वैशाख २२, २०७३ रिपब्लिकनका तर्फबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवारीका लागि संघर्ष गरिरहेका टेड क्रुजले प्रतिष्पर्धा त्याग्ने निर्णय गरेका छन् । उनको यो निर्णयसँगै रिपब्लिकनका तर्फबाट डोनाल्ड ट्रम्प आसन्न राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार हुने पक्कापक्की भएको छ ।
इन्डियाना राज्यमा भएको मतदानमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेपछि क्रुजले दौडबाट बाहिरिने निर्णय
लिएका हुन् । यससँगै अमेरिकाको राष्ट्रपति उम्मेदवार चयन अहिले रोचक मोडमा पुगेको छ ।
उता डेमोक्रेटिक तर्फ पूर्व परराष्ट्रमन्त्री हिलारी क्लिन्टन दौडमा अगाडी रहेपनि इन्डियानामा आज भएको मतदानमा उनी बर्नि स्यान्डर्ससँग पराजित भएकी छिन् । डेमोक्रेटिकका तर्फबाट क्लिन्टन नै उम्मेदवार चयन हुने सम्भावना प्रवल रहेपनि स्यान्डर्सले आफ्नो पराजय नस्विकारेसम्म दौड भने रोकिने छैन ।