
शेषनारायण भण्डारी
सामान्य बोलिचालीको भाषामा ‘मधेस’ र ‘मदेश’ दुवै शब्द उत्तिकै प्रचलित छन् । संस्कृत भाषाबाट आएका यी शब्द नेपाली भाषा र जनजिब्रोमा राम्रैसंग भिजेका छन् । ‘मधेश’ को अर्थ मध्यदेश, माझको देश भन्ने बुझिन्छ ।
यस शब्दले प्राचीनकालिक परिभाषामा दक्षिणमा बिन्ध्य, उत्तरमा हिमालय, पश्चिममा कुरुक्षेत्र पूर्वमा प्रयाग पर्ने प्राचीन मध्यदेश तथा मध्यप्रदेशलाई जनाउँदछ । ‘मदेश’ शब्दको अर्थ समथर भू–भाग, तराई, मैदानी फेदीभाग भन्ने बुझिन्छ । ‘तराई’ शब्द संस्कृत भाषाबाटै आएको हो । ‘तल’ भन्ने शब्दमा ‘आई’ प्रत्यय लागेर ‘तराई’ शब्द बनेको हो ।
माथि उल्लेखित शब्दहरुको मसिनो अध्ययन गर्दा ‘मधेश’ को अर्थ अनुसार नेपलको यो मैदानी समथल भूमि नेपालको मध्यभागमा पर्दैन । नेपालको माझमा नभई यो भूमि त नेपालको दक्षिणी क्षेत्रमा पूर्व पश्चिम फैलिएको पो छ त् । यो क्षेत्र दक्षिणमा भारतको उत्तर प्रदेश र बिहारसँग सिमाना जोडिएको छ, न कि बिन्ध्यलाई, उत्तर तर्फ चुरे पर्वतलाई हुन्छ तर हिमालयलाई हुँदैन । पश्चिममा भारतकै भूमि पिथौरागढ क्षेत्र पर्छ कुरु क्षेत्र छैन । पूर्वमा प्रयाग पनि पर्दैन । यस अर्थमा मधेश नेपालमा छैन भन्ने स्पष्ट हुन्छ ।
बुद्धकालिन समयमा नेपाल एउटा स्वतन्त्र राष्ट्र थियो । उक्त समयमा नेपाल जम्बुद्वीपको भू–भाग मध्येदेशको भू–भागमा कहिल्यै समावेश नगरिएको हुँदा उक्त पौरााणिक तथ्यका आधारमा समेत मध्यदेश नेपालमा पर्दैन । यस आधारमा नेपालमा मधेशी छन् तर मधेश छैन भनि भन्न सकिन्छ ।
उसो भए नेपालमा मधेश र मधेशीका सम्बन्धमा जे जति कुरा उठेका छन् ती के हुन् त? भनेर प्रश्न उठ्न सक्छ । यस सम्बन्धमा हामी बैदिक युगसम्म पुग्नु आवश्यक छ । बैदिक युगमा नेपालको अत्यन्त महत्वपूर्ण अंगका रुपमा मिथिला भूमि रहेको थियो भन्ने कुरा हाम्रो इतिहास, धर्मग्रन्थले पुष्टि गरेको छ । यहाँ ठूला ठूला धार्मिक, बौद्धिक बहस र छलफल हुने गरेको थियो । राजा जनक आफैमा बौद्धिक तथा धार्मिक थिए । उनले विद्वान, विदुषीहरुलाई राजदरबारमा बोलाएर उनीहरुको आदर सत्कार गर्ने गर्दथे ।
धर्म र संस्कृतिका बारेमा ठूलठुला बहस चलाउँदथे । यसै मिथिला भूमिमा ऋग्वेदका उन्नत चेतनाका सयौं ऋचाहरु श्रृजना भए । यजुर्वेद, शतपथ ब्राह्मण र बृद्ध आरण्यक उपनिषद रचिएको हो । हाम्रो छिमेकी जिल्ला अर्घाखाँचीको पणेनाको जंगल संस्कृत भाषाको पाणिनी व्याकरणको उद्गम स्थल हो भन्ने विश्वास छ । हाम्रै भूमिमा आयूर्वेदको विकास भएको हो । यही भूमिले कपिलको सांख्य दर्शनको चेतनाको बिस्तार ग¥यो । भारतबर्षमा उत्पत्ति भएर दक्षिण एशियामै फैलिएको जातिय विभेद वर्गभेदको प्रभाव नेपाली भूमीमा पनि पर्र्दैथ्यो ।
