
सावित्री घिमिरे
स्त्री जातिलाई महिला नामले चिनिन्छ । महिला, आईमाई, स्वास्नी, जोई र नारी सबै महिलालाई पुकारिने शब्दहरु हुन् । जननीदेवी, श्रृजनाकी मूल आदि विभिन्न नाम र कर्मले विभूषित नारी बिना यो संसारको कल्पना नै हुन सक्दैन ।
नारी र पुरुष एक रथका दुई पाङग्रा तथा एक सिक्काका दुई पाटाहरु हुन् भन्ने कुरामा दुई मत छैन । यसरी संसारको आधा पाटो घिस्याएर हिँडेका नारी वर्ग हाम्रो समाजमा बाध्यता र विवशतामा होमिएर अपमानित र कुण्ठित बन्नु परेको घटना कुनै नौलो होइन ।
संसार अगाडि बढ्यो आधुनिक बन्यो भन्ने गरेको हाम्रो मानसिकतामा नारी वर्गहरु अगाडि बढेका छन् वा छैनन् भन्ने यथार्थ दृष्टिकोणलाई ध्यान दिनुपर्ने देखिन्छ । पुरुषमात्र अगाडि बढ्ने महिला पछाडि नै पर्ने हो भने तराजुका पल्ला आफै माथि हुन पुग्दछन् र न्यायिक दृष्टिकोणमा पनि असमानताले दण्ड सजाय पाउने गर्दछ । यस्तो अवस्थामा संसार अगाडि बढेको मान्न सकिँदैन ।
दुवै समान रुपले अगाडि बढेको अवस्थालाई मात्र विकासको नाम दिन सकिन्छ । वर्तमान परिप्रेक्ष्यलाई नियाल्दा पाश्चात्य क्षेत्र र पूर्वीय क्षेत्रमा निकै नै असमानता देखिएको छ । पाश्चात्य क्षेत्रका महिलाहरु बढी स्वतन्त्र छन् । पुरुषहरुको पौरख र गौरवमा मात्र नरमाई आफ्नो अस्तित्वलाई आफै नै परिभाषित गर्न चाहन्छन् ।
सम्बन्धमा मात्र पति र पत्नीको नाता रहेको हुन्छ । काम गराईमा आ–आफ्ना क्षेत्रमा खुला आकाशमा रमाउन चाहन्छन्न । यसको तुलनामा हाम्रो पूर्वीय मान्यता र संस्कारमा रुढीवादी मान्यताका कारणले नारीहरुले आफ्नो अस्तित्वलाई प्रमाण गर्न नसकेको अवस्था छ । केही सहरिया नारीहरुलाई छोडेर ९५ प्रतिशत नारीहरु पुरुषको खुट्टामा नाच्नुपर्ने पराधीनता स्वीकार गर्नुपर्ने कालो पाटो हाम्रो अगाडि नाचिरहेको छ ।
प्राचीन समय देखि नै छोरीमान्छे अर्कालाई, जिम्मा लगाउने जात भनी अभिभावकले पनि बेवास्ता गरी उचित शिक्षादीक्षाबाट वञ्चित गराएका नारी वर्ग भनेका घरभित्रको काम गर्ने र पुरुषहरु बाहिरको भन्ने सिद्धान्तको अमिट छाप बोकेका कारणले पनि नारीहरु खुलेर बाहिर निस्कन सकिरहेका छैनन् ।
यसरी नारीहरु बाहिर निस्कन नसक्नुमा अशिक्षा, गरिबी, परम्परागत रुढीवादी मान्यताले नै खुट्टो घुमाएको पाइन्छ । अपमान, तिरस्कार र घृणा जस्ता असमान व्यवहारले नारी पीडित हुन्छे । यसमा सबभन्दा पहिले गुरुको अभिभावक दोषी ठहरिन्छ भने विवाह पश्चात हुने दुर्घटनाहरुमा उसको श्रीमान् तथा घर परिवार दोषी ठहरिन्छन्, यो सब आर्थिक तथा सांस्कृतिक र सामाजिक कारणले हुने गर्दछ ।
