कमल रायमाझी
भैरहवा, साउन २६ । शसस्त्र प्रहरी बल राजस्व भन्सार गुल्म डण्डा भैरहवाले तस्कर नियन्त्रण गर्नका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

सीमा क्षेत्रमा हुने अवैध तस्कर लागूऔषध ओसारपसार र सीमा अपराध न्यूनीकरणका लागि आफ्नो अभियान अगाडि बढाएको राजस्व भन्सार गुल्मले जनाएको छ ।
तस्करी हुने भित्री बाटाहरु र सीमा क्षेत्रमा यसरी सुरक्षाकर्मी परिचालन भएपछि आंशिक रुपमा सफलता समेत हात पारेको राजस्व भन्सार गुल्मका गुल्मपति शसस्त्र प्रहरी उपरिक्षक शंकर खनालले जानकारी दिनुभयो ।
अहिले शसस्त्र प्रहरी बल राजस्व गुल्मले सीमा नाका भारतबाट भन्सार छली गरी ल्याउने गरेका कपडा, हार्डवेयरका सामान, चिनी, खाद्यान्न, मेशिनरी पार्टपुर्जा, लागूऔषध नियन्त्रण गरी भन्सार चलान गरेको छ ।
चोरी तस्करी नियन्त्रणमा व्यापक रुपमा गस्ती बढाएको राजस्व गुल्मले अहिले यस क्षेत्रमा तस्करीलाई बढावा दिने तस्करहरु तितरबितर हुन थालेका छन् ।
यस आर्थिक वर्षको श्रावण महिनामा मात्र राजस्व भन्सार गुल्म डण्डाले करिब १६ लाख मूल्य बराबरका भन्सार छली गरी ल्याइएका विभिन्न सामग्री बरामद गरी भन्सार चलान गरेको छ ।
गुल्मका गुल्मपति शंकर खनालको नेतृत्वमा विशेष गस्तीको टोली परिचालन भएपछि चोरी तस्करी नियन्त्रण हुनुका साथै भन्सार राजस्वमा समेत वृद्धि भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
सीमा सुरक्षा कार्यालय भैरहवाले चोरीतस्करीका साथै सीमामा हुने अपराधलाई समेत न्यूनीकरण गर्नको लागि सर्तकता अपनाएको सीसुका रुपन्देहीले जनाएको छ ।