क्लिन्टनले सम्बोधन गरिनन्।
    बहसका सञ्चालक एण्डर्सन कूपरले ट्रम्पलाई सन् २००५ मा उनले महिलाका बारेमा अश्लील टिप्पणी गरेको भिडियोका बारेमा सोधेपछि ट्रम्पले त्यस्तो आक्रमण गरेका थिए।
    ती ७० वर्षीय खर्बपतिले ती कुरा गफ मात्रै भएको भन्दै बेवास्ता गरे।
    तीतो वातावरण

    तर त्यो भिडियोले ट्रम्पको साँचो चरित्र देखाएको क्लिन्टनले बताइन्।
    बहसका लागि २ जना उम्मेदवारहरु मञ्चमा जाँदा उनीहरुले हात मिलाएनन् र त्यो तीतो वातावरण बहसभरी कायम रह्यो।
    आफुले चुनाव जितेमा क्लिन्टनमाथि अनुसन्धान गर्न विशेष अभियोजनकर्ता नियुक्त गर्ने र क्लिन्टनले निजी इमेलबाट आधिकारिक पत्र पठाएको मुद्दामा उनी जेल जानसक्ने ट्रम्पले बताए।
    क्लिन्टन र ट्रम्पले सिरियाको द्वन्द्व र त्यसमा रुसको भूमिका, ट्रम्पका कर सम्बन्धी कागजात र आप्रवासी सम्बन्धी योजनाका बारेमा पनि बहस गरे।
    बढ्दो दबाब
    बहस शुरु हुनुभन्दा एक घण्टा अघि बिल क्लिन्टनमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएका ३ जना महिला सहित ट्रम्प एउटा पत्रकार सम्मेलनमा देखा परेका थिए।
    उनले ती महिलालाई धेरै बहादुर भन्दै प्रशंसा गरे।
    सन् २००५ मा ट्रम्पले महिलाका बारेमा अश्लील टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि ट्रम्पमाथि धेरै दबाब परेको छ।
    भिडियो शुक्रबार सार्वजनिक भएपछि सांसद र राज्यका गभर्नरहरु सहित कम्तीमा ३३ जना वरिष्ठ रिपब्लिकन नेताहरुले उनलाई समर्थन नगर्ने बताइसकेका छन्।
    बीबीसीका एण्टोनी जर्करले भने, क्लिन्टनले ट्रम्पलाई बहसमा सीधै पराजीत गर्छिन् भन्ने उनका समर्थकहरुको आशा पुरा भएन।
    तर मत सर्वेक्षणमा अहिले क्लिन्टन अगाडि देखिएकी छिन्, त्यसैले बहस बराबरीमा टुंगिँदा उनलाई घाटा छैन।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.