logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    मजदुर दिवसः तातो न छारो


    १९ बैशाख २०७३ , आइतबार

    मजदुर दिवसः तातो न छारो

    भैरहवा, १९ वैशाख । आज मे १ तारिख अर्थात विश्व मजदुर दिवस । मजदुर दिवसका अवसरमा आज विश्वभर श्रमिकहरु एकै ठाउ“मा जम्मा हुने र  खुसीयाली साटासाट गर्ने गर्दछन् । विश्वमा यो दिवस मनाउन थालेको पनि १ सय २७ वर्ष पुगेछ । यसैले आजको दिनलाई १२७ औं मजदुर दिवसको रुपमा मनाइदैछ ।
    विश्वमा मनाइने हरेक खुसीयालीमा नेपाल पनि जोडतोडका साथ सहभागी हुने गर्दछ । त्यसैले होला सबै जसो पर्व, समारोह र दिवसमा सहभागी हुने नेपालले मजदुर दिवसमा पनि विशेष सहभागिता जनाउने गरेको छ । जसको कारण नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
    तराईको ४३ डिग्रीको तापक्रममा दिनहूं १५ घण्टा सम्म तप्तपी पसिना चुहाऊदैं ढुंगा बोकीरहने  महिला मजदुर हुन् वा दिनरात भाडाको रिक्सा चलाउने मजदुर अधिकांशलाई मजदुर दिवसको अर्थ नै थाहा छैन ।
    बिगत २० वर्षदेखी ज्याला मजदुरी गर्दै आईरहेका निर्माण मजदुर लाल बहादुर नेपालीलाई मे १ के हो थाहा नै छैन । हरेक दिन बिहान सखारैदेखी सिमेन्ट बालुवासंग पौठेजोरी खेल्दै विहान बेलुका हातमुख जोर्ने जोहोमा लाग्ने नेपाली २० वर्ष अगाडी जे थिए अहिले त्यही भएको बताउँछन् । उनी भन्छन् “मजदुरको हक अधिकार खै के के छन् मलाई थाहा भएन । बिस वर्ष अगाडी अलि उमेरको थिए अहिले बुढो हुन लागियो । मेरो जीवनको परिवर्तन यहि हो ।” यतिका वर्ष ज्याला मजदुरी गर्दा तपाईको जीवनमा के परिवर्तन आयो त भनी सोधेको जिज्ञासामा दिएको जवाफ हो उनको ।
    एउटा हातमा घर प्लास्टर गर्ने कर्नी लिएर प्लास्टर गरिरहेका नेपालीले भने “ के गर्ने हजुर दिन रात काम गर्नुपर्छ, काम नगरी खान पाइदैंन, जत्ति सकिन्छ बाँचुञ्जेल काम गर्ने हो । अरु त के होला र यस्तो लेवरको काम गरेर जग्गा जमिन जोर्न घर बनाउन त सकिन्न तर बालबच्चा र आफुहरुलाई विहान बेलुका खान लागाउन पुगे हामीलाई केही चाहिँदैन ।
    उनले भन्दै थिए ” मजदुर दिवस भनेको बल्ल तपाईको मुखबाट थाहा पाएँ । के गर्ने एक दिन काम नगरे त्यो दिन खान पाइदैन । हामीलाई के को मजदुर दिवस ?
    विगत ११ बर्षदेखी भाडाको ट्याक्सी चलाउदै जीवन गुजारा गरिरहेका चालक रामबहादुर शाहीलाई पनि मजदुर दिवसले खासै छोएको छैन । ठट्यौली शैलीमा उनी भन्छन् “प्रेम दिवस, आन्दोलन दिवस, आमा दिवस,  बा दिवस जे जे दिवस भएपनि काम गर्नेपर्छ । भैरहवाबाट पोखराको रिजर्भ पाएको छु । तपाईले भनेको मजदुर दिवस उतै बाटोमै होला जस्तो छ ।”
    निर्माण मजदुरको रूपमा दिउ“सो १२ बजेको टन्टलापुर घाममा भैरहवाको बर्मेलीटोलमा ढुंगा बोक्दै गरेकी एकजना महिला मजदुरले यस्ता दिवसले आफुहरु जस्तो श्रमिकको नाममा खेलबाड भएको बताईन् । नाम नबताउने शर्तमा उनले भनिन् “हाम्रा नाममा ठुल्ठुला होटलमा पार्टी प्यालेसमा भोज भतेर चल्छन् रे हामीलाई थाहै हुन्न ? ”
    एक पेटको जोहोको लागी सप्तरीबाट काम खोज्दा खोज्दै भैरहवा आएर भाडाका रिक्सा चलाउँदै आएका रिक्सा चालक मजदुरले जत्ति दुखः गरे पनि बालबच्चा पाल्न गाह्रो भएको बताए । उनले भने “हामी गरिब मान्छेलाई कसैले भन्दैन के गर्नु बालबच्चा पाल्नैकोलागी सप्तरीदेखी यहाँ आएर भाडामा रिक्सा लिएर रिक्सा चलाउदै आएको छु । दिनभरी तातो हावा, रिक्सा चलाउन पनि मुस्किल छ । बल्ल तल्ल केही पैसा कमायो कहिलेकाही“ त सा“झ भाडा तिर्न ठिक्कै हुन्छ ।”
