लुम्बिनीखबर
भैरहवा, असोज ३ । छडको अभाव देखाउँदै नेपाल भित्रिरहेको भारतीय छडको गुणस्तरीयतामा आम सन्चारमा प्रश्न उठेपछि गुणस्तर विभागले छडको गुणस्तर चेंकजाचमा कडाई गरेको छ ।

विभागले कडाई गरेपछि भैरहवा भन्सार हुँदै नेपाल भित्रिरहेको ४० टन छडको नमूना छनौट गरी गुणस्तर चेकजाँच गर्दा गुणस्तरहीन देखिएपछि भैरहवा भन्सार कार्यालयले सो छड रोकिदिएको छ ।
भैरहवा भन्सार कार्यलयका सूचना अधिकृत गोपाल भट्टराईका अनुसार गुणस्तर चेकजाँचका क्रममा गुणस्तरहिन प्रमाणित भएकोले भारतबाट आयात गरिएको छड भन्सारमै रोकिएको बताए ।
भैरहवा भन्सारको बाटो हँुदैं आर्थिक वर्ष ०७२÷०७३ मा मात्रै १५ करोड १९ लाख २९ हजार २ सय ६३ मूल्य बराबरको टिएमटि छड भित्रिएको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा मात्रै १ करोड ७६ लाख ५ हजार ९ सय ४९ रुपैयांको टिएमटि छड नेपाल भित्रिएको छ । यसरी छड भित्राउनेहरुमा मुख्यतयाः गोयन्का स्टिल, एभरेष्ट रोलिंग इन्डष्ट्रिज र श्रीराम ट्रेडिंग कन्सर्न मुख्य रहेको बुझिएको छ ।
भन्सारमा रोकिएको छड मध्ये १० टन श्रीराम ट्रेडिंग कन्सन बुटवलको रहेको बुझिएको छ । यसरी एकातिर भारतीय छडमा आफ्नो कम्पनिको टयाग लगाएर बेच्नेहरुको मुलुकमा बोलवाला चलिरहेको बेला भैरहवा भन्सार कार्यालयमा रोकिएको छडले नेपालमा भित्रिएको छडको गुणस्तरियतामा प्रश्न खडा गरेको छ ।
उपभोक्ता मन्च नेपालले छड उद्योगले उपभोक्तालाई गुणस्तरीयतामा ठगीरहेको भन्दै जिल्ला प्रशासनमा समेत उजुरी दिएको छ तर प्रशासनले त्यसलाई त्यत्ति गम्भिरतापूर्वक लिएको देखिँदैंन ।
करोडौँ मूल्यको भारतीय छड नेपाल भित्रिएर त्यसबाट सयौँ भौतिक संरचना निर्माण भइसकेका छन् । आम उपभोक्ता अहिले शसंकित छन की आफ्नो घरमा पनि गुणस्तरहिन छड प्रयोग भयो की भनेर । उपभोक्ताहरुले गुणस्तरीयताको प्रश्न उठाउँदै भोली छड उद्योग र व्यापारीहरु माथि जाइलागे भने त्यसको जिम्मेवारी कसले लिने ।