यस वर्गभेदका कारण बिकृतिपूर्ण भावना समाजमा फैलंदै गर्दा समाजमा जातजाती, उँजनीजको भावले जरा गाड्दै गर्दा त्यसको निराकरणको चिन्ता गर्दैै बौद्धदर्शनको बिजारोपण पनि हाम्र्रै भूमि कपिलवस्तुमा भएको हो ।
प्रकृति प्रदत्त सुन्दरता नेपालमा जस्तो राम्रो अन्यत्र भेटिंदैन । यहाँ हिमालय क्षेत्र, उच्च पहाड, चुरे पहाड हुँदै मैदानी समथर फाँट छ । वनजंगल, पानी, सिमसार क्षेत्र, बिभिन्न जडीबुटी, रुखबिरुवा, फलफूल, चराचुरुङ्गी, अन्नबाली, ६ वटा ऋतु आदिले गर्दा विश्वका चारैतिरका मान्छेहरु यहाँ आई बस्न थाले । ककेसस क्षेत्रबाट आएको खसजाति यहाँ प्रवेश गरे र बस्न थाले । दक्षिणबाट लिच्छवी, गोपाल, मल्ल, साहहरु यहाँ आए।
सबै जातिले यहाँ राज्य गरें । लिच्छवीकालमा राज्य व्यवस्थाको जग बलियो बनाए र लगभग ५०० बर्ष जति राज्य गरें । अन्य बिभिन्न जातिहरु पनि पटक पटक राजा भए अहिले शाहवंशको २४० बर्षे इतिहासमा हामीलाई अन्याय गरियो भन्दै बिभिन्न जातजातिका नेताहरु बरबराउने गरेको सुनिन्छ । तर इतिहासको अध्ययन गर्दा यहाँ लिच्छवी, मल्ल, गोपालवंश (यादव), मल्ल, सेन, शाह, गुरुङ्ग, मगर, थारु जस्ता धेरै जातीबाट राज्य गरेको पाईन्छ । यी अन्य जातिले राज्य गर्दा आफ्नो जाति बाहेक अरु माथी अन्याय गरेकै कारण राज्यहरु खुम्चने, फैलने भएका हुन् ।
यसरी नेपाल प्रकृति प्रदत्त सुन्दर हुँदा धेरै तिरबाट यहाँ बिभिन्न जातजातिहरु आई बसे । मध्येदेशका बज्जिहरु पनि भारतको उत्तरप्रदेश र बिहार हुँदै पेशा, व्यवसाय र रोजगारी खोज्दै नेपालको तराई क्षेत्रमा प्रवेश गरेर बस्न थाले । नेपालको एकिकरण पश्चात यहाँको तराईको भू–भागमा वनजंगल रहेको थियो । खेतियोग्य जग्गा थोरै थियो त्यसैले वन बुट्यान फडानी गरेर खेतीयोग्य जग्गा बनाउन उत्तरका पहाड बासीले मात्र सम्भव थिएन । राज्यकै तर्फबाट दक्षिणी क्षेत्रका व्यक्तिहरुलाई वन फणानी गरेर खेतियोग्य जग्गा बनाउन दिईयो ।
उनीहरुले आफ्ना साथमा बिभिन्न पेशा, व्यवसायसँग सम्बन्धित व्यक्तिहरुलाई कामदारका रुपमा संगै ल्याई राखें । त्यसरी आएका बिभिन्न जातीका मानिसहरु यहाँ स्थायी रुपमा बसे र नेपाली बने । यसैले यहाँ मधेशी भेटिन्छन् तर मधेश भन्ने भू–भाग छैन । तराईको अर्थ पहाड भन्दा तल पर्ने समथर भू–भाग मैदानी फेदी भाग हो । अहिले मधेश भनिएको नेपालको यो भू–भाग त उत्तरको चुरे र महाभारत पर्वत श्रृङखला भन्दा तल पर्दछ । यो समथर रहेको छ र उब्जाउ पनि छ ।
