logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    आधुनिक बैंकिङ प्रणालीमा समाजशास्त्रको ज्ञान जरुरी


    १६ जेष्ठ २०७३ , आइतबार

    आधुनिक बैंकिङ प्रणालीमा समाजशास्त्रको ज्ञान जरुरी

    umesh

    उमेशचन्द्र रिजाल
    बैंक सेवा प्रदान गर्ने संस्था हो, आधुनिक युगमा यसको अस्तित्व बिना मानव जीवनको सार्थकता नहोला । विश्वमा ठूला ठूला बैंकहरु यीनले मानव समाजलाई सेवा प्रदान गर्दछन् । आधुनिक बैंकिङ प्रणालीहरु जे जस्ता भए पनि मुख्य ग्राहकलाई सेवा प्रदान गर्नु नै यसको मूल कर्तव्य हो ।

    अर्थशास्त्रका विद्यार्थी चिरञ्जीवी नेपाल त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा विद्यार्थी हुँदा म भर्खरै शिक्षण पेशामा लागेको थिएँ । भिमसेन टोलमा रहेको “ईलाम होटल” कांग्रेसी होटल पनि भन्थे मानिसहरु, त्यहाँ खाना खाने अधिकांश शायद प्रजातन्त्रवादी भएरै होला । एक दुई वर्षको सर विद्यार्थी नाताबाट धेरै वर्ष हामीहरुबीच सम्पर्क भएन । धेरै वर्षपछि थसिखेलमा  (काठमाण्डौ) एक्कासी भेट भयो । सर नमस्कार उनले अभिवादन गरे । मैले “भाई यहीँ हो ?” भनेर हात मिलाएँ । बिहानको समय थियो,“सर एक कप चिया खाउँ ।” मैले हुन्छ भनेँ  ।  नजिकैको चिया पसलमा चिया खायौँ, त्यस दरम्यान पारिवारिक, राजनैतिक र विभिन्न विषयहरुमा गफगाफ भयो । म उनलाई पहिले देखि नै “उर्जाशील मान्छे” भन्थेँ । विभिन्न क्षेत्रमा सुधार गर्नुपर्छ भनेर हाम्रो वार्तालाप चल्यो । त्यहाँबाट छुट्टिएपछि ऐलेसम्म भेट भएको छैन ।

    समाचारमा चिरञ्जीवी नेपाल गर्भनर भए भनेको सुनेँ, मलाई हर्षको सीमा नै रहेन । मर्निङवाकपछि घरमा आएर मैले आफ्नी जीवनसंगिनी कवितालाई सुनाएँ । “सुन्यौ ! चिरञ्जीवी भाई त नेपाल राष्ट्र बैंकको गर्भनर भएछन् ।” यत्ति के भन्न भ्याएको थिएँ उनका अनुहारमा खुशीको लहर दौडिहाल्यो । उनले सुनाइहालिन् “सम्झना छ हजुरलाई ? इलाम दाईले तातो पन्यूले गाला डामिदिन्छुु भनेको ? हाम्रो विवाह भएको दोस्रो दिन   चिरञ्जीवीलाई ?”

    ऐले पाल्पा तानसेनको भिमसेन टोलमा इलाम होटल छैन, न त इलाम दाई छन्, सम्झनामा आउँछन् उनी । पाल्पाको तानसेनसँग धेरै आत्मीयता छ, त्यसमा पनि नेपाल बैंक लिमिटेडसँग । म हतारमा छु भन्ने थाहा पाउने बित्तिकै क्यासियरले चेकमा उल्लेखित रकम दिन्थे, पूरै प्रावधान पुरा नगरिकन । एकपल्टको घटना म बिर्सिनै सक्तिन, बैंक भिड थियो, मैले चेक दिएँ, पैसा पाएँ, खल्तीमा हालेँ । डेरामा आएर हेरेको पाँच हजारको सट्टा दश हजार दिएको रहेछ । म तुरुन्त बैंकमा गएँ, यस्तो भएको रहेछ भनेँ, क्यासमा बस्ने भाई छक्क परेर भने धन्यवाद सर ।

