logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका रोए पछि – – –


    २२ भाद्र २०७३ , बुधबार

    अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका रोए पछि – – –

    बाके । केही युवा खाल्डो खन्दै थिए, केही घन्टाअघि मात्र जन्मिएकी नवजात चेलीलाई पुर्न। आमा अर्धचेत अवस्थामा आलो सुत्केरी र सन्तान गुमाउँदाको पीडाग्निमा जल्दै थिइन्। बाबु पुर्पुरोमा हात राखेर नियतिलाई धिक्कार्दै थिए।

    Capturesishulalal

    अचानक बालिका कराइन्– च्याहाँ–च्याहाँ–च्याहाँ ‘!

    सधैं शोक र सन्नाटाले भतभती पोलिइरहने मसानघाट एकाएक अपार खुसीले भरियो।

    अन्ततः मृतक भनेर अन्तिम संस्कारका लागि मसानघाट पुर्‍याइएकी बालिका बौरिइन्।

    देशभरिका चेली वर्ष्दिनको महान् चाड तीज मनाउने तयारी गरिरहँदा अस्पतालको बेवास्ता र आफ्नो अज्ञानले जीवितै चिहान पुर्‍याइएकी नवजात छोरी बौरिँदा आमाबाबुमा खुसीको सीमै रहेन

    ‘ ‘ ‘

    घटना बिहीबारको हो। बिरामी आफन्त (फुपू) भेट्न दुई दिनअघि बाँकेको शमशेरगन्ज आएका थिए, रुकुम चौखावाङ–७ का दम्पती गोपाल खड्का र भावना। आठ महिनाको शिशुलाई गर्भमा बोकेर भावना पनि पतिसँगै आएकी थिइन्। महिना नपुगेका कारण बाटैमा सुत्केरी हुनुपर्ला भन्ने उनले कल्पनै गरेकी थिइनन्।

    आफन्त भेटेर खड्का दम्पतीले शुक्रबार रुकुम फर्किने तयारी गरे। यसका लागि नेपालगन्ज बसपार्क आएर टिकट बुक गराए। बस छुट्नुअघि बसपार्कनजिकको होटलमा बसिरहेका बेला भावनालाई पेट दुख्यो।

    ‘होटलकी साहुनीलाई अस्पताल कहाँ छ भनेर सोध्यौं, उनले नजिकैको औषधि पसल (मेडिकल) पठाइदिइन्, त्यहाँ पुगेर मेडिकलका मान्छेलाई देखाउनेबित्तिकै बच्चा जन्मिइहाल्यो,’ गोपालले सुनाए।

    त्यतिबेला दिउँसो करिब तीन बजेको थियो। मेडिकल सञ्चालकले खड्का दम्पतीलाई रिक्सा चढाएर भेरी अञ्चल अस्पताल पठाए। उनीहरुका लागि अस्पताल बिरानो थियो। अस्पतालका कर्मचारीले उनीहरुको समस्या पटक्कै बुझिदिएनन्। न कसैले उनीहरुलाई सोधपुछ नै गरे। ‘पहिलोपटक अस्पताल पुगेर होला, बच्चालाई भर्ना गर्ने ठाउँ पत्ता लगाउनै गाह्रो भयो,’ गोपालले भने ‘अस्पतालका कर्मचारीलाई सोधपुछ गर्दा पनि त्यति मतलब गरेनन्।’

    झन्डै एक घन्टा उनीहरुले अस्पतालवरिपरि घुमेरै बिताए, तर एनआइसियु कक्ष फेला पार्न सकेनन्। त्यतिबेलासम्म नवजात शिशुको अवस्था गम्भीर भइसकेको थियो।

    ‘बच्चा निलो भइसकेको थियो, श्वास फेर्नै छाडेजस्तो लाग्यो,’ गोपालले सुनाए, ‘बच्चा अब मरिसक्यो, अब दाहसंस्कार गर्न्तिर लागौं भन्ने सोच आयो, रिक्साले मसानघाटसम्म पुर्‍याइदियो।’

    मसानघाटमा उनीहरु पुग्दा त्यहाँ अर्को दाहसंस्कारको तयारी भइरहेको थियो। मलामी गएका युवाले खड्का दम्पतीलाई दाहसंस्कारमा सहयोग गर्न थाले। ‘खाल्डो खन्दै गर्दा बच्चा करायो, त्यतिबेला त हामीहरु छाँगाबाट खसेझैँ भयौं, कति खुसी भयौं कति,’ भावनाले भनिन्, ‘मरिसकेको बच्चा (छोरी) यसरी फर्किएला भनेर सोचेकै थिएनौं।’

