
भैरहवा । भैरहवामा श्री जगत गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वती जी महाराजको सानिध्यमा आर्शीवचन एवं आध्यात्मिक जागरण एकता विराट धर्मसभा सोमबार सुरु भएको छ । अनन्त श्री विभूषित श्री जगत गुरु शंकराचार्य कार्यसम्पादन मूल समिति सिद्धार्थनगर रुपन्देहीको आयोजनामा भैरहवामा दुई दिने आर्शीवचन एवं आध्यात्मिक जागरण एकता विराट धर्मसभा भएको हो ।
धर्म सभा सुरु हुनु अघि धर्मगुरु तथा विभिन्न धार्मिक संघ–संस्था लगायतको सहभागितामा विशाल शोभा यात्रा निकालिएको थियो । गल्लामण्डी स्थित श्री राम जानकी हनुमान मन्दिर प्राङ्गणबाट सुरु भएको शोभा यात्रा सिद्धार्थनगरका विभिन्न भागको परिक्रमा गदैै कार्यक्रम स्थल महेन्द्र सभा गृह (पटवा बैंक्वेट) मा पुगेको थियो ।
हिन्दु धर्मका सर्वोच्च धर्मगुरु मानिने चार शंकराचार्य पीठमध्येको एक भारतको उडिसास्थित गोबर्धन मठ पुरी- पीठका शंकराचार्य जगत गुरु स्वामी निश्चलानन्द सरस्वती जी महाराजले धार्मिक सभाको सम्बोधन गर्ने भएपछी नेपालका विभिन्न सहरहरुबाट हिन्दु धर्मसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधि, आध्यात्मिक व्यक्ति तथा विभिन्न मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवामा भेला भएका छन् ।
अनन्त श्री विभूषित श्री जगत गुरु शंकराचार्य कार्यसम्पादन मूल समितिका संयोजक कृष्ण प्रसाद शर्माले मठ पुरी-पीठका शंकराचार्य जगत गुरु स्वामी निश्चलानन्द सरस्वती जी महाराजको आगमनसंगै भैरहवा लगायत नेपालका हिन्दुवादीहरु निकै उत्साहित भएको बताएका छन् । उनले जगत गुरु स्वामी निश्चलानन्द सरस्वती जी महाराजको बुद्ध भूमिमा स्वागत गर्न पाउँदा खुशीको अनभुति सुनाउदै महाराजबाट नेपाल र नेपालीको लागि महत्वपूर्ण सन्देश प्रवाह हुने बताए ।
शंकराचार्यको नेपाल भ्रमणबाट नेपालमा हिन्दुराष्ट्र घोषणाका लागि दबाब सुरु हुनुको साथै सनातन धर्मको संरक्षण, सम्वर्धन र प्रवर्धनका लागि प्रभावकारी हुने अपेक्षा आयोजकको छ । आयोजक संस्था विश्व ॐकार एकता महाअभियानका अनुसार शंकराचार्यले धर्मसभामा आज र भोलि दुई दिन आशीर्वचन प्रदान गरि भोलि नै भारत फर्किनेछन् ।