logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    काम थोरै कुरा धेरै विमानस्थल


    ५ बैशाख २०७३ , आइतबार

    काम थोरै कुरा धेरै विमानस्थल

    silanays..

    नरेश के.सी.

    भैरहवा, वैशाख ५ । भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा एअरपोर्ट भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलको रुपमा रहेको यो विमानस्थलको स्तरोन्नती गर्ने भन्दै औपचारिक रुपमा  २०७१ साल माघ १ गते विहीबारका दिन तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुसील कोइरालाले  शिलान्यास गरेपछि एकाएक यो विमानस्थल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको रुपमा परिचित हुन थालेको हो ।

    nirixan
    मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछि सरकारले तत्काल वैकल्पिक विमानस्थलको रुपमा भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तराष्ट्रिय स्तरको बनाउन शुरु गरेको हो । सन् २०१४ को डिसेम्बर ३१ तरिखमा कार्यदेश पाई त्यसै अनुरुप विमानस्थलको स्तरोन्नतीको कामको लागी सन् २०१७ को जनु २ तारिख अर्थात २०७४ जेठ १९ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी टेन्डर आह्वान गरिएको थियो । मल्टीनेशनल रुपमा आह्वान गरिएको बोलपत्र अनुसार  ५ चीनिया र २ स्पेनीश ठेकेदारहरुले बोलपत्र भरेको भएता पनि चीनिया ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले टेन्डर पारी आवश्यक सम्झौता गरी निर्माण कार्य गत ०७१ को माघ १ देखी शुरु गरेको हो । कुल ६ अरब २२ करोड ५१ लख ३० हजार २ सय २७ रुपैयां ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो । सन् २०१८ जनवरी १ तारिखको दिन अन्तराष्ट्रीय विमान भैरहवामा अवतरण गराउने गरी निर्माणको ठेक्का नर्थ वेस्टले लिएको गौतमबुद्ध विमास्थलका अधिकृत अर्जुन गुरुंगले जानकारी दिए ।
    विगत
    अहिलेको गौतमबुद्ध बिमानस्थल विक्रम सम्बत २०११ सालतिर तत्कालिन यस क्षेत्रका नेताहरु डा. के आइ सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुताका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२० ÷०२१ सालताका हालको ठाउँमा स्थानान्तरण भएको समाजसेवी बालकृष्ण भट्टराईले जानकारी दिए । भैरहवा क्षेत्रमा ०२५ को दशकदेखी क्याम्पसमा अध्यापनरत भट्टराईका अनुसार तत्कालिन समय करिब १० विगाह क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाण्डौं उडान हुने गर्दथ्यो । विमानस्थल परिसर कच्ची भएतापनि पक्लिहवामा रहेको ब्रिटिश क्याम्पले बाहिरी बाटो भने पिच गरिदिएको थियो । पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र अन्चल प्रहरी कार्यालय स्थापना भएको हो । तत्कालिन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामाग्री लिएर जाँदै गरेको टकोटा विमान दुघर्टना भएको थियो । त्यो नेपालको ईतिहासमा पहिलो विमान दुर्घटना पनि हो ।

    map of airport..

