logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    खबरदार ५ नम्बर प्रदेश टुक्राउन दिन्नौँ


    १७ मंसिर २०७३ , शुक्रबार

    खबरदार ५ नम्बर प्रदेश टुक्राउन दिन्नौँ
    untitled-3-copy

    प्रदेश नं ५का सारथीहरु ।

    लुम्बिनीखबर

    भैरहवा, मंसिर १७ । सरकारले संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशको पहाडी जिल्ला र तराईका जिल्लालाई अलग गर्न थालेपछि त्यसको विरोधमा ती जिल्लाका जनताहरु स्वतःस्फूर्त रुपमा आन्दोलनमा उत्रिएका छन्् ।

    जनता मात्रै हैन यतिबेला ती जिल्लाबाट निर्वाचित सांसद तथा नेताहरु पनि ५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव कदापि स्वीकार्य नहुने भन्दै आन्दोलनमा सहभागी भएका छन् । प्रदेशको प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, रोल्पा लगायतका जिल्लाहरुमा सडक आन्दोलन चर्किएको छ ।

    युवा, विद्यार्थी, उद्योग वाणिज्य संघ एवं राजनीतिक दलका संघसंस्थाहरु यतिबेला अखण्ड ५ नम्बर प्रदेशको पक्षमा देखिएका छन् । यता ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा प्रस्ताव दर्ता गर्ने सरकार सहभागी दल माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरु पनि सरकार र आफ्नो दललाई चुनौती दिँदै जनताको पक्षमा देखिएका छन् ।

    सडक र संसदबाट संशोधन प्रस्तावको चर्को विरोध गरिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता वामदेव गौतम, विष्णु प्रसाद पौडेल, घनश्याम भुषाल सँगै शुक्रबार भैरहवा ओर्लिएका माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकार र पार्टीको भन्दा जनताको भावना अनुसार चल्ने बताएका छन् ।

    एमाले उपाध्यक्ष गौतम, उपमहासचिवद्वय पौडेल र भुषाल सँगै बुटवलमा शुक्रबार दिउँसो आयोजित विरोध सभालाई सम्बोधन गर्न आएका माओवादी पोलिटब्यूरो सदस्य तथा अर्घाखाँचीबाट निर्वाचित सांसद रायमाझी र कांग्रेस नेता एवं गुल्मीबाट निर्वाचित सांसद भण्डारीले आफ्नो क्षेत्रका जनताले जे भन्छन् त्यही गर्ने प्रतिबद्धता जनाउँदै जनताको चाहना अखण्ड ५ नम्बर प्रदेश रहेको हुँदा पार्टी र सरकारको निर्देशनलाई लत्याएर जनतासामु आएको जानकारी दिए ।

    बुटवलमा ५ नम्बरको शक्ति प्रदर्शन

    आज शुक्रबार बुटवलमा ५ नम्बर प्रदेश टुक्राउन पाईदैन भन्दै जिल्ला जिल्लाबाट मानिसहरुको ओईरो लागेको छ । प्यूठान, गुल्मी, रोल्पा, अर्घाखाँची, दाङ, बर्दिया, बाँके, पाल्पा, नवलपरासी, कपिलवस्तु र रुपन्देहीका हजारौँ मानिसहरु बुटवल आइरहेका छन् ।
    तराई र पहाडलाई टुक्राउनु अवैज्ञानिक र अव्यवहारिक भएको भन्दै जनताहरु स्वतःस्फूर्त रुपमा आन्दोलनमा सरिक भएका छन् ।

    प्यूठान, गुल्मी, अर्घाखाँची, रोल्पा लगायतका जिल्लामा त्यहाँ स्थित उद्योग वाणिज्य संघले अहिले आन्दोलनको अग्रिम मोर्चा सम्हालिरहेको छ । जिल्ला जिल्लाका सबै राजनीतिक दलले ५ नम्बर प्रदेश टुक्राउनेको विरोध गरिरहेका छन् ।

    स्रोतका अनुसार पहाडी जिल्लाबाट बुटवलमा आयोजित विरोध सभामा सहभागी हुन सयौँका गाडीहरु आउने क्रम जारी छ ।
    खाँण र बोहरा कता हराए ?
    ५ नम्बर प्रदेश टुक्राउन हुँदैन भनेर यस क्षेत्रका सारा जनताले विरोध गरिरहँदा रुपन्देहीबाट निर्वाचित भई हालको मन्त्रीपरिषदमा रहेका रक्षामन्त्री बालकृष्ण खाँण र आपूर्तिमन्त्री दिपक बोहरा कता हराए भनेर जनताले खोजी गर्न थालेका छन् ।

    आज शुक्रबार बुटवलमा हजारौँ जनसहभागितालाई एमाले नेताहरु वामदेव गौतम, विष्णु पौडेल, घनश्याम भुषाल, प्रदीप ज्ञवाली र सरकार सम्बद्ध माओवादी केन्द्रका नेता टोप बहादुर रायमाझी र कांग्रेसका नेता चन्द्र भण्डारीले सम्बोधन गरिरहँदा रुपन्देहीबाट निर्वाचित बालकृष्ण खाँण र दिपक बोहरा जनताको पक्षमा एक शब्द पनि उच्चारण नगरी काठमाण्डौमै हराउँदा जनता आक्रोशित बनेका छन् ।

    खाँण र बोहराको निर्वाचन क्षेत्र रुपन्देही २ (भैरहवा), ३ (मणिग्राम)मा ३ दिनदेखि आन्दोेलन चर्किएको छ । आन्दोलनकारीहरुले मन्त्री खाँण र बोहराले जनभावनाको कदर गर्न नसकेको भन्दै राजिनामा समेत माग गरेका छन् ।

    भण्डारीलाई रोक्न खाँणको निर्देशन

    कांग्रेस नेता चन्द्र भण्डारीले बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्न भैरहवा आएको थाहा पाएपछि कांग्रेसका नेता बालकृष्ण खाँणले आफू निकटका नेता, कार्यकर्तालाई निर्देशन दिँदै मणिग्राममा यातायात अवरुद्ध गर्न लगाएका थिए ।

    तर खाँणको त्यो चाल थाहा पाएका भण्डारीले कांग्रेस रुपन्देहीका नेताहरुलाई फोन गरी तत्काल सडक अवरोध हटाई बुटवलको सभामा सहभागी हुने भनेपछि कांग्रेस कार्यकर्तामा दोधार सिर्जना भएको छ ।

    यता सँधै नेताहरु जिल्ला आउँदा स्वागत गर्न दौडधुप गर्ने कांग्रेस र माओवादीका स्थानीय नेता कार्यकर्ता शुक्रबार भैरहवा विमानस्थलमा देखिएनन् । एमाले नेताहरु सँगै आएका कांग्रेस माओवादीका नेतालाई एमाले केन्द्रीय सदस्य लिला गिरी, जिल्ला अध्यक्ष शिवराज सुवेदी सहित विमानस्थल पुगेका एमालेका नेता, कार्यकर्ताले उनीहरुलाई स्वागत गरेका थिए ।

    एमालेका दर्जनौँ नेता, कार्यकर्ताले आफ्ना नेताहरुलाई भन्दा कांग्रेस र माओवादीका नेता भण्डारी र रायमाझीलाई जनताको पक्षमा बोलेकोमा धन्यवाद दिँदै स्वागत गरेको दृश्य हेर्न लायकको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.