आईजीपी दानबहादुर कार्कीको राजीनामा ‘१०० प्रतिशत’ हुने दाबी, राजनीतिक भेटघाट र प्रहरी नेतृत्व परिवर्तनको भित्री सूचनाबारे एआईजी केसी र भण्डारीबीच संवाद
लुम्बिनीखबर
काठमाडौं,१७ कातिक । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा राजीनामा गराउने विषयमा भइरहेका गतिविधिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीको भूमिका के छ ? प्रहरी नेतृत्व परिवर्तनको भित्री सूचना बाह्य व्यक्तिसम्म कसरी पुगिरहेको थियो ? र आईजीपीको सम्भावित राजीनामाबारे ‘१०० प्रतिशत’ दाबी गर्ने आधार के थियो ? एआईजी मनोज केसी र नारायण भण्डारीबीच भएको भनिएको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि यी प्रश्न उठेका छन्। खगेन्द्र सुनारका निकट सहयोगी तथा साझेदारका रूपमा चिनिएका भनिएका नारायण भण्डारी र एआईजी केसीबीच भएको उक्त संवादमा आईजीपीको सम्भावित राजीनामा, प्रहरी नेतृत्वसँगको भेटघाट, अदालतको पेशी, गृहमन्त्रीसँगको सम्भावित भेट तथा प्रहरी अधिकारीहरूको निगरानीसम्बन्धी विषयमा कुराकानी भएको सुनिन्छ।
अडिओमा भण्डारीले एआईजी केसीलाई ‘दाइ नमस्ते’ भन्दै सम्बोधन गरेका छन्। जवाफमा केसीले ‘नमस्ते नमस्ते, कता ?’ भनेका छन्। त्यसपछि भण्डारीले आफू बिहानैदेखि विभिन्न ठाउँमा दौडधुपमा रहेको र ‘उहाँ काभ्रेतिर जानुभयो’ भन्दै घटनाक्रमबारे जानकारी गराएका छन्। कुराकानीका क्रममा एआईजी केसीले ‘आज त पेशी थियो नि है’ भनेर प्रश्न गर्छन्। जवाफमा भण्डारीले ‘हो, आज पेशी थियो, हिजै सरिसकेको थियो’ भन्छन्। त्यसपछि भण्डारीले प्रहरी नेतृत्व परिवर्तनको चर्चाबारे महत्वपूर्ण दाबी गर्दै ‘त्यो अघि चाहिँ भोलि १०० प्रतिशत राजीनामा दिने भन्ने भयो दाइ’ भनेको सुनिन्छ। यसमा केसीले ‘अँ’ भन्दै प्रतिक्रिया दिएका छन्। संवादको अर्को हिस्सामा भण्डारीले आईजीपी र विश्व अधिकारीबीच भएको भनिएको भेटघाटको समयसमेत उल्लेख गरेका छन्। उनका अनुसार उनीहरू १६ः५५ बजे भेट्न गएको र १७ः५० बजे बाहिरिएका थिए। तर भेटमा के कुराकानी भयो भन्ने आफूलाई जानकारी नभएको उनले बताएका छन्।
गृहमन्त्रीसँगको भेटघाटको प्रसङ्ग पनि संवादमा उठेको छ। भण्डारीले गृहमन्त्रीले माननीयलाई भेट्ने कुरा गरेको र सम्भवतः भोलिपल्ट बिहान ९ बजे केही हुने बताएका छन्। यसले प्रहरी नेतृत्व परिवर्तनको चर्चामा राजनीतिक तहमा समेत भेटघाट र छलफल भइरहेको थियो कि भन्ने प्रश्न जन्माएको छ। अडिओको अर्को हिस्सामा ‘राजन दाइ’को विषय सञ्चारमाध्यममा आइसकेको र ‘सुनिल’ले केही गरेको भन्ने प्रसङ्ग सुनिन्छ। त्यस्तै ह्वाट्सएपमा आईजीपीको गतिविधि मात्र देखिएको र अर्का व्यक्ति पनि निगरानीमा रहेको आशयको संवादसमेत छ। भण्डारीले ‘त्यो नदेखिए पनि देखियो त, ह्वाट्सएपमा पनि आईजीको मात्र हो। नदेखिए पनि उहाँ पनि निगरानीमा हुनुहुन्छ। भोलिसम्म आफैँ जानुहुन्छ’ भनेको सुनिन्छ। त्यसपछि एआईजी केसीले ‘त्यो त्यो पनि देखिएको’ भन्दै प्रतिक्रिया दिएको सुनिन्छ। भण्डारीले ‘राजनको पनि देखिएको छ नि होइन ?’ भनेर प्रश्न गर्दा केसीले ‘अँ’ भनेको सुनिन्छ। संवादको अन्त्यतिर भण्डारीले ‘भोलि आफैँ जान्ने भन्ने कुरा भएको छ रे। यता सुधनसँग कुरा भइरहेको छ। त्यो बुझेर म खबर गर्छु हजुरलाई’ भनेका छन्। जवाफमा एआईजी केसीले ‘हवस्, हवस्’ भन्दै कुराकानी टुङ्ग्याएका छन्।
प्रहरी नेतृत्व परिवर्तनमा बाह्य व्यक्तिको भूमिका के ? प्रहरी संगठनको सर्वोच्च नेतृत्व परिवर्तनको विषय सामान्य प्रशासनिक प्रक्रिया मात्र होइन। यो संगठनको संस्थागत स्थायित्व, व्यावसायिक निष्पक्षता र राजनीतिक हस्तक्षेपसँग प्रत्यक्ष जोडिएको विषय हो। यस्तो संवेदनशील विषयमा प्रहरीका उच्च अधिकारी र बाह्य व्यक्तिबीच भइरहेका भनिएका संवादले प्रहरी संगठनको निर्णय प्रक्रियाबारे गम्भीर प्रश्न खडा गरेका छन्। आईजीपीको राजीनामा भोलिपल्ट ‘१०० प्रतिशत’ हुने दाबी भण्डारीले कसको सूचनाका आधारमा गरेका थिए ? प्रहरी नेतृत्वसँगको भेटघाटको समय र राजनीतिक तहमा हुन सक्ने छलफलको जानकारी उनलाई कसरी भइरहेको थियो ? एआईजी केसीले ती सूचनाबारे चासो राख्नु र संवादमा सहभागी हुनुको उद्देश्य के थियो ? अझ महत्वपूर्ण कुरा, प्रहरी नेतृत्व परिवर्तनको संवेदनशील घटनाक्रममा बाह्य व्यक्तिले उच्च प्रहरी अधिकारीलाई नियमित रूपमा सूचना दिने र पछि थप जानकारी उपलब्ध गराउने आश्वासन दिनुपर्ने अवस्था किन आयो ? ‘सुधनसँग कुरा भइरहेको छ’ भन्ने भण्डारीको भनाइले यस घटनाक्रममा अरू को–को जोडिएका छन् भन्ने प्रश्नसमेत उठाएको छ। यदि सार्वजनिक भएको अडिओ वास्तविक हो र संवादको सन्दर्भ पनि यही हो भने प्रहरी नेतृत्व परिवर्तनको विषयमा बाह्य व्यक्तिहरूको पहुँच र सक्रियताबारे गम्भीर छानबिन आवश्यक देखिन्छ। एआईजी केसीले उक्त संवादको उद्देश्य र आफूले प्राप्त गरेका सूचनाबारे स्पष्ट पार्नुपर्छ। त्यस्तै प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले पनि यस विषयमा आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने देखिन्छ।