    यी त मुलुकको सुगम जिल्ला भनेर चिनिने रुपन्देहीको विभिन्न स्थानमा काम गर्ने मजदुरहरुको केही प्रतिनिधिमूलक यथार्थ हो । हामी सहजै भन्न सक्छौं रुपन्देही जस्तो सुगम जिल्लाका मजदुरको अवस्था त यस्तो छ भने दुर्गम जिल्लामा काम गर्ने मजदुरको अवस्था कति विकराल होला । आज भन्दा १२७ वर्ष अगाडी अमेरीकाको सिकागो सहरमा त्यहा“का मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन              गरेका थिए । सो आन्दोलनलाई दबाउने हरेक प्रयास त्यहाँको साम्राज्यवादी सरकारले गरेको थियो । सोही आन्दोलनको जगमा विश्वभरका मजदुर एक भए । विश्व राजनीतिमा मजदुर आन्दोलन             परिवर्तनको कडी बन्यो, शासन सत्ता फेरिए तर मजदुरको मुक्ति हुन सकेन । मुक्ति त के नेपाली मजदुरहरुलाई मजदुर दिवसकै बारेमा थाहा छैन यो दुखःको कुरा हो । यसो हुनुको कारण राजनैतिक दल र मजदुर संगठनको कमजोरी हो ।
    नेपालमा औपचारिक र अनौपचारिक क्षेत्रमा गरी १ करोड ३० लाख मजदुरहरु रहेको मोटामोटी तथ्यांक देखिन्छ । जसमध्ये करिब ३० लाख औपचारिक क्षेत्रमा रहेको तथ्यांक छ भने बा“की १ करोडको लेखाजोखा नै छैन । १२७ औँ मजदुर दिवस मनाइरहँदा अनौपचारिक क्षेत्रका मजदुरहरुको व्यवस्थापन नै मुख्य चुनौती भएको मजदुरको क्षेत्रमा काम गर्ने नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय सदस्य उत्तम कुमार श्रेष्ठले जनाए ।
    सदस्य श्रेष्ठका अनुसार अनौपचारिक क्षेत्रका मजदुरहरुको सामाजिक सुरक्षा र हक अधिकार त परैको कुरा हो सामान्य परिचय पत्र पनि व्यवस्थापन हुन सकेको छैन । अहिले मजदुर संघसंगठनहरु परिचयपत्र उपलब्ध गराइदिने लबिङमा लागिरहेको श्रेष्ठको भनाई छ ।
    नेपाल टे«ड युनियन महासंघ (जिफन्ट), अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक), टे«ड युनियन कांग्रेस, पेशागत महासंघ, प्रजातान्त्रिक महासंघ, मधेशी टे«ड युनियन फेडेरेसन अफ नेपाल सहित ७ वटा टे«ड युनियनहरु मजदुरको क्षेत्रमा सक्रिय रहेका छन् । तर यतिका वर्ष बित्दा समेत यी टे«ड युनियनले पनि अनौपचारिक क्षेत्रका मजदुरका लागि सामान्य परिचय पत्रको व्यवस्था गर्न सकेका छैनन् ।
    अहिले देशमा के.पी ओली नेतृत्वको कम्युनिष्ट सरकार छ । सरकारमा अन्य विचार र आस्था भएका दल सहभागी भएता पनि विश्वभरका मजदुर एक हौ भन्ने नारा बोक्ने कम्युनिष्ट नेतृत्वको सरकारले पनि १२७ औं मजदुर दिवसलाई औपचारिकतामा व्यतित गर्ने बाहेक केही गर्ने हिम्मत गरेन ।  सरकारले र संघ संस्थाले औपचारिक क्षेत्रका मजदुरलाई आजका दिन बिदा दिएका छन् तर अनौपचारिक क्षेत्रका मजदुरहरुलाई भने यो दिवसको पत्तो छैन ।
    अन्र्तराष्ट्रिय श्रमिक संगठन (आइएलओ) का विभिन्न धारा, उपधारालाई अनुमोदन गरेको नेपालले यसपटक रुपान्तरण ः श्रम शक्तिको विकासबाट भन्दै  विश्वभर जस्तै  मजदुर दिवस मनाईरहेता पनि नेपालका अधिकांश मजदुरहरुलाई यो दिवसको बारेमा थाहा नहुनु बिडम्बना हो  । चिल्ला गाडीमा हुईकिदैं मजदुरको कोटाबाट विदेश सयर गर्नेहरुले हिजोका दिनमा जसरी विश्व मजदुर सम्मेलनमा अन्तराष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षरकर्ता बने कि तीनैलाई थाहा छ कि त शहरका सुविधासम्पन्न होटल र रिर्सोटमा गोष्ठी आयोजना गर्नेहरुलाई ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.