यस तराईमा अहिले ३ थरी समुदाय बस्दछन् (१) थारु, राजवंशी, धिमाल लगायतका आदिवासी जनजाती, (२) आफुलाई प्रष्ट रुपमा मधेशी भन्ने समुदाय र (३) पहाडी मुलका बिभिन्न जातजाति हुन् ।
राजनीतिक रुपमा एक मधेश एक प्रदेशको नारा लगाउनेको बिरुद्ध तराईको मूल जाति थारु समुदाय थारु हुन् । यिनले आफुलाई भूमिपुत्र भन्दछन् । जो बिसौं लाखको संख्यामा छन् ती समुदाय यस नाराका बिरुद्धमा जुरुक्कै उठे । यीनले खबरदारी गर्दैै भने हामी तराई बासी हौं । हामीलाई जबरजस्ती मधेशी नबनाईयोस ।
पहाडी मूलका बिभिन्न जाति–जनजाति यस नारामा सहमत हुने कुरै भएन । मधेशी समुदाय भित्रै पनि शताब्दियौँ पहिले देखि नेपाली भूमिमा बसोबास गर्दै आएका तर भारतीय भूमिमा कुनै साइनो, सम्पत्ति नभएका नेपाल एकिकरण हुनुभन्दा पहिले देखि नेपाली भूमिमा बस्दै आएका नेपालका रैथाने मधेशीहरु पनि यस कुरामा सहमत हुन सक्दैनन् । उसो भए यो नारा कसका लागि भन्दा चैते मधेशीका लागी मात्र भन्ने स्पष्ट छ । मध्य युगमा नेपालको तराईको अधिकांश भू–भाग उत्तरतिर थरुहट र दक्षिणतिर बजिहटका रुपमा जातीय र सांस्कृतिक भावनामा बिभाजित रहेको पाइन्छ । बज्जी शब्द अपभ्रंस हुँदै बाजी बन्न पुग्यो ।
तराईमा बस्ने बज्जी समुदाय र मध्यदेशीय संस्कृतिका मानिसहरु नेपालमा प्रवेश गरी बस्न थालेका यि नबआगन्तुकहरुको वर्ण, शारीरिक बनोट, लबाई भेषभूषा एक आपसमा मिल्दोजुल्दो हुँदा बिस्तारै मधेशी शब्दले आकार लिंदै लिंदै गयो ।
थारु कल्याणकारिणी सभा केन्द्रिय कार्यसमितिले मिति २०७३।११।५ गते संसद समक्ष ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्रको ७ नं. बुँदामा नेपालको अन्तरिम संविधान २०६३ मा नेपालको थरुहट–तराई प्रदेशलाई मधेश लेखिएको छ । नेपालमा मधेश भन्ने ठाउँ कहाँ छ भन्ने आठदलले देखाउन सक्नुपर्छ । संविधानमा थरुहट–तराई प्रदेशलाई मधेश नलेखि थरुहट लेखिनुपर्छ भनि उल्लेख गरेको छ ।
यस बिषयमा थप अध्ययन र बौद्धिक चर्चा आगामी दिन गरिनु जरुरी छ । आज मिलेर बसेको नेपाली समाजमा पहाडी, मधेशी, थारु, जनजाती, आदिवासी, दलित, आदि बिभिन्न नाउँमा गरिने सस्तो राजनीतिक नाराले तपाई हामीलाई गलत दिशामा लैजाँदैछ भन्ने कुरामा सचेत हुन जरुरी छ । अहिल्यै नसोंचे कहिले सोच्ने हो र ?