    नेपाल बैंकको आफ्नै इतिहास आफ्नै स्वाभिमान र आफ्नै कीर्तिमान छ । जीवनको अभिन्न अंग बनेको छ यो बैंक । कहिलेकाँही अत्यन्त प्रियजनले दिएको पीडा ज्यादै दुःखदायी हुन्छ । कसैको नाम उल्लेख गर्नु मेरो धर्मले दिँदैन, तर एकपल्टको घटनाले मलाई ज्यादै दुःखी तुल्यायो ।
    केही वर्ष कीर्तिपुर बल्खु प.नि.काले  ग्लोबल बैंकको नाममा चेक दिन्छ । ग्लोबल बैंकमा खाता नभए त्यो चेक नेपाल बैंकमा जम्मा गरेपछि एक या दुई दिनपछि पाइन्छ । त्यसका लागि सानो फर्म भरेर नेपाल बैंकमा जम्मा गर्नुपर्छ ।
    म अत्यन्त हतारमा थिएँ, बैंकका एक कर्मचारी (महिला÷पुरुष)लाई फर्म भरिदिन भनेँ । अफिस भर्खर खुलेको थियो, ग्राहकहरुको भीड पनि थिएन ।

    “सर भएर पनि यति फर्म भर्न आउँदैन ?” अत्यन्त कर्कशा आवाज थियो त्यो । फेसबुकमा च्याट भएको अनुभव गरेँ मैले । कसैसित उनको अनलाइन च्याट थियो, या फेसबुक थाहा भएन, तर टल्किएको ऐनाबाट एक झलक त पाएँ, तर छुट्याउन सकिनँ । मैले फर्म लिएँ, तल्लो कोठामा एक साईभक्तले फर्म भरिदिनुभयो । कस्तो बिडम्बना ? कस्तो प्रशासन ? नेपालको सबैभन्दा पुरानो बंैकको ग्राहक प्रतिको त्यो व्यवहार ?? एउटा बिग्रिएको आलुले सम्पूर्ण बोरा खराब गर्छ भन्छन्, भैरहवा स्थित नेपाल बैंकलाई पनि त्यही रोग त लागेको होइन ?

    भैरहवा स्थित नेपाल बैंकका मेनेजरहरु प्राय मैले पाल्पा त्रिभुवन क्याम्पसमा पढाएका वा मैले पढाउँदा पढ्ने विद्यार्र्थीहरु नै आउनुभएको छ । वहाँहरुको व्यवहार जहिले पनि उच्चकोटीको रह्यो, आफ्ना ग्राहकहरु प्रति अर्थात कम्प्युटरहरु प्रति । त्यतिमात्र होइन कुनै एकलाई छोडेर नेपाल बैंक लिमिटेड भैरहवा शाखा अब्बलमा छ । धेरै ग्राहकहरुको गुनासोलाई मैले यहाँ उल्लेख गरेको हुँ । कुहिएको आलु बोराबाट निकाल्ने वा पुरै बोरा खराब गर्ने यो बैंकको आफुनो कुरा हो । बैंकका अन्य कर्मचारीहरु पनि कुहिएको आलुको दुर्गन्ध प्रति दिक्क छन्, तर के गर्नु ? बाध्यता छ दुर्गन्ध खप्न । ग्राहक प्रति व्यवहार गर्ने तौर तरिकाको दुर्गन्ध भयानक हुन्छ, यस्तो खप्नु आफैलाई छल्नु होइन र ?

    बैंक सेवा गर्ने संस्था मात्र होइन, मृदुभाषाको केन्द्र पनि हो । कोही पढेका, कोही अनपढ, कोही अल्पज्ञान भएका हुन सक्छन्, हाम्रो समाज र यहाँको वास्तविकतासँग बैंकका कर्मचारीहरु अनभिज्ञ हुन मिल्दैन । बैंक कर्मचारीको पहिलो कर्तव्य ग्राहक सेवा हो । अफिसमा च्याट गरेर बस्ने होइन । यसैले आधुनिक बैंकिङ प्रणालीमा समाजशास्त्रीय ज्ञान कर्मचारीहरुमा हुन अत्यन्त जरुरी छ । समाजको संरचना, सामाजिक व्यवहार र त्यति मात्र होइन सम्पूर्ण ग्राहकहरुको अनिवार्यतालाई   राम्ररी बुझ्नुपर्दछ । आधुनिक बैंकिङ प्रणालीमा व्यवस्थापन र समाजशास्त्रको ज्ञान हुनु जरुरी छ,   मेरो वकालत होइन, समाज   नबुझी कुनै पनि संगठनले अग्रगति लिन सक्तैन ।
    समाजशास्त्रको ज्ञान प्रत्येक व्यवस्थापन संगठनमा संलग्न  कर्मचारीहरुलाई हुनु जरुरी छ । संगठनहरुले चाहे ती जुनसुकै हुन्, आफ्ना कर्मचारीलाई प्याकेज बनाएर कार्यक्रम संचालन गर्न सक्छन् । यो सुझाव सल्लाह मात्र हो, कसैप्रति आग्रह र दुराग्रह होइन ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.