(काठमाडौं, ८ भदौ । सत्तागठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आज ११ मन्त्री सरकारमा पठाउँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो तर्फबाट मन्त्री बनाउनेको ‘शर्ट लिष्ट’ तयार गरेका छन् ।

पहिलो मन्त्रिपरिषदमा आफू निकटका विमलेन्द्र निधी र रमेश लेखकलाई सरकारमा पठाएका देउवाले आज बाँकी ११ मन्त्रीहरु सरकारमा पठाउन लागेका हुन यद्यपी सबै मन्त्रीहरुको नाम अझै टुंगो लागिसकेको छैन ।
देउवाले आफ्नो पक्षका नेताहरु अर्जुननरसिंह केसीसहित डा।प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, बालकृष्ण खाँड, भीष्मराज आङ्दम्बे, जीवनबहादुर शाही र अम्बिका बस्नेत, लगायतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
साथै गगन थापाको नाम पनि चर्चामा रहेको छ । उनी सिटौला पक्षका हुन । सिटौला पक्षले एउटा मन्त्रालय पाउने संभावना रहेको छ । जसमा गगन थापा र भिमसेनदास प्रधान दुई नेताको संभावना रहेको कांग्रेस स्रोतले जनाएको छ । गगनले शहरी विकास मन्त्रालय पाए मन्त्री बन्ने संकेत दिएका छन् ।
त्यसैगरि कांग्रेसको पौडेल पक्षले चारवटा मन्त्रालय पाउने संभावना रहेको छ । तर पौडेलले आफ्नो पक्षले पाँच मन्त्रालय पाउनु पर्ने बताउँदै आएका छन् ।