    बच्चा गाड्ने तयारीमा लागेका युवा पनि आश्चर्यमा परे। त्यसपछि उनीहरुले खड्का दम्पतीलाई सोधपुछ गरे र वडा प्रहरी कार्यालयमा फोन गरेर प्रहरीको जिम्मा लगाइदिए। शिशु मात्र नभएर आमाको स्वास्थ्य अवस्था पनि ठिक थिएन। प्रहरीले आफ्नै गाडीमा राखेर खड्का दम्पती र नवजात शिशुलाई भेरी अञ्चल अस्पताल पुर्‍याइदियो। अस्पतालले नवजात शिशुलाई एनआइसियु कक्षमा भर्ना गरिदियो, भने सुत्केरी भावनालाई इमरजेन्सीमा।

    सुत्केरी भावना शनिबार बिहानदेखि स्त्री तथा प्रसूतिकक्षा सारिइन्। उनको स्वास्थ्य सामान्य अवस्थामा फर्किसकेको छ। आफू गर्भवती भए पनि उनले खोप कहिल्यै लगाइनन्। थाहा नपाउँदा शिशुलाई चाहिने पौष्टिक तŒव पनि प्रयोग नगरेको भावना बताउँछिन्। उपचारमा संलग्न नर्सले भावनाको अवस्था सामान्य भइसकेको बताएका छन्। नवजात शिशुको स्वास्थ्यमा भने अझै सुधार भएको छैन। महिना नपुग्दै जन्मेका कारण शिशुको अवस्था जटिल भएको र अवस्था सुधार उन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। वरिष्ठ बालरोग विशेषज्ञ डा. पीताम्बर सुवेदीले नवजात शिशुको तापक्रम सन्तुलित गर्न ‘इन्कुवेटर मेसिन’ मा राखिएको जानकारी दिए। ‘अक्सिजन निरन्तर दिइरहेका छौं, अवस्था सुधारोन्मुख छ,’ उनले भने, ‘दूध खुवाउने अवस्था अझै भएको छैन।’

    महिना नपुग्दै जन्मेका कारण नवजात शिशु कमजोर भएको वरिष्ठ बालरोग विशेषज्ञ सुवेदी बताउँछन्।

    उपचार गराइरहेका खड्का दम्पती सन्तानको स्वास्थ्यमा सुधार आउनेबित्तिकै घर फर्किने सोचमा छन्। आफन्तलाई भेट्न आएको समयमा अकस्मात श्रीमती सुत्केरी भएपछि गोपाल अन्योलमा छन्। उनी भन्छन्, ‘फुपू भेट्न आएका बेला श्रीमती सुत्केरी भइन्, श्मसानघाट पुर्‍याइसकेको बच्चा अस्पतालमा भर्ना ह्ँदा अहिले पनि सपनाजस्तै लागेको छ।’ पुनर्जन्म पाएको आफ्नो पहिलो सन्तानलाई हुर्काएर राम्रो शिक्षादीक्षा दिने खड्का दम्पतीको सोच छ।

    आफूले राम्रो शिक्षा नपाएपछि सन्तानलाई पढाएर ठूलो मान्छे बनाउने उनीहरुको योजना छ। उपचारका लागि औषधि किन्दा साथमा भएको सबै पैसा सिद्धिएको गोपालले गुनासो गरे। ‘हिजोदेखि हामी दुई जनाले खाना खाएका छैनौं, बच्चाको औषधि किन्दा भएजति पैसा सकियो, अस्पतालमा बस्नै गाह्रो हुने भयो,’ गोपालले भने।

    एक वर्षअघि रुघा–२ रुकुम निवासी १९ वर्षीया भावना र गोपालबीच प्रेमविवाह भएको थियो। वैदेशिक रोजगारीबाट साउनमा फर्केका २७ वर्षीय गोपालले स्थानीय एक विद्यालयमा कक्षा ९ मा पढ्दै गरेकी भावनालाई असोजमा विवाह गरेका हुन्। गोपालको घरमा वृद्धा आमाबाहेक कोही छैन। भावनाका आमाबुबा मजदुरीका लागि भारत छन्।

    नागरिकन्युजबाट

    १९ भदौ २०७३

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.