logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    हरिबोधनी एकादशी मनाउनुको यस्तो छ महत्व !!


    २९ कार्तिक २०७८ , सोमबार

    हरिबोधनी एकादशी मनाउनुको यस्तो छ महत्व !!

    भैरहवा । हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

    हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ ।

    आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

    भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाईधुवाई गरि ब्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्ने गरिन्छ ।

    हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

    महाभारत ग्रन्थका अनुसार कहिल्यै भोको नबस्ने भीमसेनले पनि यस दिन ब्रत बसेका थिए । त्यसैलै अरु दिनमा ब्रत बस्न नसक्ने हिन्दू धर्माबलम्बीहरुले समेत ठूलो एकादशीको दिनमा भने ब्रत बस्नै पर्ने मान्यता रहेको छ ।

    चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ ।

    भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन पनि गरिन्छ । हरिबोधनी एकादशीको दिनमा प्रसादको रुपमा विशेषगरि सख्खरखण्ड, पिँडालु आदि कन्दमुल र फलफूल भगवान विष्णुलाई चढाएर ब्रतालुहरुले प्रसादको रुपमा खाने गर्छन् ।

    हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पिपल, दूबो र शालिग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.