
-केशव शर्मा बेलबासे
नेपालमा भर्खर मात्र भारतका राष्ट्रपति महामहिम प्रणव मुखर्जीको तीन दिने राजकीय भ्रमण सकिएको छ र उहाँ भारत फिर्ता समेत भैसक्नुभएको छ ।
भारतीय नाकाबन्दीबाट क्रुद्ध नेपाली जनता नाकाबन्दी गरी आफूलाई निकै दुःख दिएको छिमेकी मुलुकको राष्ट्रपतिको आतिथ्यतालाई हार्दिकता पूर्वक स्वागत गर्न नसकी रहेको वर्तमान अवस्थालाई ई मिडियाले दर्शाइरहेको जो कोहीले पनि सजिलै बुझ्न सक्दथ्यो ।
लामो समयपछि राष्ट्र प्रमुखको रुपमा आउनुभएका भारतीय राष्ट्रपति माथि कार्यकारी प्रमुखको रुपमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गरेको नाकाबन्दीको रिस पोख्नु जायज थियो या थिएन एउटा यक्ष प्रश्न बनेको छ ?
नेपालका कम्युनिष्टहरु सुरुमा निकै क्रान्तिकारी कुरा गर्छन् पछि दलाल, नोकरशाही र गुलाम बन्छन् भनेर आरोपहरु लाग्ने गरेको पाईन्छ । फेसबुकका वालहरुमा पूर्व प्रधानमन्त्री केपी ओलीका भारतीय राजदूतले राखेको पार्टीमा नगएको र पछि हायात होटलमा पुगेको प्रसंगले निकै चर्चा पायो । एकातर्फ राष्ट्रपतिको स्वागतको लागि गरिएको एक दिन बिदाले प्र्रधानमन्त्री प्रचण्डलाई लम्पसारवादको बिल्ला भिराइयो ।
भारतीय राष्ट्र प्रमुखको नेपाल भ्रमण नेपालका लागि एउटा ठूलो उपलब्धी हो । पछौटेपन र गरिबीले कारणले असफल राष्ट्रमा दरिन लागेको नेपालको अन्र्तराष्ट्रिय छवि बचाउन यो भ्रमणलाई निकै महत्वले हेरिनुपर्दछ । करिब १ अरब २० करोड जनसंख्या रहेको भारतको राष्ट्रपतिको भ्रमणले नेपाल संसारका कुनैपनि व्यक्ति वा प्रमुखहरु आउन मिल्ने सुरक्षित ठाउँ हो भन्ने सन्देश दिन्छ ।
राष्ट्रपतिको लागि बनाइएको स्वागतद्वारमा तोडफोड, राष्ट्रपतिको लागि सैनिकले जुत्ता हानेको तस्बिर, विभिन्न स्थानमा प्रदर्शन गरिएको कालो झण्डा, राजदूतावास अगाडी दिइएको विरोध धर्ना र मधेसका नेतासँग जनकपुरमा राष्ट्रपतिले बोलेका कुराले मधेसका नेतामा देखिएको सन्त्रास यस भ्रमणका बिर्सन लायक पटाक्षेपहरु हुन् ।
भारतले आफ्ना नीतिहरु नेपालमा हरहालतमा लागू गर्न सफल भएको छ । माइक्रो मेनेजमेन्टमा खप्पिस भारत नेपाली नेताहरुलाई थर्काएर,फकाएर, गलाएर, लोभ देखाएर वा टुक्राएर हावी भैसकेको छ । छोटो अवधिका लागि प्रधानमन्त्री हुने व्यक्तिले उसले चाहे अनुसार ईशारामा नाचेन भने सजिलै सत्ताबाट मिल्काईदिन्छ ।
