logo
  • ५ असोज २०८३ , सोमबार
    • ट्रेन्डिङ

    फेरि जन्मेलान् नारायण गोपाल !


    १९ मंसिर २०७५ , बुधबार

    फेरि जन्मेलान् नारायण गोपाल !

    ‘म त लालीगुराँस भएछु,
    वनैभरि फूलिदिन्छु मनैभरि फुलिदिन्छु’
    नेपाली सांगीतिक इतिहासमा एकपछि अर्का गीत दिन सफल स्वरसम्राट नारायण गोपालले संसार छाडेको मंसिर १९ गते २८ वर्ष बितिसक्दा पनि उनको नाम आज पनि उत्तिकै अमर छ ।

    ‘केही मीठा बात गर, रात त्यसै ढल्कँदै छ’, ‘आँखा छोपी नरोउ भने भन्नुपर्या छ, मुटुमाथि ढुङ्गा राखी हाँस्नुपर्या छ’, ‘झरेको पात झैँ भयो, उजाड मेरो जिन्दगी’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जे छु ठीकै छु’, ‘यो मुटुलाई कसरी सम्झाइबुझाउँ, बिरानो जिन्दगानीको सहारा एउटै भयो’ लगायत १३७ लोकप्रिय गीत दिन सफल नारायण गोपालले आफ्नो जीवनकालमा जति गीत गाए, सबै गीत त्यति नै उचाइका छन् ।
    विसं २०१६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे र त्यही बेलादेखि नै उनले आफ्नो सांगीतिक यात्रा शुरु गरेका थिए । सबैभन्दा पहिला उनले साथी मणिकरत्न स्थापितको घरमा बसी उनका काका सिद्धिरत्न स्थापितसँग हिन्दी गीत गाउन सिकेका थिए । पहिलो पटक उनले त्रिचन्द्र क्याम्पसको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा तबला बजाएका थिए ।
    उनका समकालीन अम्बर गुरुङले आफ्नो एक अन्तवार्तामा नारायण गोपालका बारेमा भनेका छन्, ‘नारायण गोपाल धेरै पिउँथे, उनी खुला हृदयले गाउँथे र सबैलाई हसाउँथे पनि । उनको गीत जति उचाइमा छ, उनको मूर्तिको पनि कुनै मूल्य छैन ।’ उनलाई स्वर सम्राटको उपमा दिइरहँदा स्वयं उनी आफूलाई स्वरसम्राट भन्न नरुचाउने व्यक्तित्व थिए ।

    ‘यो सम्झिने मन छ, म बिर्सु कसोरी
    तिमी नै भनिदेउ ए‘ जाने नि निठुरी’

    नारायण गोपाल स्वयंको शब्द र संगीतमा रहेको यस गीतमा पंकज सिग्देलले संगीत दिएका थिए । आजभोलिका गायकले शब्दको चयन नै नगरी गाएजस्तो उनको स्वभाव नरहेको संगीतकार बुलु मुकारुङ बताउँछन् ।

