लुम्बिनीखबर
भैरहवा, भदौ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल रुपन्देहीमा १४ वर्षपछि नयाँ नेतृत्व चयनका लागी अधिवेशन भएको छ । अधिवेशनको भदौ १६ गते रक्षामन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका थिए ।

तरुण दलका पूर्व केन्द्रिय अध्यक्ष समेत रहेका मन्त्री खाँण, पार्टीका जिल्ला सभापति तथा सांसद अब्दुल रज्जाक, पुर्व अर्थराज्यमन्त्री तथा सांसद भरत शाह लगायतले तरुणहरुको भेलालाई सम्बोधन गर्दै धेरै वर्ष पछि हुन लागेको अधिवेशन निर्विवाद र सर्वसम्मत हुनेमा अपेक्षा सहितको शुभकामना मन्तव्य राखेका थिए ।
तर शुभकामना मन्तव्यको शब्द राखेको केही समयपछि नै तरुण दलमा विवाद भयो । अधिवेशन चलिरहँदा तरुणहरुको एउटा तप्का अधिवेशन नै बहिस्कार गरी बाहिरीएको थियो ।
तरुण दल रुपन्देहीका अध्यक्ष चिरञ्जीवि पौडेल समुहले अधिवेशन प्रतिनिधि छनौट सच्चाउन माग गर्दै बाहिरिएको थियो तर अर्को पक्षले निर्वाचन प्रक्रिया नरोक्नेगरी कार्यक्रम अगाडी बढाएपछि विवाद झनै सतहीमा आयो ।

यो समाचार तयार पार्दा सम्म तरुण दल रुपन्देहीमा दुई पक्षले अलग अलग अध्यक्ष सहित जिल्ला समिती नै घोषणा गरेका छन् । अधिवेशनमा भाग लिएको पक्षले सोम बहादुर गुरुंग (सेते) को अध्यक्षतामा नयाँ नेतृत्व चयन गरी जिल्ला कमिटी घोषणा गरेको छ । जसको उपाध्यक्षमा दिनेश भट्टराई, सचिवमा रमेश शाही, कोषाध्यक्षमा बासुदेव बस्याल र केन्द्रिय पार्षदमा वृजेश न्यौपाने चयन भएका छन् ।
यता अधिवेसन बहिस्कार गरेको समुहले शुसील गुरुंगको अध्यक्षतामा नयाँ समिती चयन गरी घोषणा गरेको छ । जसको उपाध्यक्षमा पोसराज चापागाई, सचिवमा चुरामणी भुसाल, कोषाध्यक्षमा होम प्रसाद ढकाल, केन्द्रिय पार्षदमा चिरन्जीवि पौडेल, महाधिवेसन प्रतिनिधीमा सिता राई, आदिबासी जनजाति तर्फबाट अमित कुमार साहनी, दलितबाट पदम मिजार र मुश्लिम समुदायबाट अब्दुल महिम खांन चयन भएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव समेत रहेका शुसील गुरुंग समुहलाई पार्टीका केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल र गगन थापा समूहको संरक्षण रहेको छ भने पार्टीका महासमिति सदस्य समेत रहेका सोम बहादुर समूहलाई केन्द्रमा शेरबहादुर देउवा समूहको संरक्षण रहेको छ ।
शुसीललाई रामचन्द्र ढकाल, शिव नेपाल, रामकृष्ण तामा्रकार, अस्टभुजा पाठक, मातृका यादवले सहयोग गरिरहेका छन् भने सोम बहादुरलाई बालकृष्ण खाँण, भरत शाह, अब्दुल रज्जाक, दिपक क्षेत्री न्यौपाने लगायतले सहयोग गरेका छन् ।
शुसील समुहबाट उपाध्यक्ष भएका चापागाईले अधिवेशनमा अध्यक्षको रुपमा उम्मेदवारी दिएका थिए । निर्वाचनको क्रममा उनको पक्षमा समेत केही मत आएको छ तर एकाएक उनी शुशीलको उपाध्यक्ष बस्न पुगेँ । यता तरुण दलको विधान अनुसार केन्द्रले डा. बुद्ध थापाको संयोजकत्वमा निर्वाचन कमिटी बनाएको थियो ।
सोही कमिटीले जिल्लाको सबै क्षेत्रबाट प्रतिनिधी चयन गरी अधिवेशन सम्पन्न गरेको र निर्वाचन कार्यक्रम प्रकाशन गरी निर्वाचन सम्पन्न गरेको पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले जनाए । सभापति रज्जाकले लोकतान्त्रिक प्रक्रिया निर्वाचन मार्फत अनुसार नै अधिवेशन भएको बताए ।