    वर्तमान
    ०२३ सालदेखी नियमीत उडान भर्दै आएको भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा हाल २ सय ९७ बिगाह ७ कठ्ठा १५ दशमलब ७५ धुर जग्गा रहेको छ । ०६१ साल अघिसम्म ८४ बिगाह ३ कठ्ठा रहेकोमा ०६३ सालमा २ सय १३ बिगाह ४ कठ्ठा १५ दशमलब ७५ धुर थप भएको थियो । अहिले पुनः ०७२ फागुनमा प्रारम्भीक सूचना प्रकाशित गर्दै १४० विगाह थप जग्गा अधिग्रहण गर्नेगरी काम अगाडी बढेको छ भने अझै थप २ सय ८८ बिगाह क्षेत्रफल थप्ने गरी प्रस्ताव पनि गरिएको छ । २ सय ८८ बिगाह अधिग्रणको प्रस्ताव आदेशको रुपमा आई कार्य प्रारम्भ भएमा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय २५ बिगाह ७ कठ्ठा १५ दशमलब ७५ धुर हुनेछ । यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तराष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल अधिकृत गुरुंगको दाबी छ । दैनिक ५÷६ वटा नियमीत उडान भरिरहेको गौतमबुद्ध विमानस्थलमा अहिले सम्म सबैभन्दा ठूलो फोकर हन्ड्रेड १ सय ५ सिटे कस्मीक एअरको जहाजले उडान भरेको देखिन्छ ।
    ०७१ माघ १ तत्कालिन प्रधानमन्त्री स्वर्गिय शुशील कोइरालाले औपचारिक रुपमा स्तरोन्नती कार्यको शिलन्यास गरेसंगै यसको नामपनि परिवर्तन भई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुन पुगेको हो । निर्माणको ठेक्का पाएको नर्थ वेस्ट सिभिल एभीएशन एअरपोर्ट कन्सट्रक्शन ग्रुपले सम्झौता अनुसार कामलाई अगाडी बढाएको छ । यद्यपी बिचमा केही समय कच्चा पदार्थको अभाब देखाउदैं कम्पनिले काम रोकेको पनि थियो ।
    पछिल्लो समय के.पी ओली नेतृत्वको सरकारले यो विमानस्थललाई झनै चासो दिएर काम अगाडी बढाइरहेको छ । रुपन्देहीबाट निर्वाचित हालका अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल स्तरोन्नती कार्यमा बजेट अभाव हुन नदिने बारम्बार दृढता व्यक्त गरेसंगै यसको सुनिश्चीता झन बढेर गएको छ । प्रधानमन्त्री ओलीले पनि निर्माणधीन कामको अवलोकन समेत गदै एअरपोर्टलाई चाहिने जग्गा अधिग्रहण गर्न निर्देशन दिएसंगै थप जग्गा अधिग्रहण गर्ने नागरिक उड्डयन प्राधिकरणले तय गरेको हो । गौतमबुद्ध विमानस्थल काठमाण्डौंदेखी लुम्बिनी, राप्ती क्षेत्रमा जान आउनकोलागी एक मात्र नियमीत हवाई मार्गको रुपमा स्थापित छ ।
    प्रथम चरणमा विमानस्थलको ३ हजार मिटरको रनवे ,ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी रोड, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, नदि डाईभर्सन लगायतका भौतिक निर्माणका कार्यहरु गर्ने गरी कन्सट्रक्सन ग्रुपले ठेक्का पाएको थियो । काम शुरु भएको १५ महिना बितीसक्दा नदी डाइभर्सन अन्तरगत घाग्रा नदी डाइभर्सनकोलागी क्यानल निर्माण कार्य, नदीको पुर्व पट्टि माट्टो फिलिंग र टर्मिनल भवनको काम शुरु भएको छ । गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख ओम शर्माले सन् २०१६ भित्र ५० प्रतिशत र २०१७ भित्र बाकीं ५० प्रतिशत काम सम्पन्न हुने दाबी गरे ।  अन्य काम अहिले सम्म हुन सकेको छैन । काममा भएको ढिलाईलाइ स्वीकादै शर्माले भने“ रकम निकासा अनुसारको काम देखिन्न त्यो स्वाभाविक हो । किनकी अहिले अन्डर ग्राउन काम भएको छ । टर्मिनल बिल्डींगको बेस ल्यान्डमा काम भईरहेको छ । रन वेको माटो फीलिंग भईरहेको छ । नदी डाइभर्सन १५ दिनभित्र हुन्छ । ” यता जग्गा अधिग्रहणको विषयलाई लिएर स्थानियहरुले आन्दोलन गरिरहेका छन् ।  ठेकेदार कम्पनिले शुरुमा एडभान्स ९० करोड र हाल पहिलो बिल बापत १७ करोड गरी १ अरब ७ करोड रकम निकासा गरिसकेको शर्माको भनाईछ ।

