
लुम्बिनीखबर
भैरहवा, मंसिर । नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओलीले पहिले स्थानिय निकायको निर्वाचन गरीसकेपछि मात्र संविधान संशोधन गर्न कार्यमा सहभागी हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार भैहरवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने “अहिलेको परिस्थिति संक्रमणकालिन छ । यो संक्रमणकालको अन्तिम समय हो । यो बेला संविधान संशोधन गर्नुभन्दा संविधानले व्यवस्था गरेको स्थानिय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु जरुरी छ ।”
नेता ओलीले संविधान संसोधनको नाममा अनावश्यक हल्ला गर्नु ठीक नभएको जनाउदैं संशोधन गर्नुपर्ने भए कुन धारा र उपधारा हो किटानी गरी भन भन्दा पनि नभन्ने केवल संशोधन संशोधन मात्रै भनेर हिड्नु गलत भएको समेत बताए ।
नेकपा एमालेको बुटवलमा आयोजित ५ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्न रुपन्देही आएका नेता ओलीले ५ नम्बर प्रदेशबाट पहाड र तराईलाई अलग पार्न खोज्नु गलत भएको समेत बताए । उनले भने “यहाँका जनताले जे भन्छन् त्यही हुन्छ । नेता भए भन्दैमा जे पायो त्यहि भन्दै हिँड्नु ठीक होइन । ”
ओलीले एमालेलाई संशोधनको विपक्षको छ भनेर भ्रम फिजाईएको भन्दै भने एमाले संविधान संशोधनको पक्षमा छ तर पहिले निर्वाचन जरुरी छ ।
ओलीले नागरिकताको सम्बन्धमा कडा प्रतिक्रिया दिँदै होचुवाको भरमा बाडिएको नागरिकताको भरमा संवैधानिक पदमा पुग्ने सपना देख्नु गलत भएको बताए ।
उनले भने आज बिहे गर्ने, गाउँमा सचिवलाई भनसुन गरेर नागरिकता बनाउने, भोली दलको नेता बन्ने त्यसपछि केन्द्रमा जाने, अनि छिमेकीको दबाबमा मन्त्री खाने र पछि राष्ट्रप्रमुख बन्ने सपना कसैले देख्छ भने त्यो दिवा सपना मात्रै हुन्छ । त्यस्तो राष्ट्रघाती काम कदापी हुन दिदैनौं ।
प्रेस चौतारीका अध्यक्ष अमृत गिरीको सभापतित्व, सचिव धिरज पौडेलको सन्चालनमा सम्पन्न उक्त पत्रकार सम्मेलनमा एमाले उपमहासचिव विष्णु पौडेल, केन्द्रिय सदस्यहरु लिला गिरी, ठाकुर गैरे, प्रेस चौतारी केन्द्रिय पुर्व अध्यक्ष राजेन्द्र अर्याल, सचिव भरत के.सी, अकरावका अध्यक्ष मोहन चापागाइ, एमाले जिल्ला अध्यक्ष शिव सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।