कानुनी रुपमा हेर्दाखेरी नारीलाई देवीको प्रतीक मानेर पुरुषलाई भन्दा बढी महिलालाई न्याय दिएको कुरा प्रष्ट छ तर ती कुरा कानुनका किताबका पानामा मात्र सीमित रहेकाले महिलाहरु शोषित र अपहेलित अवस्थामा नै बाँच्न विवश छन् । दैनिक वा वर्षेनी भारत, हङकङ, इजरायल आदि मुलुकहरुमा नारीहरु बजारको पुतली बनिरहेका छन् ।
गरिबी र अशिक्षाको कारणले बाटो खोजिरहेका यी अस्तित्वहीन बन्न पुगेका देवीहरु पुरुष र महिलाबाटै खेलौना बन्ने गर्दछन् । राम्रो काम र दाम विवाह गर्ने भुलभुलैयामा लट्ठ परी जिन्दगी बर्बाद बनाउँछन् । यस्तो कुकर्म गर्ने व्यक्ति महिला होस् चाहे पुरुष जो कोहीलाई पनि कानुननले तोके अनुसार सजाय दिनु जरुरी छ । तर यस्ता कार्य रोकिनुको सट्टा दिन प्रतिदिन बढ्दै गइरहेका छन् । मानवीय अस्तित्व नै एउटा पिंजडा भित्र कैद गर्ने अमानवीय दुनियाँ यति महिलाहरुले कहिले सम्म भोग्ने ? यस्ता कुप्रथा र विचलनहरु हटाउन महिला नै अघि सर्नुपर्ने आजको तीतो यथार्थ हो कसैले कसैको निम्ति कार्य गरिदिँदैन गर्नुपर्ने आफै हो, कसको लागि कोही मर्दैन मर्ने आफै हो ।
महिला र पुरुष समान हुन् भन्ने संस्कार हामी माझ देखावटी मात्र हो, एउटा पुरुषले महिलामाथि अन्याय, अत्याचार र थिचोमिचो गर्दा उ सुरो कहलिन्छ । पुरुषको ईज्जत घट्नुपर्ने ठाउँमा झन्, सगरमाथाझैँ चुलिँदै जान्छ । महिलालाई एउटा सानो दोष लागेमा बाँचुञ्जेल त्यसलाई पखाल्ने कुनै औषधी नै छैन धे यही हो त समानता ? महिलालाई बन्चरो प्रहार गर्ने समाजका सर्पलाई एकपटक प्रकृतिले नै महिलाको स्वरुप प्रदान गर्नुपर्ने हो ।
यतिमात्र नभै बाल विवाह, बहुविवाह, दोजिया अवस्थामा छाडेर बेपत्ता भइदिने, घरपरिवारबाट शारीरिक तथा मानसिक तनाव सृजना गर्ने, मादक पदार्थ सेवन गरी दिनरात अत्याचार गर्ने, नारीको कमाइबाट मोजमस्ती गर्ने बाहिर हिँडी स्त्रीलम्पट भई घरमा विभिन्न थरीका रोगहरु सार्ने परिवारलाई कुटपिट तथा गालीगलौज जस्ता कुकार्य हाम्रो समाजमा छर्लङ्गै छन् ।
यसको सत्य तथ्य उदाहरण भर्खर श्रीमान्को कुटाइबाट मृत्यु वरण गरेकी थवाङकी सुनकुमारी नेपाली हुन् । जसको कहालीलाग्दो घटनाले सम्पूर्ण सिङ्गो राष्ट्रका महिलाहरुलाई ब्यूँझाएको छ । त्यसैले जसले जो माथि अन्याय गरेपनि समस्यालाई समस्याकै रुपमा छाडिदिनुहुँदैन । त्यसको निकास निकाल्नुपर्छ निकासको लागि आफ्नो लागि, आफू नै संघर्ष गर्नुपर्छ ।