    Goutam-Buddha-Airport-2
    भविष्यः ः
    अन्तर्राष्ट्रिय नागरीक उड्यन प्राधिकरण आईकाउको कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको बिमानस्थलमा  बोईंग ७७७ सम्मका जहाजहरु अर्थात  चौडाई ५२ मिटर देखि ६४.९९ मिटर सम्म रहेका जहाजहरुले उडान र अबतरण गर्न सक्छन्  । सम्झौता अनुसार काम भएमा सन् २०१८ को जनवरी १ तारिखदेखी भैरहवामा सिधैं अन्तराष्ट्रिय विमानको उडान र अवतरण हुनेछ । अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माण सम्पन्न गर्नकोलागी ९० मिलियन अमेरीकी डलर आबश्यक पर्ने भएता पनि सो मध्ये ६८ मिलीयन अमेरिकी डलर एडिबीले दिने भएको छ भने बाकी नागरिक उड्डयन प्राधिकरणले ब्याहोर्ने छ । जग्गा अधिग्रणकोलागी मात्रै १ सय ४० विगाह जग्गाकोलागी २ अरब ४७ करोड आईसेको छ भने प्रस्तावित २ सय ८८ विगाह जग्गाकोलागी ९ अरब भन्दा बढी बजेट प्रारम्भीक प्रस्ताव गरिएको छ । भैरहवाको  विमानस्थलमा अन्तराष्ट्रिय जहाज आउन थालेपछि यस क्षेत्रको मुहार फेरिनेछ । सामाजिक र आर्थिक रुपमा मात्रै नभई राजनितीक रुपमा पनि सबल र सक्षम बन्न टेवा पुग्नेछ । यहांका पर्यटन क्षेत्र र पर्यटन व्यवसायी मात्रै नभएर सामन्य पान बेच्ने ब्यापारीदेखी ठूला ठूला पर्यटन व्यवसायी प्रत्यक्ष लाभान्वीत हुनेछन् । लुम्बिनीबासीकोलागी यो गौरब र अवसरको विषय हो । यसैले यसको निर्माण कार्य तोेकिएकै समयमा सम्पन्न हुनुपर्दछ ।
    स्थानीय र राजनीति
    विमानस्थलको स्तरोन्नतीका लागि पछिल्लो पटक थप २ सय ८८ विघा जग्गा अधिग्रहणका लागि प्रस्ताव भएसंगै स्थानियहरु न हाँस्न सकेका छन न त रुन नै । जग्गा अधिग्रहणको प्रस्ताव आएसँगै स्थानीयहरु आन्दोलित समेत भएका छन् ।
    आयोजनाका अनुसार पुर्वमा गल्लामण्डी स्थित हनुमान मन्दिरको पश्चिम तर्फ वार्ड नम्बर ४ को कुलो, पश्चिम तर्फ तिनाउ खोलासम्म, उत्तरतर्फ हनुमान मन्दिर देखि लुम्बिनी रोड स्थित मायादेवी चोक सम्म बाटोको केन्द्र देखि ७५ मटिर दक्षिण तर्फ र दक्षिण तर्फ अधिग्रहण भइसकेको सिमाना देखि २ सय मिटर सम्म प्रस्ताव गरिएको छ ।
    पन्चायतकालमा खासै चर्चामा नआएको गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने भनेर चर्चा नभएता पनि ०४८ सालको निर्वाचन पछिको सरकार र त्यसताकाका कांग्रेस नेता रामकृष्ण ताम्राकारले चुनावी नारा खुबै बनाएका थिए । पछिल्लो समय मध्यवधी, संसदीय र संविधान सभाको निर्वाचन मात्रै होइन हरेक स्थानीय निर्वाचनमा पनि गौतमबुद्ध विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने चुनावी नारा बाँड्ने गर्दथे ।