    ‘उहाँलाई कुनै शब्द मन नपरे, त्यो गीत गाउनुहुन्नथ्यो, त्यसैले कसै कसैले उहाँलाई घमण्डी गायक पनि भन्थे, यथार्थमा उहाँ त्यस्तो हुनुहुन्न थियो,’ मुकारुङ थप्छन, ‘उहाँ बढी साहित्य जोडिएका गीत गाउन नै रुचाउनुहुन्थ्यो ।’
    उनलाई कतिपयले बढी पिउने गायक पनि भन्ने गर्छन् । तर यथार्थमा उनलाई बदनाम गराउन खोज्नेले त्यस्तो उपमा दिएको उनी बताउँछन् । ‘आजभोलि नपिउने त को नै होलान र !’, उनले आक्रोश पोखे ।
    नारायण गोपालको भेट दार्जि्लिङ यात्राका क्रममा त्यहाँका संगीतकार तथा गीतकार गोपाल योञ्जनसँग भएको थियो । योञ्जनसँगको भेटले उनको जीवनमा नयाँ मोड लिएको थियो । भेटघाटकै क्रममा उनीहरुको मितेरी साइनोसमेत जोडिएको थियो ।
    नारायणगोपालले धेरैजसो योञ्जनका गीत नै गाए । उनलाई सीमा बाहिरका गीत पनि गाउने पहिलो गायकका रुपमा लिइने गरिन्छ । योञ्जनसँगै उनले दार्जि्लिङका हरिभक्त कटुवालका गीतसमेत गाएका थिए । ‘जुन फूल मैले टिपेको थिएँ, कसैले टिपेछ’ बोलको गीत उनले गाएका थिए ।
    दार्जि्लिङ यात्राका क्रममा नारायण गोपालको भेट पेमला लामासँग पनि भएको थियो । त्यो भेटघाटले प्रेमको रुप लिई विवाहसमेत भयो । पेमलासँगको प्रेमपछि विवाहका लागि प्रस्ताव राख्दा परिवारले नमानेपछि उनको परिवारिक सम्बन्धमा केही चिसोपना आएको थियो । जसका कारण उनी र श्रीमती परिवारबाट छुट्टिएर बस्नुपरेको थियो । उनी निःसन्तान भए पनि पारिवारिक कारणबाट कहिल्यै निराश थिएनन् ।
    विभिन्न व्यक्ति माथि उठ्न अरुको चाकडी गर्न निकै नै रुचाउने गर्छन् । अन्यभन्दा फरक शैलीका नारायण गोपाल भने कहिल्यै चाकडी गर्न रुचाएनन् । जो आफूसँग पनि चाकडी गर्न खोज्छ, उनी कहिल्यै पनि त्यस्ता व्यक्तिसँग संगत गर्दैनथे । सीमित व्यक्तिसँग मात्र मित्रता र संगत गर्ने स्वभावका नारायण गोपाल निकै गम्भीर स्वभावका थिए ।
    नयाँ व्यक्तिसँग निकै नै गम्भीर स्वभावको भए पनि उनी नजिकको व्यक्तिसँग निकै नै मिलनसार स्वभावको रहेको संगीतकार भूपेन्द्र रायमाझी बताउँछन् । संगीतकार रायमाझी भन्छन्, ‘उहाँको सदभाव, भाइचारा र मिलनसार व्यवहारको कहिल्यै प्रशंसा गरेर सकिँदैन ।’ उनले आफ्नो जीवनकालमा सीमित मात्र व्यक्तिसँग संगत गरेको उनी बताउँछन् । आफूले एकपटक भेटेको व्यक्तिलाई नारायणगोपालले कहिल्यै पनि नभुल्ने उनले बताए ।
    नारायणगोपालले आधुनिक मात्र नभई देशप्रेमका साथै चलचित्रमा समेत शब्द दिएका थिए । उनले गाएको ‘जाग लम्क चम्क हे नौजवान हो’ बोलको गीत आज पनि उत्तिकै कर्ण्प्रिय छ । ‘नारायण गोपाल एकल साँझ’ले उनलाई अझै चर्चाको शिखरमा पुर्याएको थियो । उनले आफ्ना समकालीन तारादेवी, नातिकाजी, शिवशंकर, रत्नदास, प्रेमध्वज प्रधान, बच्चु कैलाश लगायतका गायक गायिकासँग पनि विभिन्न गीतमा स्वर दिएका थिए । ‘हे कान्छा ठट्टैमा यो बैस खेर जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउँला’ बोलको गीतमा नारायण गोपाल र तारादेवीले स्वर दिएका छन् । आज यो गीतमा अन्य शब्द घुसाएर नयाँ रुप दिइएको छ ।
    उनले माधव घिमिरे, लक्ष्मीप्रसाद देवकोटा, चाँदनी शाह, क्षेत्रप्रताप अधिकारी, रत्नशम्शेर थापा, कञ्चन पुडासैनीलगायतको शब्दमा स्वर दिए । ‘वियोग’, ‘देशभक्ति’ र ‘आशा’ उनका गीतका प्रमुख विशेषता हुन् । उनले पहिलोपटक प्रेमध्वज र माणिकको संगीतमा गीत गाएका थिए। राष्ट्रिय नाचघरका प्रमुख, बागीना पत्रिकाका प्रकाशक र सम्पादकलगायत ललितकला क्याम्पसमा समेत सहायक प्रमुखका रुपमा कार्यरत उनमा कहिल्यै पनि घमण्ड भने थिएन ।
    नाचघरमा उनी कार्यरत रहँदा चलचित्र निर्देशक तथा लेखक प्रकाश सायमी संगीतका क्षेत्रमा नाचघरमा काम गर्ने उद्देश्यले पुगेका थिए । सोही भेटमा नारायण गोपालले ‘अहिले खाली छैन, पछि काम पर्दा म आफैँ बोलाउँछु’ भनेको कुरा अझै सायमी स्मरण गर्छन् । पछि उनले विसं २०३९ मंसिर २१ गते सायमीलाई कार्यक्रम सञ्चालन गर्नका लागि बोलाएका थिए ।
    सोही भेटघाटपछि दुईजनाबीच आत्मियता बढ्दै गएको उनी बताउँछन् । सायमी भन्छन्, ‘सायद नारायण गोपालजस्तो गायक अबको १०० वर्षपछि पनि जन्मन सक्दैन ।’
    नारायणगोपाल जस्तो कामप्रति लगाव र झुकाव अहिलेका कुनै पनि कलाकारमा नरहेको उनी बताउँछन् । सायमी थप्छन्, ‘उहाँ आर्थिक अभावमा कहिल्यै पनि अरुसँग सम्झौता गर्नुहुन्नथ्यो र आफ्नो प्रशंसा पनि रुचाउनुहुन्नथ्यो ।’ नारायणगोपालबाट अहिलेका गायकले धेरै कुरा सिक्नुपर्ने निर्देशक तथा लेखक प्रकाश सायमीको भनाइ छ ।onlinekhabar bata

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.