नेपालका प्रशासनिक डिप्लोमेटहरुलाई, उनीहरुका छोराछोरीहरुलाई भारतमा डाक्टर, ईञ्जिनियर र विभिन्न स्थानमा म्यानेज गरेर आफ्नो प्रभावमा पारिसकेकोले मन्त्रीहरुले चाहेर पनि धेरै विकासका फाईलहरु द्रुत गतिमा अगाडी बढ्दैनन् । त्यसै थन्किएर बस्छन् । नेपालकै कायापलट गर्न सक्ने हाइड्रो इलेक्ट्रोसिटीका थुप्रै अनुमति पत्रहरु, योजनाहरु कार्यान्वयन नहुनुका पछाडी यी र यस्ता थुप्रै कारणहरु रहेको पाईन्छ । सरकारमा भएमात्र कार्यकर्ताहरु आफ्नो वरीपरी रहन्छन् भन्ने सत्ताधारीहरुको आँकलनले स्वार्थी र अवसरवादी कार्यकर्तालाई त रिझाउला तर त्याागी कार्यकर्ता सत्तामा बस्ने निहुँमा गरिने हरेक गलत राष्ट्रघाती कार्यलाई सहज ढंगले समर्थन गर्छन् भनेर सम्झनु ठूलो भुल हुनेछ ।
सरकारका प्रेस सल्लाहकार तथा सञ्चारमन्त्री राम कार्की भन्छन् “अहिले देशमा निकै सजिलो भएको छ, हरेक सानो देखि ठूलो बेथितिको दोष सरकार माथि थोपरेर आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारीबाट पन्छिन खोज्ने जमातको संख्या बढ्दो छ ।” विद्वान, विश्लेषक, पेशाकर्मीका रायहरु राजनीतिक कोप विभाजनमा परेका छन् । उनीहरुका भनाईहरु राष्ट्रहितको सट्टा पार्टीका भनाईहरु हुन थालेका छन् ।
आम जनतालाई सही र सत्य सूचना दिने पत्र–पत्रिकाबाट राष्ट्रको जिम्मेवार चौथो अंगको भूमिकामा समेत कमी आउन थालेको छ ती पार्टीका मुुख पत्र जस्ता भएका छन् ।
युवा पुस्तालाई निकै प्रभाव पार्न सक्ने ई मिडियाबाट योजनाबद्ध तरिकाले सम्प्रेषण गरिएका पार्टीगत विचारहरुले नेपालको राष्ट्रियतालाई बलियो बनाउने सट्टा घृणा र द्वेष फैलाउन मलजल गरिरहेको छ । यसले पार्टी पार्टी निषेधको सन्देश दिइरहेको छ ।
राष्ट्रपति प्रणव मुखर्जी जो भारतीय कंग्रेसबाट प्रतिनिधित्व गरी राष्ट्रपतिभएका हुन् र कार्यकारी समेत रहेका उनलाई भाजपाका प्रधानमन्त्री नरेन्द्र मोदीका कुकृत्यहरुसँग जोड्न र दृष्टिकोण बनाउन निश्चित रुपले सही होइन । तर भारतका प्रमुखहरु नेपाल आउने बित्तिकै तराईका समस्याहरु एकाएक रातारात समाधान हुनु डरलाग्दो पक्ष हो । यसप्रति नागरिक समाज र बौद्धिक जगत सचेत हुनु जरुरी छ ।
नेपालले अतिथि देवो भवको मूल मन्त्रलाई बिर्सनुहुँदैन । भारतीय राजदूत र रअको एजेन्ट मार्फत हुने विदेश नीतिको बुझाईलाई समकक्षीको लेबलमा पु¥याउन सकेमा भारतबाट देखिने शत्रुतापूर्ण व्यवहारमा कमी आउन सक्छ । नेपालको भूबनावट दुई देशको तरुल जस्तो भएको कारणले भारतीय राष्ट्रपतिको आगमन पछि करिब १ अरब ४० करोड भन्दा बढी जनसंख्या रहेको चीनको राष्ट्रपतिलाई पनि स्वागत गर्न यथासक्य तत्परता देखाउनुपर्दछ ।
नेपालमा अब राजनीीतक जोडघटाउलाई केही समय थाँती राख्दै आर्थिक विकासको लागि सबै क्षेत्रबाट बहस चलाईनुपर्दछ र विकासमा होमिने वातावरण बनाउनुपर्दछ । यसका लागि छापा र विद्युतीय मिडियाले सहयोगी भूमिका खेल्नुपर्दछ ।