    हालका अर्थमन्त्री तथा एमाले उपमहासचिव विष्णु प्रसाद पौडेल, एमाले सचिव तथा पुर्वमन्त्रीद्वय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट,  नेपाली कांग्रेसका नेता तथा सांसद बालकृष्ण खाण र दिपकुमार उपाध्यय, राप्रपा महामन्त्री तथा वाणिज्य मन्त्री दीपक बोहरा, तमलोपाका महामन्त्री तथा सांसद सवेन्द्रनाथ शुक्ला लगायतले भैरहवा विमानस्थललाई अन्तराष्ट्रियस्तरको बनाउने भनेर बारम्बार चुनाबी नारा दिइरहेका छन् । त्यतिमात्र होइन सांसद र मन्त्री तथा नेताहरुरुले विगत २५ वर्षदेखी चुनाबी नारा बनाएको भएता पनि महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको कारण गौतमबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको हुने सुरसारमा रहेको देखिन्छ ।
    लुम्बिनी क्षेत्रका अग्रज पत्रकार चेतन पन्तका अनुसार गौतबुद्ध विमानस्थल अन्तराष्ट्रिय स्तरको बन्ने कार्य शुरु हुनुमा नेताहरुको भूमिका भएता पनि मुख्यतयाः बुद्ध जन्मस्थल लुम्बिनी भएको तर्क गरे । पत्रकार पन्तले भने “एडिबीको दक्षिण एशियाली पर्यटन पुर्वाधार विकास आयोजनाले विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई मध्यनजर गरी लगानी गर्ने आँट गरेको हो । ” विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने कार्यमा एडिबीले ५८ दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट ३० दशमलव ५ प्रतिशत र नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ११ प्रतिशत लागत बेहोेर्ने गरी निर्माण कार्य शुरु भएको हो ।
    अहिले थप प्रारम्भीक रुपमा प्रस्तावित २ सय ८८ विगाह क्षेत्रफलका जनताहरुले सम्मानजनक स्थापीत तथा सहि मुआब्जाको माग गर्दै आन्दोलन समेत गरिरहेका छन् । सो क्षेत्रमा करिब साढे ३ सय घरधुरी पर्ने आंकलन गरिएको छ । घर जग्गा पर्नेहरुले विमानस्थल निर्माणमा एक इन्च पनि जग्गा नदिने बताउदैं आन्दोलन गरिरहेका छन् ।
    स्थानियको आन्दोलनमा स्थानिय नेता तथा केही राजनितीक दलले पनि दृश्य र अदृश्य रुपमा भूमिका खेलेको विमानस्थल स्रोतको बुझाईछ ।  नेपालमा अहिले विमानस्थलको चर्चा धेरै हुन थालेको छ । कहिले निजगढ, कहिले  भैरहवा त कहिले पोखरा विमानस्थलाई अन्तराष्ट्रिय बनाउने भन्ने घोषणा भईरहेका छन् । ती मध्ये भैरहवा विमानस्थललाई अन्तराष्ट्रिय स्तरको बनाउने गरी निर्माण कार्य शुरु भएको १५ महिना भइसकेको छ भने पोखरालाई यहि बैशाख १ गतेदेखी शिलान्यास सहित शुरु गरिएको छ । यसको अतिरिक्त लुम्बिनी राप्तीमा मात्रै कुरा गर्ने हो भने प्युठानको चाल्नेटार र गुल्मीको सीमिचौरमा पनि घरेलु उडान भर्नेगरी विमानस्थल बनाउने प्रक्रिया शुरु भएको छ । विमानस्थल निर्माणको काममा नेताहरुको कुरा बढी काम थोरै हुने गर्दा वर्ष २०७३ लाइ सरकारले विकास वर्षको रुपमा मनाउने भनी गरेको घोषणा कतै फेल खाने त होइन भनी आशंका गर्ने थुप्रै आधार सृजना भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.